September 21st, 2015
आमा, त्यो आउँछ र ?
“हो, बा, त्यो आउँछ ।
त्यो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ ।
त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने
तिमी एक हतियार देख्नेछौ;
त्यसैले ऊ अधर्मसित लड्नेछ !
त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर
छामछुम गर्नेछौ, तर त्यो हिउँ र आगोभन्दा पनि
बढ्ता छोइने भएर आउँछ ।”– गोपालप्रसाद रिमाल: आमाको सपना
झण्डै सात दशकदेखि हामीहरु त्यो दिनको पर्खाईमा थियौं– नेपाली जनताले आफ्नालागि आफ्ना प्रतिनिधिद्वारा लेखिएको संविधानको जारी गर्ने । आज त्यो दिन आएको छ, पर्खाईको घडी आज समाप्त हुँदैछ ।
६ वर्ष अघि आजको जस्तै ऐतिहासिक दिन आउँदा आँउदै टरयो । अधिकार प्राप्तीको त्यो जाज्वल्यमान भुतले तत्कालिन संविधानसभामा रहेका धेरैलाई अलिकति पनि कम्प्रोमाइज गर्न अनुमती नै दिएन । “अभि नहीं तो कभी नहीं” भने झैं भुँइको टिप्न खोज्दा खल्तीको समेत खेर गयो ।
झण्डै झण्डै दुर्घटनामा पुगीसकेको नेपाली राजनीतिलाई संविधानसभाको दोस्रो निर्वाचनसंगै ट्रयाकमा ल्याउने प्रयत्न भयो । यो निर्वाचनसंगै फेरिएको शक्ति सन्तुलनमा टेकेर नेकपा (एमाले)का अध्यक्ष क. केपी शर्मा ओलीले पटकपटक भन्ने गर्नुहुन्थ्यो “यो संविधानसभाले अघिल्लो संविधानसभाको नियती बोक्दैन । संविधान नलेखि घोसेमुण्टो लगाएर लुरुक्क फर्किदैन ।”
आज त्यो घोषणा, सहि साबित भएको छ । अघिल्ला संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण गरी बाँकी–टाँकी काम यसले फत्ते गरेको छ ।
नेपालको संबैधानिक विकासक्रममा अनेकौं प्रयत्न भए । सात दशक भन्दा पहिले संबैधानिक कानून मार्फत शुरुभएको यो प्रकृया झण्डै एक दशकदेखि सार्वभौम जनताका प्रतिनिधिहरुको प्रत्यक्ष संलग्नतामा संविधान निर्माण प्रकृया जारी थियो । तमाम दवाव र आशंकलाई चिर्दै गत असोज १ गते संविधानसभाका सबै माननीय सदस्यहरुद्वारा हस्ताक्षर गरिएको संविधानकोप्रतिमा सभाका सम्माननीय अध्यक्षद्वारा प्रमाणिकरण भइसकेको छ । नेपाली जनताका प्रतिनिधिहरुले आफैंले हस्ताक्षर गरेर जनताको संविधान जारी गर्ने साँढे छ दशक देखिको अभिलाषा यसरी पुरा भएको छ । विशेषगरी सम्बत् २०६३ सालको ऐतिहासिक परिवर्तनसंगै जारी पट्यारलाग्दो राजनीतिक संक्रमणकाल आजदेखि अन्त्य हुँदैछ । सार्वभौम संविधानसभाको अन्तिम बैठकबाट आज असोज ३ गते साँझ नेपालको संविधान २०७२ जारी हुँदैछ ।
यसबाट हालसम्मको आन्दोलन र संघर्षबाट प्राप्त उपलव्धी संस्थागत भएको छ । म, नेपाल ट्रेड यूनियन महासंघमा आवद्ध झण्डै ४ लाख सदस्यहरुको तर्फबाट यो खुशीमा सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु । यस अभियानमा आफ्नो जीवन बलिदान गर्ने सम्पूर्ण अमर सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दछु । मुलुक समृद्धिको मार्गमा अग्रसर हुनलागि रहेको ऐतिहासिक क्षणमा आम नेपाली जनतासंगै यो राजनीतिक मिशनको सफलताप्रति खुशी व्यक्त गर्दछु ।
यो संविधानसभामा विभिन्न वर्ग र तहका महिला, दलित, आदिवासी÷जनजाती, मधेसी, थारु, मुस्लिम, पिडिएको वर्ग तथा तमाम धार्मिक एवं साँस्कृतिक अल्संख्यकहरु र खस–आर्यहरुको जनसंख्याको हिसाबले समानुपातिक प्रतिनिधित्व थियो । तसर्थ, नेपालको संविधान, २०७२ प्रकृयाको हिसावले जनताको व्यापक संलग्नतामा निर्मित सबैभन्दा समावेशी संविधान हो । लोकतन्त्र, संघीयता, बहुदलीय प्रतिस्पर्धालाई आत्मसात गरेको यो नयाँ संविधान आमरुपमा लोकतान्त्रिक संरचनामा निर्मित यो संविधान, आजसम्मको सबैभन्दा प्रगतिशिल संविधान हो । यसले कुनै न कुनै रुपमा सबै तह र तप्काका जनताको आकांक्षालाई समेटेको छ । राज्य पुनसंरचना गरी मुलुकलाई बहुसंख्यक जनचाहना बमोजिम एकात्मक शासन व्यवस्थाबाट संघीयतामा प्रवेस गराएको छ ।
सविधान, तत्कालको शक्ति सन्तुलनको सहमतीको राजनीतिक दस्तावेज हो । तसर्थ, कुनैपनि संविधान सतप्रतिशत गुनासोमुक्त हुँदैन । देशका विभिन्न भागमा मूलतः संघीय सीमाका सन्दर्भमा अझै अन्तोष देखिन्छ । सावभौम संबिधानसभामा हाम्रो महासंघ सहित नेपाली ट्रेड यूनियन आन्दोलनले प्रस्तुत गरेको केही विषयवस्तु अझै छुटेका छन्। यसलाई समयक्रममा सुधार हुने अपेक्षा गरिएको छ । यो संविधान, अघि बढ्नकालागि मूख्य आधार हो । यसैमा टेकेर हामी छुटेका विषयहरु समयक्रममा संबोधन हुने अपेक्षा गर्दछौं । त्यसैले आप्mनो असन्तुष्टि प्रस्तुत गरिरहेका विभिन्न पक्षलाई पनि आ–आप्mना माग तथा विषयवस्तु रुपान्तरित संसदको माध्यमबाटै पूरा गराउने स्थान रहेको स्मरण गराउन चाहन्छौं । असन्तुष्ट पक्षका गुनासाहरु, मूलतः राजनीतिक मुद्धा भएकोले ती मध्ये न्यायोचित, उपयुक्त र तर्कसंगत गुनासालाई संवादद्वारा सम्बोधन गर्न सबद्ध पक्षसंग आग्रह गर्दछौं ।
तीन पुस्तादेखिको संघर्षलाई निस्कर्षमा पुरयाएकोमा हामी संविधानसभा भित्र र बाहिर रहेका सम्पूर्ण दलहरु तथा संविधानसभाका सम्पूर्ण सदस्यलाई धन्यवाद ज्ञापन गर्दछौं । संविधान निर्माण प्रकृयामा हरतरहले सहयोग गर्ने श्रमजीवी वर्ग सहित आम जनसमुदाय, जनसंगठन, तथा नागरिक समाजका सबै संस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
नयाँ संविधान हाम्रो हो, यसमाथि हाम्रो आफ्नो स्वामित्व छ । तसर्थ, हामी नयाँ संविधानको हार्दिक स्वागत गर्छौ । हाम्रा सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकहरुलाई आज असोज ३ गते देशभरी घरघरमा दिपावली गरी स्वागत गर्न हामी आव्हान गर्दछौं । सर्वपक्षीय राजनीतिक शक्तिद्वारा देशभर आयोजना हुने विजय उत्सवमा समेत आ–आफ्नो पहिचान सहित संयुक्त रुपमा सामेल हुन निर्देशित गर्दछौं ।
विष्णु रिमाल
अध्यक्ष, जिफण्ट
असोज ३, २०७२