Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

२६ जिल्लाबाट कम्तीमा २६ कुरा सिकेर फर्किने योजनामा मध्यपहाडको भ्रमण

November 28th, 2023

विष्णु रिमाल। नेकपा एमालेका उपमहासचिव। आफूले जिम्मा लिएको काम फत्ते गर्ने र अरुबाट पनि त्यस्तै आशा गर्ने एक नेता। कुनै पनि कामको प्रक्रियामा हैन परिणाम खोज्ने नेता। खरो स्वभाव र स्पष्ट वक्ताका नेता। नेकपा एमालेले मंसिर १४ गते देखि गर्न लागेको मध्यपहाडी यात्राका एकजना परिकल्पनाकार। यात्राको पूर्व तयारीका लागि उपमहासचिव रिमालको टिम राजमार्गको पश्चिमखण्ड बैतडीदेखि धादिङको गल्छीसम्म रेकी गरेर फर्केको छ। यो बेला डटकमले सञ्चालन गरिरहेको ‘मध्यपहाडी मन्थन’ मा हामीले उपमहासचिव रिमालसँग लामो अन्तर्वार्ता गरेका छौं। चिसो मौसममा एमालेले मध्यपहाडको फेरो किन लाउन लागेको हो ? यसभित्र निहित राजनीति के हो लगायत प्रश्न हामीले रिमाललाई सोधेका छौं। प्रस्तुत छ यो बेला डटकम लागि चेतन अधिकारीले उपमहासचिव रिमालसँग गरेको अन्तर्वार्ताको सम्पादित अंश:

नेकपा एमालेले सुरू गर्न लागेको मध्यपहाडी यात्राको लक्ष्य के हो ? यो यात्रा किन गर्न लागिरहनु भएको छ तपाईंहरूले ?

यसमा हामीले दुईवटा विषयलाई जोड्न खोजेका छौं। पहिलो कुरा चाहिं प्रक्रियाका हिसाबले सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भनेका छौं। यो चाहिं प्रक्रिया भयो। विषयका हिसाबले चाहिं ३\४ वटा विषयमा केन्द्रीत हुन खोजेका छौं। पहिलो विषय भनेको विकास गाउँ पसेको छ। गाउँका मान्छे सहर पसेका छन् किन ? त्यसको हामीले जवाफ खोज्छौं। सडक पुगेको छ। विजुली पुगेको छ गाउँगाँउमा। तर मान्छे चाहिं गाउँ छाडेर सहर पस्दैछन्। सहरले उनीहरुलाई थेग्न नसकेपछि विदेश भासिएका छन्। मुलुकमा यस हिसाबले खाल्डो परेको छ। त्यस कारणले गर्दा एउटा पाटो त्यसको पनि हामी खोजी गर्न चाहन्छौं।

दोस्रो कुरा भनेको खासखास ठाउँका आफ्नै विशेषता छन् । ति विशेषताको बारेमा बाहिर सिंगो राष्ट्रले जानकारी पाओस भन्ने हाम्रो लक्ष्य हो। तेस्रो विषय भनेको मध्यपहाडी लोकमार्ग पुष्पलालको नाममा बनेको राजमार्ग हो। पुष्पलाल हाम्रो पार्टीको संस्थापक महासचिव हुनुहुन्छ र हाम्रो पार्टी पुष्पलालको मार्गमा हिड्ने पार्टी हो। नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्षको महोत्सव मनाउदैछौं हामी। त्यो हिसाबले पनि महत्वको छ यो। त्यसपछि हामीले एक ढंगले केन्द्रीय नेतासँग जनताको दुरी बढ्दै गयो भन्ने गुनासो छ। यो यात्राको दौरानमा सिंगो एमालेको नेतृत्व पंक्तिले जनतासँग साक्षात्कार गर्नेछ। जनताका समस्या प्रत्यक्ष सुन्ने, त्यसमा नेतृत्व अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र सबै नेतृत्वले पछ्याउने । यो हिसाबले केही लक्ष्यहरु लिएर हामी यात्राको तयारी गर्दैछौं।

मध्यपहाडी यात्राको रेकी गर्न तपाईं पश्चिम पहाडमा जानुभयो। तपाईंको टिमलाई ‘पब्लिक रेस्पोन्स’ कस्तो थियो ?

यसमा दुईवटा कुरा छ। पहिला हामीले जति कार्यक्रम गर्दथ्यौं कहिले कहिले चाँही स्थानीय तहले कार्यक्रम आयोजना गर्ने नेतृत्वलाई अलि बोझ भएको जस्तो महसुष ग¥यौं हामीले। अहिलेको यो अभियानको कुरा गर्दा चाँही नेतृत्व, स्थानीय कार्यकर्ता र जनता सबैमा एकदम उत्साह छ। उहाँहरुचाँही एमालेले हामी सोधखोज गर्छ है भन्ने अनुभुती गर्नुभएको छ। त्यो हुनाले जनता उत्साही छन्। प्रतिक्रियाका हिसाबले सकारात्मक र हाम्रो प्रतिक्षामा छन्। बालबालिका,वृद्ध,सबै उमेर समुहका मानिस र फरक बिचार राख्ने मानिसहरु पनि हाम्रो अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उत्सुक छन्। मैले रेकी गर्न जाने क्रममा केही ठाउँमा बोल्दा पनि भने मध्यपहाडी राजमार्गको अवधारणा मोटामोटी रुपमा एमालेले नै अघि बढाएको हो। ०६४/०६५ सालको क्याविनेटमा केपी शर्मा ओली उपप्रधानमन्त्री हुनुहुन्थ्यो। सुरुमा यो विषय उठेको हो। २०५८ सालमा राष्ट्रिय यातायात नीतिबाट यो आयोजना अगाडि आएको हो। ०६४\०६५ को नीति कार्यक्रममा यो विषय समावेश भएको छ। त्यसपछि रेखांकन ०६९ सालतिर गरेको हो। हाम्रो अध्यक्ष प्रधानमन्त्री भएका बेला २०७५ साल देखि यसको निर्माण तिव्रगतिमा अघि बढेको हो । त्यस हिसाबले हेर्दा हामी यसलाई हाम्रो सोच अन्तरगतको राजमार्ग भन्छौं । वैकल्पिक राजमार्ग हुँदै हो । यस राजमार्गले पूर्वपश्चिम जोड्ने सँगसँगै मध्यपहाडी क्षेत्रमा चाँही विकासको एउटा सन्तुलन अथवा समन्यायिक विकास अघि बढाउन सहयोगी हुन्छ भन्ने हाम्रो सोच पनि हो। त्यो भएकोले यो बाटोको बजारीकरण गर्नुपर्दछ भन्ने लागेको हो ।

अहिले पनि काठमाडौंदेखि रुकुमपश्चिमसम्म चाँही मध्यपहाडी लोकमार्गबाटै सवारीसाधन आवात–जावत गर्दछन् । यदी झुलाघाटबाट चिवाभञ्ज्याङ सम्म एमालेको नेतृत्व नै हिड्यो भने यो बाटो चल्ने भएछ भनेर जनताले बुझ्छन् । र, बाटो प्रयोग गर्न थाल्दछन् । यसले दुई तीनवटा कुराचाँही प्रभाव पर्दछ। एउटा प्रभावचाँही यो बाटोको राम्रो मार्केटिङ हुन्छ । बजारीकरण पनि बढ्नु हो । यसले गाउँलाई शहर र शहरलाई बजार बनाउन रुपान्तरित गर्छ । यसले बसाइँसराइलाई नियन्त्रण गर्न सक्छ । पूर्व–पश्चिमको चलन चल्तीको राजमार्ग छ, त्यसमा लोड भएको कारणले गर्दा सडकले थेग्न सकिरहेको छैन, त्यसलाई पनि लोड कम हुन्छ । मदन भण्डारी राजमार्ग बनाइएको छ, त्यस बाटोलाई पनि यसले मद्दत पु¥याउँछ जस्तो लाग्छ । त्यो हिसाबले हेर्दा यसको समग्र रुपमा सकारात्मक प्रभाव पर्ने नै छ । हामीले पहिले निरीक्षण गर्न जाँदा त्यहाँका सबै जनता उत्साहित छन् ।

मध्य कात्तिकमा तपार्ईंको टिम झुलाघाटबाट गोरखासम्म यात्रा गर्यो । मध्यपहाडी राजमार्गको अवस्था कस्तो रहेछ ?
बाटो ठाउँहेरी फरक फरक छ । झुलाघाटदेखि सुदूरपश्चिमको भेगको बाटो समग्रमा ठीक छ। कर्णाली आएपछि जाजरकोटको थला भन्ने ठाउँ छ, त्यहाँबाट छेडागाँडसम्म निस्किने खण्डमा अप्ठ्यारो छ। त्यस्तै केही केही ठाउँमा अवरोधहरु छन्, केही केही ठाउँमा ठेकदारहरुले ठेक्का लिएर काम नगर्दा कच्चा बाटो छ। अधिकांश ठाउँको बाटो छिचोलिएको छ। सुदूरपश्चिम प्रदेशमा कहीं पनि बाटो अप्ठ्यारो छैन। मान्छेहरु मध्यपहाडीबाटै आवत-जावत गर्छन् । राकम कर्णालीमा आइपुग्दा कर्णाली राजमार्गमा पनि राम्रै आवत जावत छ। छिन्चु–सुर्खेत यो बाटो जोडिएको छ। दैलेखबाट जाजरकोट आउँदा एउटा बाटो निर्माणाधिन छ । त्यो पूरा भएको छैन। त्यसको अलिकति समस्या देखिन्छ। त्यसपछि लुम्बिनी प्रदेश प्रवेश गरेपछि पोखरासम्म आउँदा बाग्लुङको १२÷१४ किलोमिटर होला, त्यहाँ ठेक्का पर्नेहरुले काम राम्रोसँग नगरेको हुनाले हो, तर अरु ठाउँमा क्लियर छ। खासगरी बुढीगंगाले डुबाउँछ भनेको ठाउँमा बाटो बनेको छैन। अरु लमजुङको एउटा खण्ड, बुढीगण्डकीले डुबाउने भनिएको क्षेत्र र बागलुङको भ्यू पोइन्टदेखि झण्डैझण्डै १२/१४ किलोमिटर बाटो बन्न बाँकी छ। पिच भएका बाटाहरु राम्रा छन् । सवारी चाप भएका ठाउँमा केही बाटाहरु भत्किएका छन्, मर्मत गर्न बाँकी छ। समग्रमा बाटो ठीक छ ।

एमालेले २०७३ सालमा मेची–महाकाली यात्रा यस्तैगरी गरेको थियो । त्यसैको निरन्तरता हो अहिले मध्यपहाडी राजमार्गको यात्रा ?

त्यसमा र यसमा फरक छ । मेचीमहाकाली राष्ट्रिय अभियान गर्दाखेरी एमालेलाई तराईका जिल्लामा प्रवेश निषेध भनेर एउटा हल्ला चलाइएको थियो । मधेसमा एमाले जान सक्दैन भन्ने मिथक कायम गर्न खोजिएको थियो । त्यसलाई हामीले चिर्नु थियो । पहाड, मधेस र हिमालको बीचमा सम्बन्ध हुनुपर्छ भन्ने थियो। संविधान जारी भइसकेपछि एमाले विरुद्ध सिर्जना गरिएको जुन भाष्य थियो, त्यसलाई चिर्नु मेचीमहाकाली राष्ट्रिय अभियानको प्रमुख उद्देश्य थियो । त्यसले एउटा महत्वपूर्ण जागरण दिएको थियो । केपी ओली, नेकपा एमाले भनेको मधेस विरोधी होइन, सन्तुलित विकास र व्यवस्था बोक्ने पार्टी हो भन्ने सन्देश प्रवाह गर्न सकेका थियौं÷सफल भएका थियौं । त्यो अभियानले राष्ट्रिय राजनीतिमा पनि सकारात्मक प्रभाव पारेको थियो । यो अभियानमा हामी मध्यपहाडी क्षेत्रमा कुनै पनि पार्टीले यस्तो गरेको पाइँदैन । चुनावको बेलामा विभिन्न जिल्लामा दलहरुले गरेका छन् तर पूर्वदेखि पश्चिमसम्म सिंगो नेतृत्व नै जनताहरुसँग भेटघाट गर्दै जाने गरेको पाइँदैन ।

जसले गर्दा पहाडमा बस्ने कि नबस्ने ? पहाडको दुःखको बारेमा शहरलाई थाहा छ कि छैन ? पहाडको दुःखका बारेमा नेताहरु कति सचेत छन् ? भन्ने एककिसिमको धुमिल सोचाइ गाउँघरमा हुन्छ । त्यसलाई हामी स्पस्ट पार्न चाहेको हो । पहिला तराईको सम्बन्ध हिमाल र पहाडसँग टुटेको कुरालाई जोड्नु थियो भने अहिले हामी पहाडमा शहर बनाउन चाहन्छौं, विकास गर्न चाहन्छौं भन्ने कुरा पनि गर्नु हो । हामी सँगसँगै अर्को के सोचिरहेका छौं भने बाटो बनेपछि बाटोको परीक्षण गर्नु अनिवार्य नै हुन्छ । हाइवेको अडिट जरुरी छ । सरकारले गर्छ कि गर्दैन, त्यो उसको कुरा हो । तर, हामी हाम्रो प्राविधिक समुहलाई प्रयोग गरेर मध्य पहाडी राजमार्गको पनि अडिट गर्ने योजनामा छौ । जसले गर्दा हामी सरकारमा हुँदा त गरिहाल्छौं, हामी सरकारमा नहुँदा सरकारमा हुनेले पनि तद्अनुसारका राजमार्गलाई व्यवस्थित गर्न सकून् र राजमार्ग कस्तो हुनुपर्छ भन्ने एउटा सोच बनाउन सकोस् भन्ने हिसाबले हामी सन्देश दिन चाहिरहेका छौं । हामी त्यो अडिट पनि सिध्याउँछौं । चिवाभ्याञ्ज्याङबाट फर्किसकेपछि कुनै समय हाम्रो समापन कार्यक्रम होला, समापन कार्यक्रममा हामीले यहाँ देखेको कुरा अध्यक्षले राख्नु हुन्छ ।

गएको निर्वाचनको कुरा गर्दा मध्यपहाडी क्षेत्रमा एमालेको गढमा केही असर पुगेको जस्तो देखिन्छ । मध्यपहाडको यात्रापछि एमाले त्यहाँ के फेरि ‘रिभाइभ’ हुनसक्ला ?
एमाले त रिभाइभ नै छ । अहिले हामीले कसरी बुझ्नु पर्छभन्दा निर्वाचन परिणाम गठबन्धन राजनीतिको अर्थ हो । चुनाव भनेको अंकगणितको कुरा हो । जहाँ हामी मजबुत छौं, कहीँ पनि हामी हारेनौं । जहाँ हामी प्रतिस्पर्धामा छौं, सबै प्रतिस्पर्धी एकातिर लागेपछि हार्नु स्वभाविक पनि हो । त्यसकारणले गर्दा एमाले खस्किएको होइन। एमालेको भोट त कहीं पनि घटेको छैन, बढेको छ । बढेको भोटले थेग्न पुगेन, किनभने अरु सबै मिले। अरु सबैले आफ्नो विचार र सिद्धान्त छोडेर चुनाव जित्ने मात्रै नीति बनाए। एमालेले आफ्नो एजेण्डासहित चुनाव लड्यो। त्यसकारणले गर्दा तलमाथि परेको हो। हामी हाम्रा एजेण्डाका बारेमा पनि जनतालाई बताउँछौं । जस्तो भेरी बबई डाइभर्सन कर्णाली प्रदेशमा पर्छ । त्यसबाट लाभान्वित लुम्बिनी प्रदेश पनि हुन्छ । भेरी बबई डाइभर्सनमा टनेल बोरिङ मेसिनबाट टनेलखन्दा त्यसको ब्रेकथु गर्दा प्रधानमन्त्रीको रुपमा हाम्रो अध्यक्ष नै जानु भएको थियो । हाम्रो योजना त्यो टनेल पूरा भएपछि हेर्डवोक्र्स गरेर बिजुली पनि निकाल्नु पर्छ र पानीले सिंचाइ पनि गर्न पाउनु पर्छ भन्ने थियो । हामीले सरकार छोड्यौं, टनेल जहाँको त्यहीं रह्यो । केही पनि बन्दै बनेन । यत्रो लगानी भएका परियोजना पनि किन समयमै पूरा हुँदैनन् र त्यसबाट के क्षति भइरहेको छ भन्ने कुरा हामी जनताहरुसँग गर्छौ ।

लमजुङ हुँदै आउँदा त्यहाँ लमजुङ कृषि क्याम्पस छ, लुम्ले छ, पाख्रिबास छ, त्रिशुलीमा वागवानी छ । यी केन्द्रहरु किन सुक्दै छन्, जबकी यी झन् फराकिलो हुनु पर्ने । कृषिलाई आधुनिकीकरण गर्न कृषि वैज्ञानिकहरुलाई ठाउँ चाहिन्छ । यी किन सुकिरहेका छन्, यी हाम्रा छलफलका विषय हुनसक्छन् । हामीले पहिला सोचेको र अहिले खुला भएको कोरला नाका छ । किमाथांकादेखि कोरलासम्म केही नाकाहरु चीनसँग खुलेका छन् । त्यसले व्यापार र आयआर्जनमा के प्रभाव पार्छ ? त्यसमा हामी छलफल गर्न चाहन्छौ । यस्ता थुप्रै विषयहरु छन् । बुढीगण्डकी परियोजना अपग्रेड हुँदा बाटो डुब्छ भनेर बाटो नबनाएको पनि छ। दोलालघाट डुब्नेगरी सुनकोशी बन्छ भनेर दोलालघाटको दायाँबायाँ पर्ने बाटोलाई उकालो चढाएको छ । यस्ता कतिपय अमिल्दा व्यवहारहरु हामी विकासको सन्दर्भमा देख्छौं । यी सबै कुरालाई हामी अध्ययन गर्छौ, जनतासँग छलफल गर्छौं । जनताको स्टार्टअप व्यापारलाई प्रमोट गर्छौं। यी सबै काम हामी यो अभियानको क्रममा गर्छौं । यसको उद्देश्य हेर्दा समग्रतामा धेरै पक्षलाई छुन्छ।
बाटोमा धेरै परियोजनाहरु छन् । यहाँले भन्नु भयो–कृषि क्याम्पस, वागवानी केन्द्रहरु छन् भनेर । पार्टी अध्यक्षले त्यस्ता ठाउँको भ्रमण गर्ने योजना बन्छ ?
बाटोमा पर्ने धेरै चिजलाई हामी हेर्छौं । यो राजनीतिक कार्यकर्तालाई मात्रै भेट्ने, चुनावी सभा जस्तो यो होइन । सभा त हामी अहिले पनि गर्छौं तर पनि समग्र पक्षमा जनतासँग विभिन्न पोइन्टमा कुरा गर्छौ। जस्तो मेरो समुहको अवलोकन टिममा जादा हामी धादिङसम्म आउँदा ३८ वटा पोइन्टमा हाम्रो अध्यक्षको इंगेजमेन्ट हुन्छ भन्ने अन्दाज गरेका छौं । समयको कारणले गर्दा चुनौती छ तर हामीले आधा नेपाल भनौं न धादिङसम्म आउँदा ३८ वटा पोइन्ट छ भने प्रदीप ज्ञवाली चिवाभञ्ज्याङदेखि धादिङसम्म आउनु भएको छ । उहाँले त्यस्ता पोइन्टहरु लोकेट गर्नु भएको छ। यस्ता ५०औं पोइन्टमा जनताहरुसँग भेटघाट गर्ने, कुराकानी गर्ने हुन्छ । ठाउँ विशेष अनुसार फरक कुरा आउन सक्छ। जस्तो हामी रुकुमकोटमा बस्छौं एकरात । रुकुमकोटमा द्वन्द्वको दुई दशकपछि के भयो, त्यसमा छलफल हुनसक्छ। द्वन्द्व किन भएको थियो, जेका लागि हिंसात्मक द्वन्द्व गरिएको थियो, त्यसले समस्या समाधान ग¥यो कि गरेन, त्यो पनि छलफलको विषय होला । सँगसँगै त्यहाँ खामजातीको बसोबास छ । उहाँहरुको संस्कृतिको बारेमा कुरा हुन सक्ला । बाटोमा पर्ने यस्ता विभिन्न चिजहरुचाँही लस्करलै थपिन्छ । क्याराभान न हो यो । लस्कर हिड्दै जान्छ धेरै कुरा थाहा पाउदै जान्छ । एकले अर्काले एजुकेट गर्ने कुरा हो । हाम्रो नेतृत्व पंक्तिमा रहेका साथीहरुलाई पनि प्रष्टसँग भन्छु जो त्यो ठाउँको हुनुहुन्छ त्यहाँको विषय थाहा छ । अर्को ठाउँमा गएपछि त थाहा छैनन नि । सबै नेपाल त घुम्नु भएको छैन । तर अब २६ वटा जिल्ला टेकेर फर्किंदा खेरी नेतृत्वमा रहेका कमरेडहरुले २६ खालका कुरा सिक्नुहुन्छ । यो अर्को मास एजुकेसन र सेल्फ एजुकेसनको पाटो पनि हो ।
व्यवस्थापकीय कुरा गरौं । यात्रा कसरी सुरु हुन्छ र रुट कसरी तयार गरिएको छ ?
आज हाम्रो केन्द्रीय कमिटीको बैठक छ । केन्द्रीय कमिटीको बैठकले त्यसले धेरै कुरा निर्णय गर्छ। अहिले त रुट भनेको मध्यपहाडी लोकमार्ग नै हो । जुन जुन ठाउँबाट मध्यपहाडी मार्ग हिडेको छ त्यही त्यही ठाउँबाट हिड्छौं । जुन ठाउँमा पुल नबनेका कारण डाइभर्ट गर्नुपर्नेछ त्यहाँ मात्र डाइभर्ट हुन्छ । एउटा डाइभर्ट हुने ठाउँ सम्भवत दैलेखबाट सुर्खेत आउनुपर्ने हुनसक्छ ।जाजरकोटको एउटा भाग छोडेर अर्को भाग आउनुपर्ने हुनसक्छ । बाटो नबनेका कारणले यस्तो बाहेक सामान्यता हामी मध्यपहाडी लोकमार्ग नै हिड्छौं ।
कति ठाउँमा बास बस्ने योजना छ ?
अहिलेसम्मको हाम्रो तयारी २१ दिन भित्रमा झुलाघाटबाट चिवाभञ्ज्याङको यात्रा समापन गर्छौं भन्ने लागको छ । त्यसो हुँदा २१ बास नै बस्नु पर्ने हुन्छ । केही केही ठाउँमा छोटो बाटो त त्यसलाई ओभरल्याप गर्न सकिन्छ । त्यो हिड्दा मात्र थाहा होला । यो जाडोको समय छ । सामान्यतया १९ देखि २१ ठाउँमा हामी बास बस्छौं ।
दिनमा कति किलोमिटर यात्रा गरिएला ?
यति किलोमिटर भन्ने छैन । यो ठाउँ देखि त्यो ठाउँ भन्ने हो ,जस्तो उदाहरणका लागि हामी बैतडीको झलुघाटबाट हिडेर जति टाढा जान्छौं भने पनि अमरगढी क्रस गर्दैनौ । किनभने डढेलधुरा जिल्लामा बसेर त्यहाँका साथीहरुसँग अन्तरक्रिया गर्दछौं । त्यहाँ जनतासँग भेट्छौं । डडेलधुराबाट हिडेपछि हतारिएर हामी अछाम पुग्दैनौ। हामीचाँही डोटीमै बस्छौं। डोटीबाट क्रस गरेपछि अछाम क्रस गर्दैनौ । त्यो टाढै पर्दछ । अछामबाट हिडेपछि हामी सुर्खेत पुग्दैनौ दैलेख नै बस्नुपर्ने हुन्छ। यो तरिकाले ठाउँ त्यो बस्ती हेरेर हुन्छ । जस्तै सुर्खेतबाट हिड्नुभयो चाँही भूकम्पको कारणले कतिपय ठाउँमा स्थानीय साथीहरुलाई दुख दिन चाहदैनौ । जस्तै जाजरकोट र रुकुमका साथीहरु अहिले आफैं समस्यामा हुनुहुन्छ। त्यहाँ हाम्रो स्वयंसेवकहरु हुनुहुन्छ । हाम्रा कार्यकर्ताहरु पुननिर्माणमा खटिनु भएको छ । उहाँहरुका कुरा सुन्छौं। हाम्रो अध्यक्षले उहाँहरुलाई थप निर्देशन दिनुहुन्छ । त्यहाँ हामी पुननिर्माण र राहात कार्यको बारेमा समिक्षा गर्दछौं । त्यहाँ अन्य दल,प्रशासनका नेताहरुसँग कुरा गर्नु पर्दछ ।
यात्राको क्रममा सभा,सम्बोधनको व्यवस्थापन कसरी गरिएको छ ?
सभा भनेर पहिलेको चलनचल्तीको जस्तो सभा हुदैन त्यो । मेरो बुझाइमा जहाँ सभाको रुपमा सम्बोधन हुन्छ,त्यहाँ अध्यक्षले मात्र बोल्नुहुन्छ । यो चाँही एकतर्फी सन्देश भयो । बढीचाँही हामी अन्तरक्रियमा जान्छौं । अन्तरक्रिया भनेपछि हरेक बाटाबाटामा मान्छे उभिएका हुन्छन् । हामी एक ठाउँमा जम्मै मान्छे जम्मा होऔं त्यहाँ सम्बोधन गरौं भन्ने मुडमा छैनौ । जस्तो उदाहरणका लागि तपाईं गलकोटबाट हिड्नुभयो भने बागलुङमा मान्छे भेटिने भए,कुश्मामा मान्छे भेटिने भए । त्यसपछि पोखरामा मान्छे भेटिने भए । प्रत्येक ठाउँमा सभा हुदैन । प्रत्येक ठाउँमा मान्छेहरु जस्तो पहिलो मेची महाकाली राष्ट्रिय अभियान गर्दा बाटाभरी मान्छेहरु फूलमाला लिएर अबिर लिएर बसेका थिए । घडाहालेर बसेका थिए । त्यही टाइपको सम्बोधन हुन्छ होला र ति प्रत्येक ठाउँमा हाम्रो अध्यक्षले हाम्रो नेतृत्वले जनताहरुसित भेटघाट गर्नुहुन्छ । त्यो तरिकाले जान्छौं हामी ।
यति लामो यात्रा पार्टी अध्यक्ष पूर्व प्रधानमन्त्रीज्यू जाने सुरक्षाको सवाल पनि आउछ। यस विषयमा के कस्तो प्रवन्ध छ ?
सुरक्षाको कुरा दोहोरो हुन्छ । राज्यले दिनु पर्छ सुरक्षा । राज्यसँग समन्वय हुन्छ हाम्रो । राज्यका सुरक्षा निकायलाई रुटका बारेमा जानकारी दिन्छौं । अरु त के हुन्छ र सुरक्षाको कुरा राज्यले गर्ने हो । राज्यसँग समन्वय गरेर हिडिन्छ । आफ्नो कार्यकर्ताको बीचमा हुनुहुन्छ अध्यक्ष । त्यसमा हामीलाई चिन्ता छैन।

मध्यपहाडी राजमार्गसँग एमालेको भावनात्मक सम्बन्ध पनि देखिन्छ । नेकपाकै संस्थापक पुष्पलालको नाममा यो राजमार्गको नाम राखिएको छ । एमालेकै पालामा यसको निर्माणले तिव्रता पाएको देखिन्छ। यसबाहेक यस राजमार्गसँग एमालेको सम्बनध के हो ?
यो सबै कुरा हाम्रो स्थानीय पार्टीले गर्दछ । हामीले के के गर्न सकिने भनेर एउटा चेकलिस्ट बनाएका छौं। त्यो आजको केन्द्रीय कमिटीमा पनि प्रष्तुत हुन्छ । केन्द्रीय कमिटीले त्यसलाई पास गर्नुपर्यो। त्यसको आधारमा कुन जिल्लामा कुन प्रदेशमा के गर्ने भन्ने कुराचाँही त्यहीका साथीहरुले गर्नुहुन्छ । हामीले चाँही उहाँहरुले आयोजना गरेका कार्यक्रममा नेतृत्वलाई सहभागी गराउदछौं यो स्थानीय नेतृत्वलाई सम्मान गर्ने कुरा यो भयो । पुष्पलालको मार्गमा हिड्ने हाम्रो पार्टी अनि हामी हिड्न खोजेको बाटोको नाम पुष्पलाल मध्यपहाडी लोकमार्ग । यसमा एमालेको श्रृखंलावद्ध सम्बन्ध पनि रह्यो। त्यसपछि यो साल कम्यूनिष्ट आन्दोलन स्थापनाको ७५ वर्ष पुगेको वर्ष।

मध्यपहाडमा एमालेको पोजिसन राम्रो छ। भोट हिसाबले मध्यपहाड एमालेको गढ हो। सिट जित्ने हिसाबमा गठबन्धन हुदैन थियो भने अहिले पनि धेरै सिट हाम्रो हातमा पर्दथ्यो। यसपछिको अवस्थामा हामी एउटा भन्ने गरेका छौं नि। राष्ट्रिय शक्ति भन्ने गर्छौं नि एमाले र एमालेसँग जोडिन चाहनेहरुलाई हामीले आह्वान पनि गरिरहेका छौं,प्रतिष्पर्धी शक्तिको हिसाबले हेर्ने हो भने एमाले र काँग्रेस दुईतिर छन्। एमाले आफैंमा राष्ट्रिय शक्ति हो। एमाले मात्रै राष्ट्रिय शक्ति भनेका छैनौं। अरु पनि त्यही हिसाबले सुदृढ होउन । यदी राष्ट्रिय शक्ति सुदृढ हुने हो भने राष्ट्रियता,लोकतन्त्र,संघीयता,गणतन्त्र सबै बलियो हुन्थ्यो। यसलाई बलियो बनाउने हाम्रो अर्को उद्धेश्य पनि हो । यो यात्राको एउटा मिसन पनि हो। मैले अघि पनि भने सम्बन्ध स्थानीय,सन्देश राष्ट्रिय हो। ति सम्बन्धहरुलाई राष्ट्रिय रुपमा प्रचार गर्ने हाम्रो उद्धेश्य हो।

यो यात्राको केन्द्रीय टिम कस्तो हुन्छ ? कति सदस्यीय हुन्छ ?
मोटमोटी हामीले के भनेका छौं भने संख्या तलमाथी पर्न सक्छ। पार्टीको पदाधिकारी जम्मै। भूगोलको कार्यक्षेत्र नभएका स्थायी समितीका सदस्यहरु यसमा जोडिनुहुन्छ

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.