bishnu@blog

May
13

BN° 031

“मलाई लाग्छ, देवताहरु पनि तानाशाही भए । जे मन लाग्छ त्यही गर्ने भए । अब देवताविरूद्ध पनि आन्दोलन गर्नुपर्छ । देवताहरु पनि अब परिवर्तन गर्नुपर्छ । प्राणीको भावना नवुझ्ने अहिलेका सबै देवताहरु अवकाश हुनुपर्छ । अहिलेको यमराजको त तुरून्तै मृत्यु हुनुपर्छ । यिनिहरूको कार्यकाल राम्रो भएन । पापीहरूलाई मात्र फलिफाप भयो । तस्कर, कालाबजारिया, भ्रष्टचारीको मात्रै राज भयो, देवताहरु यिनीहरूसंगै बिकेका छन् । मान्छेले राम्राराम्रा मन्दिर बनाईदिएका छन् । थुप्रोका थुप्रो भेटी चढाइदिएका छन् । लाखौं हज़ारौं वर्षदेखि यी देवताहरु सत्तामा बसेका छन् । त्यसैले यिनिहरूमा उन्माद चढेको छ । माया, ममता, करुणा भन्ने यिनिहरूमा केही छैन । अव यी देवताहरुलाई परिवर्तन गर्नुपर्छ । युवा र स्वच्छ छवि भएका देवताहरु खोज्नुपर्छ ।”

 

‘चिना हराएको मान्छे’ को पहिलो १० पेज पढ्दा मलाई पट्यार लाग्यो र ओछयानमा फ्याँकी दिए । भोलीपल्ट  २०९ पेजवाट पढ्न थालें- अलि चाख लाग्यो । त्यसपछि मैले ‘ब्याक-गियर’ लगाएर पढ्न थालें- क्रमश: २०४, २००, १९६ का च्याप्टर! केही घण्टामा मैले २२० पेज सकें र फेरी निरन्तर पढ्दै गएँ । २६९ पेजमा उल्लेखित-“अब मलाई ‘भगवान’ छैनन् भन्ने लागेको छ । यदी रहेछन् भने, हामीलाई रैती मान्ने । उनीहरु जमिन्दार रहेछन्, हामी कमैया । मलाई अव भगवानसंग ठुलो रिस छ ।मैले भगवानसंग वदला लिने कल्पना गरें ” देखिको माथिको अंश मलाई घत परेका हरफ मध्येको हो । फरक प्रसंगमा व्यक्त गरिएका भएपनि यी भावनाहरू, ‘मह-जोडी’का प्रहसनमा प्रस्तुत हुने विविध अर्थ लाग्ने ‘डाईलग’ जस्तै मलाई लाग्यो । १० पेज पढ्दा ‘झ्याऊ’ लागेको पुस्तक पढ्दै जाँदा ठाँउ-ठाँउमा आँसु नै आउने गरी म एक्लै हांसे, भने कतिठाँउमा मन वोझिलो भयो । हरिवंश जति चर्चित छन्, उनको जीवन पनि ‘घटनापुर्ण’ रहेछ । पुस्तक पढ्दै जाँदा कतिपय ठाउंमा हरिवंश केही पात्रहरुप्रति अलि बढी प्रभावित भएको जस्तो पनि लाग्यो, केही प्रसंगमा यिनले यो–यो पात्रलाई चर्चा गरेको भए राम्रो हुने थियो भन्ने पनि लाग्यो ।
अरुहरुले पुस्तक कसरी पढ्छन्, थाहा छैन । म चाँहि पुस्तक पढ्दा वा फिलिम हेर्दा घटना र पात्रसंग म पनि कतै मिल्छु की भनेर मिसाउने प्रयत्न गर्छु । राजनीतिमा लागेकाहरुप्रति,  ‘युवा हुन् की पाका, नेता हुन् की कार्यकर्ता– सबै चोर, लठुवा, लुटाह र अर्काको कमाइमा मोज गर्नेको भीड’ भन्ने प्रकृतीको आम धारणा व्याप्त छ । उनीहरुको नीजि जीवन कति पीडादायि हुन्छ कसैले चर्चा गर्दैनन् । सायद गरिरहन नपर्ने होला !

 

मलाई मेरी आमा सम्बन्धि घटनाले संधै चिमोटि रहन्छ । २० वर्षअघिको कुरा हो, मेरो आफ्नो आमासंग भेटै नभएको निकै भएको थियो । नियास्रो लाग्यो, तर आन्दोलन, हडताल र कार्यक्रमले तत्काल जाने अनुमती दिइएन । युनियनको एउटा कार्यक्रम सकेर त्यसको भोली पल्ट ‘म आउंर्दै छु आमा’ भनेर फोन गरें । उहाँ पनि म जत्तिकै उत्सािहत ! कारण– हामी आमा – छोरा, म ५ वर्ष नाघेपछि विरामी भएको बेला बाहेक लगातार १० दिन भन्दा बढी संगै बस्न पाएकै थिएनौं । घरपुग्दा मेरी आमालाई आगनको पूर्व तिर रहेको मठमा मुख छोपेर सुताई रहेको पाएं । एकातिर रुवावासी चलिरहेको रहेछ, अर्कातिर कोठामा मलाई आमाले काठमाडौंमा नाती र बुहारीलाई  लैजाओस भनेर ठीक्क पारेका कोसेलीको पोका ! ५ वर्ष अघि पनि त्यस्तै भयो, म एकजना साथिको छोराको व्रतवन्धमा शुभकामना दिंदै थिएं– गाउंबाट एक्कासी फोन आयो– पिता जीलाई हर्ट अट्याक भयो तुरुन्त आउनु ! दौडादौड गरेर घर पुग्दा सबै मलामीहरु मलाई नै कुरिरहेका रहेछन् ! यस्तै हो ।
राजनीतीक होस की अन्य कुनै, सार्वजनिक जीवनमा लाग्ने प्रत्येकका आ–आफ्नै कथा हुन्छन् । मात्र कुरा समाजले उनीहरुको कन्ट्रिव्युसनलाई कमसेकम “एक्नलेज” गरोस् भन्ने हो । सबै विधामा सबै सज्जन वा सबै लुच्चा मरेपनि हुंदैनन् । सच्चाई यही हो ।

 

आम मान्छेले ठान्ने– ‘हंसाउने मान्छेको जीवन संधै हस्सी मजाक जस्तो, केही कतै तोड नपर्ने खालको हुन्छ की’ भन्ने फिलिङ्गलाई हरिवंश जी ले सटिक उतारेका रहेछन् । ठाउं कुठाउं  किचिक-किचिक फोटो खिचि माग्ने फ्यानको प्रसंग मलाई, त्यसैकारण घत लाग्यो।

 

मैले यो पुस्तक पढ्दा एउटा कमि गरेछु- २ आत्मकथा, ‘विनोद चौधरी र हरिवंश आचार्य’को नमिल्दो तुलना गर्दै ! एकजना विलिनियर-सेलिब्रिटी, ‘सँधै पलिसि लेभल’मा ईन्फ्लुयन्स गर्ने र अर्का ‘कमनर- सेलिब्रिटी’ आमजनतालाई हँसाउदै समाज परिवर्तनको गतिलाई मलजल गर्ने ! तुलना गर्नै नमिल्ने …  ….
विनोद चौधरीको आत्मकथा पढेपछि मैले sms गरें- “Excellent!Inspiring! It is one of the books, which I continuously read thoroughly to end!It enticed me to write an opposite pair- dream of a trade unionist!Congratulation! ”

 

‘चिना हराएको मान्छे’ पनि आद्योपान्त पढेपछि भन्न मन लाग्यो- राम्रो लेख्नुभएछ हरिवंश जी, वधाई !!

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment