September 3rd, 2022
अचेल निकै खुसी छन् एमालेका उपमहासचिव विष्णु रिमाल। केपी शर्मा ओलीको सामीप्यमा रहेर काम गरेका टेक्नोक्र्याट कम राजनीतिकर्मी हुन् रिमाल। ओली दुई पटक प्रधानमन्त्री हुँदा रिमाल नै ओलीका दाहिने हात थिए। रिमालले ओलीलाई सम्झाउन वा फकाउन जे पनि गर्न सक्थे। तर उनी आफूलाई अध्यक्ष ओलीको सहयोगी र पार्टीको सच्चा सिपाही मात्र ठान्छन्।
ओलीको जस्तो तीक्ष्ण सोच्ने क्षमता अहिले देखिएका समकालीन कुनै नेतामा नरहेको उनको निष्कर्ष छ। यिनै रिमालले अहिले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवको जिम्मेवारी पाएका छन्। यस्तै पार्टीले एमाले अध्यक्ष ओलीलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। निर्वाचनमा एमालेको तयारी र समसामयिक राजनीतिका विषयमा रिमालसँग हिमालप्रेसका लागि चन्द्रशेखर अधिकारीले गरेको कुराकानीको सम्पादित अंश :
एमाले केन्द्रीय बैठकले केपी शर्मा ओलीबाहेक अर्को नेता एमालेमा छैन भन्ने सन्देश दिन खोजेको कि उहाँको विकल्प नभएको हो?
केपी शर्मा ओली समकालीन नेताहरूमा सबैभन्दा माथिल्लो स्तरको हैसियत राख्ने नेता हुनुहुन्छ। वैदेशिक सम्बन्ध होस् या यहाँभित्रको व्यवस्थापन एवं सहकार्य होस्। राष्ट्रप्रेमी नेतामा उहाँ अन्यभन्दा अग्रणी हुनुहुन्छ। पटक-पटक प्रधानमन्त्री भएका शेरबहादुर देउवा हुन् या ०६२/६३ पछि उदाएका पुष्पकमल दाहाल। उहाँहरू कुनै हिसाबले पनि ओली समान हुनुहुन्न। उहाँहरूको कार्यशैली, अहिले गरिएका नियुक्ति र विगत सबै नियाल्दा हुन्छ। विदेश सम्बन्ध कुन अवस्थामा पुर्याए? एकपक्षीय ढल्काइ र आफ्ना उत्तराधिकारीलाई स्थापित गर्ने शैली सबै हेरौँ न? त्यसैले उहाँहरू कसैको पनि ओलीसँग तुलना हुँदैन।
ओलीसँग डराएरै उहाँहरूले गठबन्धन गर्नुपरेको हो। कांग्रेस माओवादीको भुँग्रोमा परेको छ। यसरी देशलाई बाँडेर खान दिने पक्षमा एमाले छैन। त्यसका लागि ओली जत्तिको व्यक्तित्व चाहिन्छ भनेर उहाँलाई अघि बढाइएका हौँ। समयको आवश्यकता पनि हो। अन्यथा पार्टीभित्र कुनै किचलो नभएको भए निर्वाचन घोषणा गरेर आफूपछिका नेतालाई नेतृत्वमा ल्याउने र ओलीले आराम गर्ने तयारी गरेको कतै छिपेको छैन।
यत्तिकै आधारमा मात्र उहाँलाई निर्वाचनमा अघि बढाएको होला त एमालेले?
म भन्दै छु त, उहाँलाई अघि सार्नुको तीन कारण छन्। ओलीमाथिको आरोपलाई स्पष्ट पार्नैपर्ने। उहाँमाथि अनेकन् लाञ्छना लागेको छ। त्यो नागरिकबाटै स्पष्ट पार्न एमाले एक्लै अग्रसर भएर जानेछ। त्यसका लागि उहाँको नेतृत्व उपयुक्त छ। दोस्रो हो, एमाले फुटेर तीन टुक्रा हुँदा पनि उहाँका समकालीनहरू उहाँसँगै डराएर गठबन्धन गरिरहेका छन्। त्यसलाई पुष्टि गर्न आवश्यक छ। समकालीन नेपाली नेतामा उहाँ जत्तिको ‘करेस्मेटिक लिडर’ को छ र? अन्य पार्टीमा पनि त्यस्तो नेता नै छैन। त्यही भएर पनि उहाँलाई अघि सारेका हौँ। उहाँमा आफूमाथि लागेको लाञ्छना चिरेर मुलुकलाई एक तहमाथि लैजाने क्षमता छ।
तपाईंको भनाइमा त एमालेभित्र पहिला रहेका र अन्य पार्टीबाट पटक-पटक प्रधानमन्त्री भएकालाई पनि उहाँसँग दाँज्न नमिल्ने हो?
एमालेमा पहिला रहेका माधवकुमार नेपाल र झलनाथ खनालहरूको त कुरै नगरौँ। उहाँहरू कसरी नेता? पार्टीचाहिँ आफ्नो रे अनि घोषणापत्र माओवादीसँग मिलाएर निकाल्ने रे। खै संगठन? खै कार्यकर्ता? सानासाना कुरामा र्याल नचुहाएको भए अहिले यस्तो अवस्था आउने थिएन। तीन टुक्रा भएको पार्टी अनि त्यही पार्टीको नेता ओलीसँग एक्लै कोही टिक्न सक्दैनन्। अहिले गठबन्धन गरेर घेराबन्दी गरेका हुन्। ओलीसँग आँखा जुधाएर कुरा गर्न सक्ने नेता मैले देखेकै छैन। त्यसो हुन्थ्यो भने त हामीले पुनः ओलीलाई उठाउनै पर्ने थिएन।
एमालेमा अन्य नेताहरू पनि काबिल छन् तर पनि उहाँले प्रतिस्पर्धीलाई सजिलै पार लगाउनु हुनेछ। यो निर्णय मुलुक र नागरिकका लागि हितकर पनि छ। गठबन्धनका नेताहरू के गरिरहेका छन् छर्लंग छ। यतिबेला होइन, ७७ चैतमै प्रचण्ड नेकपा अध्यक्ष बन्नुहुन्थ्यो। पार्टीमा फरक माहोल आउने थियो। तर उक्साहटमा अनेकन् कुरा भए। ओलीमाथि ठूलो षड्यन्त्र रच्ने काम भयो।
दुई तिहाइको सरकार नटिकाएका ओलीलाई आमनागरिकले पत्याउलान् र?
त्यो बेलाको दृश्य इमानदारसाथ नियाल्नुपर्छ। पत्रपत्रिकामा आएका कुरा हेर्नुपर्छ। अनि यथार्थमा गएर सोच्नुपर्छ। के ओली खराब हुनुहुन्थ्यो त? ओलीबाट भएका निर्णय र अहिले सरकारले गरे निर्णय दाँजौँ न। नियुक्तिहरू दाँजौँ। अनि स्पष्ट हुन्छ, मुलुकमा किन ओलीको खोजी भएको छ भनेर।
दुई तिहाइको सरकार नटिकेको ठिकै हो। तर पार्टीभित्रैबाट षड्यन्त्र भयो। नेताहरू स-साना विषय अघि सारेर मुलुकलाई असजिलो पार्ने काममा लागे। त्यसमा ओलीले सम्झौता गर्नु भएन। अनि समस्या परेको हो। अहिले सबैतिर भागबण्डा चलेको छ। उति बेला त्यस्तो थिएन। तीनतिरबाट लगातार आक्रमण हुन्थ्यो। कुनै निर्णय गर्यो कि ‘कन्सिपिरेसी थ्योरी’ लगाएको छ अनि कहाँ हुन्छ? कसरी सरकार टिक्छ? भित्रको मात्र होइन बाह्य शक्ति पनि लगाएर अनेकन् ‘फन्डा’ गरेपछि ओली बाध्य भएर संसद् विघटनमा पुग्नुभएको हो। कार्यकारी प्रमुखलाई त्यो अधिकार हुनुपर्छ। नत्र किन लोकतान्त्रिक सरकार भन्नु?
हामी कसैसँग जोडिएर वा घोषणापत्र साझा गरेर होइन, किन एमाले आवश्यक छ अहिले भनेर जानेछौँ। हामीले एमाले हुँदा र नहुँदा लाभहानिका विषयमा स्पष्ट पार्ने छौँ। आमजनतालाई हरेक विषय विस्तृत रूपमा बुझाउनेछौँ।
नागरिकताका विषय पार्टीले लिएको अडान निर्वाचन परिणामले देखाउनेछ। हामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनेमा निश्चिन्त छौँ। त्यसअनुसार योजना बनाएर काम गर्नेछौँ।
तर एमालेका केही जिम्मेवार नेता नै चुनावमा राम्रो नतिजा नआउने भन्दै छन्। २७/२८ सिट प्रत्यक्षमा ल्याउनेछौँ भन्दै हुनुहुन्छ नि?
यी सबै हल्ला हुन्। हामी त्यति मूर्ख छैनौँ, आफ्नै पार्टीले चुनाव हार्छ भन्दै मिडियामा ल्याउने। हाम्रो पार्टीभित्र वामपन्थी एकताका विषयमा फरक मत राख्नेले यस्ता अभिव्यक्ति ल्याएका हुन्। जुन गलत हो। त्यस्तो कुनै आंकलन भएकै छैन्। अब हामी घर-घर पुग्नेछौँ।
निर्वाचनमा कसरी अघि बढ्ने योजना छ?
समानुपातिक सूचीको सिफारिस आएपछि त्यसलाई अन्तिम रूप दिनेछौँ। अनि योजना बनाएर जानेछौँ। चुनावी रणनीतिमा जाँदा एमालेले विगतमा नेतृत्व गरेको तीन सरकार (०५१, ०७२ र ०७४) का उपलब्धि जनतासामु राख्नेछौँ। ०५१ मा हामीले थालेको सामान्य सुधार जस्तै– विकेन्द्रीकरण र सामाजिक सुरक्षाको नतिजा अहिलेसम्म देखिएकै छ। ०७२ मा नाकाबन्दीपछि भारत र चीनसँग कायम गरेको सम्बन्ध र व्यवहार पनि स्पष्ट छ।
राष्ट्रियताका विषयमा कसरी डिल गर्ने भनेर हामीले नै सन्देश दिएका हौँ। ती विषयलाई सफलता र असफलताको कडीका रूपमा राखेर व्याख्या गर्नेछौँ। अनि आमनागरिकलाई सबै केलाउन भन्नेछौँ। हामी कसैसँग जोडिएर वा घोषणापत्र साझा गरेर होइन, किन एमाले आवश्यक छ अहिले भनेर जानेछौँ। हामीले एमाले हुँदा र नहुँदा लाभहानिका विषयमा स्पष्ट पार्ने छौँ। आमजनतालाई हरेक विषय विस्तृत रूपमा बुझाउनेछौँ।
दुई तिहाइको सरकार चलाउन नसकेको आरोपबाट चाहिँ कसरी मुक्त हुनु हुनेछ?
हामीमाथि लागेका सबै आरोपबारे आफ्नो भूमिका र व्यवहारबाट स्पष्ट पार्नेछौँ। त्यसलाई ध्यान दिएर अघि बढ्नेछौँ। साथीहरूले संघीयताको बदनाम गरेका छन्। तर उनीहरूले अनेक आरोप लगाइरहेका छन्। अहिले किन तितो बोल्नु? संघीयताको बदनाम गर्ने अनि यही सरकारको नेतृत्व गर्छु भनेर जाने कुरा कति सुहाउँदो हो? जनमत लिएर आएको सरकारले पुनः ताजा नतिजा खोज्दा के भयो र? विगतमा हामी माओवादीसँग मिलेर आएका थियौँ। माओवादी पनि छुट्ने अनि केही साथीहरू लाखापाखा लाग्ने अवस्था आएपछि नयाँ जनमतमा जान खोज्दा ओलीले के गल्ती गर्नुभयो? आखिर अहिले नयाँ जनमतमा जानुपरेकै छ। लोकतन्त्र भन्ने अनि जनमतमा जान कार्यकारी अधिकार प्रयोग गर्न नपाउने भन्ने पनि हुन्छ?
निर्वाचनपछि सरकार बनाउँदा मिल्न सक्छौँ। माओवादी कांग्रेससँग बार्गेनिङ गर्दा धेरै सिट पाइन्छ भन्नेमा छ। देउवा आफू जोगिन धेरै सिट दिनैपर्ने अवस्थामा छन्। माओवादीले धेरै सिट जित्यो भने जता सहज हुन्छ उता जान सक्छ। उसले पहिला पनि त्यसो नगरेको होइन।
नेकपा पनि टुटेको र एमालेको अंश पनि बाहिर निस्कँदा हामी निर्वाचनमा जान खोजेका थियौँ। पार्टीभित्रको लफडा संसद्मा लैजान पाइन्छ भनेर केटाकेटी गफ गरेर हुन्छ? पार्टीभित्रको कुरा संसद्मा छिरिहाल्छ नि। पार्टीकै सदस्य सांसद हुने होइन र? यति पनि नबुझेकालाई के भन्नु? यी कुरा हामी जनतालाई जस्ताको तस्तै भन्नेछौँ र तथ्यसहितको योजना दिनेछौँ।
एमालेले बहुमत ल्याउन सक्छ भन्न खोज्नुभएको हो?
बिलकुल! हामी बहुमत ल्याउँछौँ। किनकि हामी कमजोर भएको भए उनीहरूले किन गठबन्धन गर्थे। गठबन्धन टुट्छ कि भनेर किन शेरबहादुर देउवाजीलाई कठिन हुन्थ्यो? प्रचण्डजीले जे भने पनि चुप लागेर देउवाजी बस्नुपर्ने अवस्था थिएन नि। कांग्रेसलाई कति झमेला छ। हामी कमजोर भएको भए त किन सबैले देउवासँग गएर ह्याकुला आफैँलाई चाहिन्छ भनेर बार्गेनिङ गरेका? एक सिट ल्याउँछन् कि नाइँ भन्नेले पनि १०-१२ सिटको दाबी देउवासँग गर्दा कांग्रेस चुपचाप बस्नुपरेको छ। त्यो भनेको एमाले बलियो छ भन्ने आधार हो। एमाले साँच्चै बलियो पनि छ।
सरकारमा रहेका बेला ओलीको किन धेरै विरोध भएको त?
त्यति बेला हामीले प्रणाली बसाउन खोजेका थियौँ। प्रणाली बनाउन खोज्दा केही समस्या आउँछन् नै। कसैले मह काड्न नपाउँदा पनि समस्या भयो होला। कतिपयको भनसुन लागेन होला। अनि अनाहकमा विरोध भएको हो। धेरै नै विरोध भयो। सबैमा एकलौटी-एकलौटी भन्दै प्रधानमन्त्रीलाई नै ‘इरिटेड’ गर्ने काम भएपछि बढी भनाभन हुँदै अवस्था खलबलियो। अनि पार्टी र सरकार दुर्घटनामा परेको हो। ओलीले गरेका राम्रा कामको मूल्यांकन नहुने र सबै समस्यामात्र विस्तार राख्ने काम भयो। आफ्ना कुरा जस्ताको तस्तै भन्ने हाम्रो बानीले पनि समस्या पर्यो होला। भारतसँगको सम्बन्ध, नक्सा, ईपीजीको रिपोर्ट लगायतको काम भुल्न हुँदैन। त्यहीबाट अहिले नियाल्दा कुरा स्पष्ट नै छ नि।
कूटनीतिक असन्तुलन पनि भएको हो कि?
त्यो थिएन। हामीले भारतसँग गरेको डिल सबैले देखेकै छन्। नाकाबन्दीदेखि पछिसम्मको हाम्रो कुरा स्पष्ट थियो। केपी ओलीले भारतसँग स्पष्ट कुरा राख्नुभएकै हो। भारतले जथाभाबी गर्दा नक्साको विषय ल्याइएकै हो। हामीले भारत र चीन दुवैसँग आआफ्नै प्रकारको सम्बन्ध राखेर हिँड्ने निर्णय लिएका थियौँ। त्यहीअनुरूप काम भएको हो। त्यसलाई नरुचाउने तत्त्व पनि छन् नि। त्यही कारण समस्या परेको होला वा देखाइएको होला। सार्वभौम समानताको कुरामा मुन्टो निहुराएर हिँड्न नदिने भन्ने नीति हो एमालेको। त्यसमा केपी ओली झन् स्पष्ट हुनुहुन्छ।
तपाईंले नै नेतृत्वलाई भेट नगराएर ओलीलाई विवादमा पारेको भन्ने आरोप पनि थियो नि?
त्यस्तो पनि होला र? म नै कारक थिएँ भने अध्यक्षज्यूले मलाई आफूसँग राख्नुहुन्थ्यो होला र? यी सबै आफू ओभानो हुन अरुलाई दोष लगाउने प्रवृत्ति हो। मैले सक्दो काम गरेँ। एमाले र मुलुकका लागि काम गरेँ। साँझ-बिहान भनिनँ। मेरो स्तरमा कुराकानी गरेर टुंगिने हुँदा मैले नै मिलाएँ। तर भेट्नै नदिने गरी म फलामे ढोका झैँ थिइनँ। त्यहाँ सचिवालय थियो। म त प्रमुख सल्लाहकार थिएँ। सचिवालयले नियमित काम गरेकै थियो नि।
तीनतिर भएको एमाले फेरि एकजुट हुने आधार केही छन् कि?
निर्वाचनअघि तीनतिर भएको नेकपा एक हुन्छ भन्ने लाग्दैन। किनकि माओवादी र माधव नेपालहरूको दल एउटै घोषणापत्रमा हुनुहुन्छ, हामी फरक घोषणापत्रमा। उहाँहरूले पार्टी नै मिलाएको भए हुने नि! घोषणापत्र मात्रै किन एउटा बनाउनु खोज्नुभएको हो? अब निर्वाचनअघि मिलेर निर्वाचनमा जाने छेनौँ। बरु निर्वाचनपछि सरकार बनाउँदा मिल्न सक्छौँ।
माओवादी कांग्रेससँग बार्गेनिङ गर्दा धेरै सिट पाइन्छ भन्नेमा छ। देउवा आफू जोगिन धेरै सिट दिनैपर्ने अवस्थामा छन्। माओवादीले धेरै सिट जित्यो भने जता सहज हुन्छ उता जान सक्छ। उसले पहिला पनि त्यसो नगरेको होइन। पात्र पनि उही र प्रवृत्ति पनि उही त छ नि। एउटा कुरा हामीले भन्नैपर्ने हुन्छ, दलका हिसाबले केन्द्रीकृत गठबन्धन हुँदैन। तर स्थानीय स्तरमा भने जोसँग पनि तालमेल हुनेछ। हामी सबै हिसाब गरेर मात्र तालमेल गर्नेछौँ।
प्रकाशित : आइतबार १२, भदौ २०७९ १९:४० । ओलीसँग आँखा जुधाएर कुरा गर्न सक्ने नेता मैले देखेकै छैन : विष्णु रिमाल [अन्तर्वार्ता] ।