bishnu@blog

Jan
08

BN° 029

“उ सुनि हाल्नु भो नी, विसौं शताब्दीकाहरु त्याग गर्थे, हामी २१ औं वालाहरु जे पायो त्यही लुंड्याउँछौं । कम्युनिस्ट नाम गरेको एउटो पार्टी सरकारमा छ, त्यसले वित्यास पारी सक्यो । वामपन्थी नामले के गर्छ, त्यसलाई सरकारबाट नखदेडी उन्नती हुनेवाला छैन!!!”

“मेरो बुबा, मेरो पिता मात्रै हुनुहुन्थ्यो– उहाँ मेरो पहिलो गुरु र मानवीय मूल्यको व्याख्याता पनि हुनुहुन्थ्यो । त्यतीखेरको विषम परिस्थितिमा बर्माबाट खेदिंदा उहाँले परिवारका सबै सदस्यलाई बोकी–बोकी सुरक्षित नेपाल ल्याई पुर्याउनु भयो । हामीलाई हुर्काउनु भयो, हामीलाई अनि उहाँका सबै भाई-बहिनीहरुलाई असल शिक्षा दिनु भयो र आफुभन्दा उच्च पदमा पुग्न सक्ने बनाउनु भयो ।

झण्डै ४ वर्ष अघि उहाँ विरामी हुनुभयो । काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको थियो । उहाँको पार्टी– नेकपा (एमाले)का वरिष्ट नेता कमरेड माधव नेपाल भेट्न आउनुभयो, कमरेड माधव त्यतिखेर मुलुकको प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । दुर्भाग्यवस म त्यो समय अस्पतालमा थिइन । केही बेरको भलाकुसारी पछि प्रमज्यूले बुबालाई कुरी रहेका मेरा भाईलाई भन्नु भएछ– ‘तपाईको बुबाले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गर्नुभएको छ । बिरामी भएको बेला उहाँको उपचारमा कुनै कमी नरहोस्, खर्चको अभावमा उपचार नहुने अवस्था नआओस् । म छु, हाम्रो पार्टी छ– के चाहिन्छ, विना संकोच खवर गर्नुहोला । म व्यवस्था गर्छु …।’

यो कुरा पछि मैले कमरेड माधवसंग ‘भेरीफाई’ गरें, उहाँले त्यसै भन्नु भएको रहेछ । तर कमरेड माधवले अस्पताल हाता छोड्नासाथ बुबाले भाईलाई सोध्नु भएछ– ‘प्रधानमन्त्रीले तिमीलाई के भन्नुभयो?’ भाईले माथीको विवरण सुनाएपछि बुबाले भन्नु भएछ– ‘हेर छोरा, म पार्टीसंग लिन पार्टी राजनीतिमा लागेको हैन, आन्दोलन र पार्टीलाई दिन लागेको हुँ । यो उमेरसम्म मैले पार्टीबाट नीजि लाभको केही लिएको छैन् । मेरो उपचार तिमीहरुले आफ्नै खर्चबाट गर्नु, पार्टीलाई बोझ नबोकाउनु!”

बुबाको यो भनाई हाम्रोलागि आदेश थियो । हामीमा पनि पार्टी वा सरकारबाट अरु केही अपेक्षा थिएन, सद्भाव र हार्दिकता बाहेक । हामीले त्यतीखेर उपचार गरायौं, उहाँको जीवन बच्यो । तर १७ दिन अघि भने हामीले हाम्रो बुबालाई बचाउन सकेनौं । ९१ वर्षको उमेरमा उहाँले हामीलाई छोडेर जानु भयो ।

अहिले यो श्रद्धाञ्जली सभामा म अरु के भनौं? मेरो बुबाले जीवन, सम्पत्ती र शीप पार्टीलाई सकेसम्म दिनुभयो । हुनसक्छ भने नेपालका कम्युनिस्टहरुले मेरो बुबाको योगदानलाई सम्झि दिउन । म परिवारको सदस्यको तर्फबाट यो कार्यक्रम राखीदिनु भएकोमा पुष्पलाल स्मृति प्रतिष्ठान र एमालेका नेता कमरेडप्रति आभार व्यक्त गर्दछु । हामी तपाईलाई सम्झि रहने छौं बुवा…!!!”

गत पुस २२ गते नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा पाका कम्युनिस्ट नेता गौरीभक्त प्रधानको स्मृति सभालाई उहाँको जेठा छोराले यसरी सम्बोधन गर्दा हल स्तव्ध भयो । हलभरी रहेका मानिसले मञ्चमा आसिन विभिन्न दलका नेतातिर हेरिरहँदा ‘यी महानुभावहरु दिन जन्मेका होलान् की लिन?’ भन्ने प्रश्न तेर्सिए जस्तो अनुभुति हुन्थ्यो । कार्यक्रम सञ्चालक एमाले नेता गंगालाल तुलाधरले अर्का वक्ताको नाम बोलाउनु भयो– ‘क. गौरीभक्तका दौंतरी हर्ष स्याङ्वो !’

“खै म त के भनौं, ८६ वर्षको भएं– कसरी सम्झौं मेरो साथी गौरीभक्तलाई?”  हर्षदाई पनि भावनात्मक ढंगले पोखिनु भयो ।

“मलाई कम्युनिस्ट पार्टीमा लगाउने पुष्पलाल हुन । उनी नेपाली राष्ट्रय काँग्रेसमा थिए । पहिले त्यही पार्टीको सदस्य बनाए, पछि म त कम्युनिस्ट पार्टी बनाउने भएं भने र त्यसैको सदस्य बनाए । पुष्पलाल मेरा आदर्श थिए, मैले उनलाई पछ्याएँ । राणाशाही हट्यो तर कम्युनिस्ट पार्टीलाई काम गर्न सजिलो थिएन । म पार्टीको काम फैलाउन भनेर मुस्ताङ्गको टुकुचे गएं । स्कूल चलाउने र शिक्षा दिने काम शुरु भयो । मसंग दुई जना शेरचन साथीहरु थिए, अहिले दुवै वितिसके ।

००८ साल जस्तो लाग्छ, गौरी मुस्ताङ्ग आईपुगे । त्यतिखेर मोटर गाडी, जहाज वा बाटाघाटा केही पनि थिएन । म आफुलाई पनि बुटवलबाट मुस्ताङ्ग पुग्न ८ दिन लागेको थियो । गौरी आए, र भने– म त चाइना हिंडेको छापामार युद्धको तयारीका लागि तालिम लिन! मलाई पार्टीले यही काममा खटायो?!

अचम्म लाग्यो– यो मान्छे कसरी पेकिङ्ग पुग्ला?! हामीले खच्चर खोज्यौं र लोमान्थाङ हुँदै उसलाई सिमाना कटायौं । ०११ साल जस्तो लाग्छ, गौरीभक्त नेपाल फर्किए । सुनियो, उनले पार्टीले भने बमोजिम, चिनियाँ लालसेनासंगै तालिम लिईवरी फर्किए । यस्ता साहसी थिए मेरा साथी गौरीभक्त !!

कामरेडहरु, हामी त २० औं शताव्दीका कम्युनिष्ट हौं । देश बन्छ भने मर्ने भनेर हिंडेका मानिस! मलाई लाग्छ, पुष्पलाल अलि चाँडै मरे, उनी यत्ति छिटो नमरेको भए सायद केही हुने थियो की?! त्यो वेलाको फुच्चे कम्युनिस्ट पार्टी विभिन्न हाँगाँविँगामा आज देशभरी छ । कोही सरकारमा त कोही बाहिर । सुन्छु, सबै मिलायो भने कम्युनिस्टहरुको बहुमत छ रे ! तर किन नमिलेका होलान्?! किन देश नबनेको होला? यो प्रश्नको उत्तर मैले पाएको छैन । सायद मेरो साथी गौरीभक्तले पनि यसको उत्तर विना नै जानु पर्यो। यहाँहरु त २१ औं शताव्दीको कम्युनिस्ट, २० औं शताव्दीको कम्युनिष्टहरु भन्दा त्याग र वलिदानमा के भिन्न हुन्छ, म जान्दिन । सोच्नु होला– हामीले त पार्टीको जग मात्र हालेका हौं । मुलुक बनाउने बेला अहिले हो, देश नविगार्नु होला!!”

यी दुई व्यक्तिको मन्तव्य सुनेपछि मैले मञ्चमा श्रद्धाञ्जली दिन बस्नुभएका कमरेड चित्रबहादुरको मात्रै भनाई सुनें– “उ सुनि हाल्नु भो नी, विसौं शताब्दीकाहरु त्याग गर्थे, हामी २१ औं वालाहरु जे पायो त्यही लुंड्याउँछौं । कम्युनिस्ट नाम गरेको एउटो पार्टी सरकारमा छ, त्यसले वित्यास पारी सक्यो । वामपन्थी नामले के गर्छ, त्यसलाई सरकारबाट नखदेडी उन्नती हुनेवाला छैन!!!”

मैले सीपी मैनाली र सीपी गजुरेल कसैलाई सुनिनँ । काँग्रेसी नेता दिपप्रकासलाई पनि पर्खिन । पुष्पलाल प्रतिष्ठानका अरुसंगै मैले प्रमुख वक्ता आफ्नो पार्टीका अध्यक्षलाई पनि कुरिन ।

मसंगै मेरो पार्टीका नेता मुकुन्द न्यौपाने र महेन्द्र पाण्डे पनि संगै बाहिरिनु भयो । के बोल्नु होला बाँकी बक्ताले?! हामीमा खासै खुल्दुली रहेन । सुनिरहेकै शव्दहरु दोहरिने होलान्, अन्दाज गरियो । हिड्दा हिड्दै मुकुन्द कमरेडले वामपन्थी नेता निर्मल लामाको मृत्युपछि खुलामञ्चमा लामा कामरेडका निन्दकहरु लामवद्ध भएर फूल चढाई रहेको दृष्यदेखेपछि लेखेको कविता– ‘मरेपछि फूल’फेरी दोहर्याउनु भयो ।

हामी ढोंगी भएका हौ की, हामी ढोंगी हुनै पर्ने हो– कविता सुनेपछि, फेरी एकेडेमी हल र वक्ताहरुलाई संझदै आज मैले आफैंसंग प्रश्न गरे !!!

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment