May 23rd, 2023
हामीले अहिलेका पुस्तालाइ भन्नै पर्छ, परिवर्तन त्यसै भएको छैन । लहलहैमा ‘डर्टी पोलिटिक्स, वल्ड गाइज–नो, नट अगेन’को बहकाउमा लाग्नु हुँदैन । जसले यो तथ्य बुझेका छन्, अरुलाई पनि बुझाउ है भन्नु पर्छ । जसले यो बुझेका छैनन् उनीहरुलाई हामीहरुले संझाउनु पर्छ, बुझाउनु पर्छ ।
आठौ राष्ट्रिय श्रमिक महिला सम्मेलन सफल बनाउन देश भरीबाट आउनु भएका महिला कमरेडहरुमा मैले प्रतिनिधित्व गरिरहेको पार्टी, नेकपा (एमाले) र जिफन्टको सँरक्षकको हैसियतामा अन्तराष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च) को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
आज म काठमाण्डौ बाहिरबाट सिधै यहाँ आएकोले जहाजको ढिलाइका कारण समयमा उपस्थित हुन सकिन । यस कार्यक्रम स्थलमा उपस्थित हुदा सम्माननीय राष्ट्रपतिज्यूको छोरी, उषाकिरण भण्डारी सम्मान–पत्र ग्रहण गर्दै हुनुहुन्थ्यो । राष्ट्रिय महिला कमिटीले आफ्नो पुर्व अध्यक्षहरुलाई सम्मान गरिरहेको रहेछ भन्ने थाहा भयो । यो नयाँ सुरुवातको लागि जिफन्टलाई धन्यवाद ! सम्मानित हुनुहुने महिला कमिटीका पुर्व नेताहरुलाई धेरेधेरै बधाई !
मलाई बोलाउनु भयो उद्घाटन गर्ने मौका दिनुभयो । यसको लागि विशेष गरी जिफन्ट राष्ट्रिय महिला कमिटीलाई धन्यवाद दिन चाहन्छु । म आउनु अगाडिका वक्ताहरुले राख्नु भएको कुरा सुन्न नपाएकोले केही दोहोरिन पनि सक्ला । त्यसो भएमा अग्रिम क्षमा याचना गर्दछु ।
आज हामी विशेषगरि लैगिक समानताको कुरा गर्दछौं ।
हाम्रो आफ्नै सानो ‘राज्य’ छ– त्यो हो जिफन्ट! जिफन्ट परिवारभित्र न्याय र समानतासँग सम्बन्धित कुरालाई कस्तै अवस्थामा पनि तल माथि पर्न दिनुहुदैन । पहिलेको अध्यक्ष र अहिले सँरक्षकको नाताले म सम्पूर्ण पुरुष साथीहरुको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु– यो संस्थामा समानता कायम रहन्छ ।
संयुक्त राष्ट्रसँघले नारा तय गरेको छ– जेण्डर इक्वालिटी टुडे फर सस्टेनेवल टुमरो (दिगो भविस्यका लागि आजै लैगिक समानता)! यसलाई आत्मसात गरौं । छोरा–छोरी बीच विभेद नगरौं ! अचेल आम रुपमा ‘एक परिवार, एक सन्तान’को अभ्यास सुरु भइसकेको छ । पहिले जस्तो ‘वंश कायम राख्न छोरै चाहिन्छ’ भन्ने मान्यता अब हराउँदै पनि छ ।
‘संझौ, बुझौं र अघि बढौं !’
आठौं राष्ट्रिय श्रमिक महिला सम्मेलनका लागि तपाईँहरुले यस्तो नारा तय गर्नु भएको रहेछ । महिला आन्दोलनमा जो अहिले सम्मानीत व्यक्तिmत्वहरु हुनुहुन्छ, उहाँहरुले गरेका मेहनत थाहा पाउनु पर्दछ । संझिनु पर्दछ । स्मरण गरौं, जिफन्टमा महिला कमिटी बनाउने समयमा हामीसंग कार्यस्थल र सदस्य पंक्तिमा महिला श्रमिक हुँदाहुँदै पनि अध्यक्ष बन्न तयार कोही हुनुहुन्न थियो । त्यतिखेर हामीले अखिल नेपाल महिला संघ र पार्टी नेतृत्वसंग समन्वय गरी स्वस्तिप्रभा बज्राचार्यसंग अल्पकालिन नेतृत्व सम्हालिदिन आग्रह गरेका थियौं । उहाँ त्यतिखेर नाम चलेको एउटा बोर्डिङ स्कुलको प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँले ६ महिनाभन्दा बढी म समय दिन सक्दिन, त्यसबीच मैले नेतृत्व विकासमा जे जे गर्न पर्ने हो गराउनु होला भन्नु भएको थियो । उहाँको स्थान वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले लिनु भएको थियो । सम्माननीय विद्या भण्डारी जस्तो योग्य नेताले हाम्रो महिला कमिटीको जग बसाल्न महत्वपूर्ण योगदान गर्नुभयो । त्यही बिन्दूबाट जिफन्टमा ‘बाहिरबाट नेता खोज्ने’ स्थितिको अन्त्य भयो ।
हाम्रो आन्दोलनको प्रतिफल नै भन्नु पर्छ, जिफन्टको महिला संयोजक देशको पहिलो व्यतिm (राष्ट्रपति) बन्नु भएकोछ । उहाँ मुलुककै पहिलो महिला राष्ट्रपति समेत हुनुहुन्छ । यो साख जोगाई राख्ने दायित्व, अब तपाई–हाम्रो काँधमा छ ।
हिमाल चढ्दा डोरी समाउदै चढ्दै जाने र फर्किदा त्यही डोरी समाउदै फर्किने गरिन्छ । डोरी छुट्यो कि, ज्यान गयो । भनिन्छ नि, हिँड्दैछ, बाटो बिर्सँदैछ गर्नुहुन्न ।
तसर्थ हामीले भोगेका अप्ठयाराहरु, हाम्रो मिहेनत, हामीले गरेका काम र उपलब्धिलाई संझौं, बुझौं र गर्व गरौं ।
विगतमा सायद जिफन्ट नै पहिलो त्यस्तो संगठन हो, जसले सुरुदेखि नै महिला सहभागिता र समानताको बारेमा संस्थागत रुपमा कुरा उठाउदै आयो । हाम्रा कामको कारण त्यो संवेदनशीलता जिफन्टमा थियो ।
आज यहाँ हामी विभिन्न पुस्ताका साथीहरु सहभागी छौ । मेरो उमेरका साथीहरु पनि हुनुहुन्छ । अलिक नयाँ पनि हुनुहुन्छ होला । २५ बर्ष अगाडीका साथीहरु पनि हुनुहुन्छ । हामी आफैं तिन वटा महत्वपुर्ण आन्दोलनमा सहभागी भयौं । ०३५/३६ को विद्यार्थी आन्दोलन, २०४६ र २०६२/६३ को जनआन्दोलन । हरेक आन्दोलनमा महिला सहभागीता उच्च थियो । २०६२/६३ को आन्दोलनमा, एउटा जिल्लामा त एकै दिन ७० हजारभन्दा बढी महिला मैदानमा उत्रिएर कर्फ्युको अवज्ञा गर्नु भएको थियो ।
आन्दोलनमा सहभागीताको बिषय र नीति/कानुन बनाउने ठाँउमा महिला सहभागीताको बिषय फरक हो । हामीले भन्दै आएको सहभागीता संख्या र गुण दुबैमा हो । संख्या बढाउने, सिकाउँदै क्षमता पनि अभिबृद्धि गर्ने । जिम्मेवारी दिने, त्यसैको आधारमा मुल्याङ्कन गर्ने । जिम्मेवारी नै दिएनौ भने ‘यो’ वा ‘त्यो’मा संभावना छ कि छैन कसरी थाहा हुन्छ ? मान्छे जन्मदै क्षमतावान हुदैन । अझै पनि यसमा सन्तुलन देखिंदैन ।
लैङ्गिक भिन्नताको कारण क्षमतामा भिन्नता हुँदैन । म पुरुष भएकाले जन्मदै ममा क्षमता बढी हुने, महिलामा कम हुने भन्ने हुँदैन । अझै हाम्रो समाज पुरुष–मैत्री छ । त्यसैले पुरुषलाई सामााजिक बन्धनले रोक्दैन, तर महिलाको हकमा अलिकति तलमाथि भए पनि प्रश्न उठाइने गरिन्छ । त्यही कुरा महिलालाई क्षम्य नहुने, पुरुषलाई हुने? महिलामाथि सामाजिक बन्धन अझै छ ।
सामाजिक बन्धनका बिरुद्ध हामी लड्न तयार हुनुपर्यो । विगतमा आन्दोलन भयो, आन्दोलनले परिवर्तन ल्यायो । थप उपलब्धिका लागि महिला–पुरुष सँगैसँगै अगाडी बढ्नु पर्दछ । महिला सहभागीता नभइ हामीले चाहेको परिवर्तन हुन्न, परिवर्तनको आन्दोलन सफल हुदैन भन्ने हामी सबैले मनन गर्नुपर्छ ।
जिफन्टले जेण्डर समानताको आन्दोलनलाई निरन्तरता दिनुपर्छ । विगतको ‘प्रतिनिधित्व मात्रै हैन समान सहभागीता’को भावनालाई दह्रो गरी समाउनु पर्छ । यहाँ बहनाबाजि चल्दैन । हामी प्रश्न गर्ने ठाउँमा छौ भने प्रश्न गर्ने हो । प्रश्न सुन्ने भूमिकामा छौं भने जवाफ खोज्ने हो ।
एउटा प्रसंग चर्चा गरौं । जिफन्टले महिला सहभागीता सम्बन्धि जे नीति विकास गर्यो, पार्टी र सरकारको सबै संरचनामा त्यो नीति लागु भयो । हाम्रो प्रयासलाई सबैले स्विकारेका समेत छन् । राष्ट्रिय कमिटीमा एकतिहाई महिला सहभागीताको सुरुवात जिफन्टले गर्यो । यसमा गर्व गर्नुपर्छ ।
यस प्रशंगमा अध्यक्ष विनोद श्रेष्ठले दुईवटा युनियनको नाम लिनु भयो । शान्ताजी र मायाजी यही हुनुहुन्छ– पुरुष बहुल क्षेत्रको महिला अध्यक्षको रुपमा प्रसंशा गर्नु भयो । यो संस्थागत परिर्वतन हो । म पनि कमरेड विनोदसँगै उहाँहरु दुवैलाई बधाई भन्न चाहन्छु । शान्ताजी, मायाजी– सफल कार्यकालको शुभकामना!
हामीले धेरै पार्टी, संघसंस्थाहरु देखेका छौ । धागो चुढिएको चङ्गा जस्तो हावा चल्दा माथि जाने त्यसपछि हराउने । जिफन्ट एउटा निरन्तरताको नाम हो । आँधि आओस् वा शान्त वातावरण–– यसको यात्रा निरन्तर छ । हावामा बहकिने र अप्ठ्यारोमा आत्तिने जिफन्टको चरित्र हैन । मनन गरौं !
हामीले विगतको योगदान विर्सिदै गयौं भने भोली अप्ठयारोमा परिन्छ । कतिपयको प्रस्तुती त राणाकाल र पञ्चायती शासन, हामीले ल्याएको लोकतन्त्रभन्दा राम्रो पो थियो कि भन्ने जस्तो पनि सुनिन्छ । तानाशाही पीडा नभोगेकाले लोकतन्त्रलाई ‘टेकन फर ग्रान्टेड’ (फोस्सामा पाएको चिज जस्तो) ठान्न पनि सक्छन् । यसमा नयाँ पिँढी सचेत हुनुपर्छ । हामीले नयाँ पुस्तालाई एउटा कुरा बताउनै पर्छ, आज जे सुबिधा छ– उपलब्धि पाएका छौं, त्यो पुस्तौं पुस्ताको लडाईँबाट हाम्रा जिजुबाजे/बज्यै, बाजे/बज्यै, बा/आमा र दिदी–बहिनीहरुले लडेर, रगत बगाएर, सहिद भएर ल्याएको हो । घाईते भएर, अङ्गभङ्ग भई शारिरीक अशक्तता व्योहोरे यो परिवर्तन कमाइएको हो । राणाहरुलाई फ्याँकेर, पञ्चायतलाई ढालेर, शाहवंशीय राजतन्त्रलाई फ्यालेर प्राप्त उपलब्धि हो ।
त्यसैले, हामीले अहिलेका पुस्तालाइ भन्नै पर्छ, परिवर्तन त्यसै भएको छैन । लहलहैमा ‘डर्टी पोलिटिक्स, वल्ड गाइज–नो, नट अगेन’को बहकाउमा लाग्नु हुँदैन । जसले यो तथ्य बुझेका छन्, अरुलाई पनि बुझाउ है भन्नु पर्छ । जसले यो बुझेका छैनन् उनीहरुलाई हामीहरुले संझाउनु पर्छ, बुझाउनु पर्छ ।
लोकतन्त्रका लागि हाम्रा बा/आमा, काका/काकी, दाजुभाई–दिदीबहिनीहरु कतिले ज्यान गुमाएर, टाउको फुटाएर, घाईते भए । कतिले छोरा/छोरी गुमाए, कति वा/आमा गुमाएर टुहुरा भए? हिसाब थाहा हुनुपर्छ । परिवर्तन कसरी आएको रहेछ थाहा भएन भने हामीले लडेर ल्याएको अधिकार गुम्ने खतरा हुन्छ । यसका लागी हामी सचेत हुन आवश्यक छ, नयाँ पुस्तालाई बुझाउनु पर्दछ ।
त्यसैले, तीन कुरा– संझौ, बुझौ र अघि बढौं ।
आमरुपमा आमाहरु र गृहिणीहरु मात्रै यस्ता श्रमिक हुन जसले कहिल्यै विश्राम पाउँदेनन् । उनीहरु विदा विहीन विशाल वर्ग हुन् । तसर्थ, यो सम्मेलनको पहिलो पक्ष हो आत्मासमिक्षा ! हामीले के कति प्रगति गर्यौँ? यो अवधिमा जिफन्टले भन्ने गरेको बराबरीको स्थिति कहाँ पुग्यो? यो भन्दा स्मार्ट हुन के गर्नु पर्ला? ८ मार्चमा हामीले यी बिषयमा समीक्षा गर्ने र त्यसमा विमर्श गर्नुपर्छ । प्राप्त अधिकार, कमाएको ईज्जत, सम्मेलनले तय गरेका कार्यक्रमहरु लागु गर्ने/गराउने र त्यसप्रति प्रतिबद्धता जनाउने दिनको रुपमा ८ मार्चलाई ग्रहण गर्नुपर्छ । परीक्षणको आधारमा हामीले अपनाउदै आएको जेण्डर–नीतिमा आवश्यक परे परिमार्जन गर्ने, काम नलाग्ने पक्षलाई फ्याक्ने र नयाँ आवश्यकतालाई पहिचान गरि त्यसलाई आफ्नो नीति कार्यक्रममा संलग्न गर्नुपर्र्छ।
हाम्रो समाज महिला–बहुल समाज हो । सिंगो जनसंख्यामा आधाभन्दा बढी महिला छन् । ट्रेडयुनियन आन्दोलनलाई भरभराउँदो बनाइ राख्ने हो भने यसको सदस्य र नेतृत्वमा महिलाको संख्या उल्लेख्य मात्रामा बढ्नु पर्छ । कमजोर महिला संलग्नताले हाम्रो टे«डयुनियन आन्दोलन अपूर्ण हुन्छ ।
हामी ३० वर्षदेखि यही भाकामा बोल्दै आएका छौं । यी कुरा हाम्रो श्रमको संसारले कति वास्ता गर्यो, लेखाजोखा बाँकी नै छ । हामी जिफन्टवालाहरु हरेक साल अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आफ्नो कामको उज्यालो र अध्यारो पक्षको हिसाव किताव पनि गर्दै आईरहेको छौ । यो सम्मेलनले उपलब्धिलाई थप खदिलो बनाउने र प्राप्त सुझाबलाई कसरी व्यवहारमा लागु गर्ने भन्नेमा प्रतिबद्धता जाहेर गर्ने नै छ ।
कुरो होइन काम गरौ ! महिला विरुद्ध रहेका कानुनी विभेदहरुको अन्त्य गरौ !
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको हार्दिक शुभकामना !
धन्यवाद ।
जिफन्टद्वारा आयोजित आठौ राष्ट्रिय श्रमिक महिला सम्मेलनको उद्घाटन मन्तव्य ।२०७९ फागुन ।काठमाडौं ।