bishnu@blog

Jun
06

BN° 033

प्रत्येक निर्णयहरु वाध्यात्मक हुन्छन् !

“अचम्मको कुरा त भारत स्वतन्त्र भएपनि मेले त्यहाँका मान्छेलाई स्वतन्त्र देखिन“ । अझ स्वतन्त्र देखिनं स्वास्नीमानिसहरु ! लाग्यो, देश स्वतन्त्र हुनुभन्दा धेरै गाह्रो कुरा हो व्यक्ति स्वतन्त्र हुनु ! एउटा महान् क्रान्तिकारीको नेतृत्वमा लामो र ठूलो संघर्षपछि देश स्वतन्त्र हुन्छ । तर, जिन्दगीभरको अन्तरसंघर्षमा स्वयम् त्यो क्रान्तिको नेतृत्व गर्ने व्यक्ति नै आफु स्वतन्त्र हुन सक्तैन । मलाई लाग्छ, गान्धिको नेतृत्वले भारत स्वतन्त्र गरायो । तर, स्वयम् व्यक्ति गान्धि नै स्वतन्त्र नभई स्वतन्त्र भए ।

लाग्यो, मान्छे स्वतन्त्र हुन सक्तैन । उ आफैं जीवनको अस्वतन्त्रता भोग्न मात्र स्वतन्त्र छ ।”

“प्रत्येक निर्णयहरु वाध्यात्मक हुन्छन् !” सेतो धर्ती पढेपछि मलाई धेरै हरफ हरु साह्रै सन्देशमुलक लागे ! माथिको उद्धरण, सेतो धर्तीको मलाई घतलागेका प्रसङ्ग मध्येका हरफहरु हुन्, जसले प्रकाशन हुनासाथ पढेका तीन उपन्यास– ‘प्रेतकल्प, लु र सेतो धर्ती’को तुलना गर्न मलाई हौस्यायो । तीन लेखक– नारायण ढकाल, नयनराज पाण्डे र अमर न्यौपानेलाई शैली–प्रस्तुती र सन्देश प्रवाहको हिसावले दाज्न प्रेरित गर्यो ।

तीनवटै उपन्यास वेष्ट सेलर– ‘प्रेतकल्प, लु र सेतो धर्ती’ क्रमशः तीन कालखण्डको सामाजिक चित्रण– राणाशासनको उत्तरार्ध, हालको समाज र राणशासनको उत्तरार्धदेखि हालसममको आख्यान ! चर्चाको हिसावमा पहिलो आवस्यकता भन्दा पनि कम प्रचारित, दोस्रो बहुप्रचारित र तेस्रो प्रचारसंगै सम्मानित !

तीनवटै उपन्यासमा– जीवनको सजिव चित्रण, प्रेम–रोमान्स– र यौन !! तर विल्कुल फरक फरक प्रस्तुती-  विद्रोही, स्वच्छन्द र मौन प्रेम !

शैलीको हिसावले नारायण र नयनराज उस्तै उत्तरआधुनिक; कसले कसलाई प्रभावित गरेछ भन्ने छापिएको मितिको आधारमा निक्र्योल गर्नु पर्ने ?! अमरको भने पाईलापाइलको विवरण निरन्तर प्रवाह गर्ने ! अघिल्ला दुई, पात्रको कुरा हो कि कथा वाचकको कहिले कहिले झुक्किने खतरा ! सेतो धर्तीमा भने पाठक पात्रसंगै जन्मिन्छ, हुर्किन्छ, खेल्छ, सहन्छ र असक्त हुने तहमा काल पर्खिन पुग्छ ।

‘प्रेतकल्प’, अर्थ–राजनीतिक आधरमा उभिन्छ र सत्ता विरुद्ध क्रान्तिकारि सन्देश फुक्छ । ‘लु’ भु–राजनीतिक जटिलताको कथा बोल्छ र एनार्किक  हुँदै हुँडलिन्छ । र ‘सेतो धर्ती’, सामाजिक छ र समाज जस्तै मूलतः यथास्थितिमा अडिन्छ । क्रमशः फेरिएको रितमा रमाउंदै अत्याचारी सामाजिक व्यवहारमा पनि फुर्किन्छ– ‘म त कस्तो भाग्यमानी! यदी हजुरआमाको समयमा जन्मिएको भए लोग्नेसंगै चितामा पोलिन्थे, अहिले त केटाकेटीमा कपाल मुडुल्याइएको न हो !!!

वेजोड उपन्यासहरु ! तीनै जना लेखकलाई ढिलै भएपनि हार्दिक बधाई !!!

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment