December 31st, 2022
प्रमुख प्रतिपक्षी दल बन्न तयार एमाले एकाएक सत्ता साझेदार ठूलो दल बन्न पुग्यो । कांग्रेस, माओवादी केन्द्रसहितका पाँच दलको गठबन्धन टुटाउन सफल एमाले बलियो सत्ता साझेदार भएको छ । अघिल्लो दिनसम्म माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसक्ने बताएका केपी ओली भोलिपल्ट युटर्न भए । एमालेको कोर टिममा रहेर ‘गेम चेन्जर’को भूमिकामा थिए एमाले उपमहासचिव विष्णु रिमाल । सरकार गठनको यूटर्न, सरकारको योजना र समसामयिक राजनीतिबारे रिमालसँग शिलापत्रकर्मी दिपेन्द्र अधिकारीले गरेको कुराकानीको सम्पादित अंशः
नेकपा विभाजनपछि एमाले र माओवादी केन्द्र विपरीत कित्तामा थिए । एकाअर्काबीच आरोपप्रत्यारोप मात्र होइन्, पानी बाराबारको स्थिति थियो । १० पुसमा एकाएक प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले कसरी तयार भयो ? यसको पृष्ठभूमिमा तपाईँ पनि हनुहुन्थ्यो ?
धेरैपटकका अन्तर्वार्तामा भनेको थिएँ, हामी फरक फरक बाटो हिँडेकै हो । प्रचण्डजीको पार्टीले चुनावसम्म कांग्रेससँग तालमेत गरेर अघि बढ्यो । उनीहरूको विभिन्न उद्देश्यमध्ये एमालेलाई हराउने उद्देश्य पनि होला । त्यही भएर हामीले जुन उद्देश्यमा उहाँहरू मिल्नुभयो, त्यही रहनु भनेका हौँ । कांग्रेस र माओवादी टिमअप भइरहेको भए हाम्रो मिलाप नै हुँदैनथ्यो । हामीले गठबन्धन ठीक छैन, गठबन्धन टुट्यो भने नयाँ ढंगले अघि बढ्न सकिन्छ भन्नेमा थियौँ । एउटा समयमा आएपछि चक्र पूरा भयो । त्यसपछि उहाँहरू गठबन्धनमा बस्न चाहनुभएन । त्यसपछि हामीले राजनीतिक कोर्स त लिनै पर्थ्याे ।
चुनावपछिको सरकार बनाउन हामी माओवादी र कांग्रेस दुवैसँग ओपन थियौँ, त्यसमा वाम र गैरवाम भन्ने थिएन । कांग्रेससँग स्थिरताका लागि कुरा गरेका थियौँ । त्यसो भन्नुको अर्थ न्यूनतम रूपमा लोकतन्त्रको आधारभूत विषयमा टेकेर अघि बढ्न सकिन्छ भने कांग्रेस र एमालेको दुईवटा शक्ति सँगसँगै जाने भन्ने हो । त्यसमा कांग्रेसको रुचि भएन । माओवादीलाई हामीले तपाईंहरूको उद्देश्य पूरा भयो भएन थाहा छैन तर गठबन्धनमा रहनुभयो भने सहकार्य हुँदैन भनेका थियौँ । गठबन्धनबाट बाहिर आएपछि जुनसुकै कुरा मान्न तयार छौँ भनेका थियौं, उहाँहरू आउनुभयो ।
खासमा हामीले पदको हिसाब गरेका छैनौँ । हामीले तीनवटा राजनीतिक स्थिरताको पाटो, अर्थतन्त्र र सामाजिक सांस्कृतिक मूल्य मान्यतामा आएको क्षयीकरण रोक्ने मुख्य सर्तको रूपमा अघि बढेका हौँ । गठबन्धन बनाउँदा पदको कुरा हुन्थ्यो । तर, हामीले कुरा गरेनौँ । प्रचण्डजीले अन्तिम समयमा निर्णय गर्नुभयो । १० गते १२–१ बजेतिर निर्णय गर्नुभयो र हामीकहाँ आउनुभयो । हामी त ७८ सिट आएपछि प्रतिपक्षमा बस्न तयार थियौँ । उहाँ आएपछि बहुमत पुर्याउन सजिलो भयो ।
तपाईंले तीनवटा कुरा मुख्य सर्तको कुरा गर्नुभयो । ती मुख्य सर्त चाहिँ किन नि ?
राजनीतिक स्थिरता, अर्थतन्त्रमा देखिएको संकटलाई सुधार्ने र सामाजिक सांस्कृतिक मूल्यमान्यतामा आएको क्षयीकरणलाई रोक्न पर्यो । जो सरकारमा गए पनि चुनौती यही हो । यी कुरा सम्बोधन नगरी सुखै छैन । कांग्रेसको नेतृत्वमा यो सबै हुँदैन । हामीलाई पनि सजिलो छैन । हाम्रो टिमको विष्णु पौडेल अर्थमन्त्री हुनुहुन्छ तर, अर्थतन्त्र सुधारका लागि चुनौती छ । नेपालले अर्थतन्त्रलाई ठाउँमा ल्याउन धेरै संघर्ष गर्नुपर्नेछ । यो चुनौती समाना गर्न तयार हुनुपर्छ ।
मंसिर ४, ओली सरकार, पाँच वर्ष एमालेले गर्छ भनेर चुनावमा जानुभयो । प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि मतदाता र कार्यकर्तालाई झुक्याएजस्तो भएन ?
कुरा बुझेर सोध्नुभएको कि नबुझेर ? यस्तो इरिटेटिङ प्रश्न गर्ने हो भने हामी संवाद नगरौं । पार्टीले लक्ष्य राखेको थियो चुनाव जित्ने । अहिले सरकार त बन्यो नि । दुनियाँले एमालेको सरकार भनिरहेको छ त । ओली सरकार भएन यो ? यो मिल्ने प्रश्न भएन । मंसिर ४ ओली सरकार भनेका हौँ । हाम्रो कुरा त किताबमा बाँडेका छौं ।
ओपनियन पोल र एक्जिक्ट पोल पनि बाँडेका छौँ । हामी सबै ठाउँमा ठीक छौं केही ठाउँहरूमा हामी हार्यौँ । हारेपछि सिटको संख्या नपुगेपछि सरकार बन्ने भएन । सरकार नबनेपछि खुच्चिङ भन्ने कुरा रहेन । एकल सरकार बन्ने स्थिति नभएपछि एमालेले समर्थन र सहयोग गरेको सरकार बन्यो । हामीले जे भनेको त्यो बन्यो । व्यक्तिको बारेमा फरक रह्यो ।
वामपन्थी मात्र होइन, फरक विचारधाराका विभिन्न पार्टीहरू सरकारमा रहेका छन् । घोषणापत्र फरक फरक लिएर चुनावमा गएका दलहरू छन् । अब सरकार सञ्चालनको मोडालिटी कस्तो हुन्छ ?
उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको नेतृत्वमा बनेकाे कार्यदलमा माओवादीबाट वर्षमान पुन, राप्रपाबाट धवल शमसेर राणा र रास्वपाबाट मुकुल ढकाल हुनुहुन्छ । जसपा र जनमत पार्टीबाट नाम आउन बाँकी छ । फरक फरक घोषणापत्रबाट चुनावमा गएका हौं । कतिपय सन्दर्भमा माओवादीले जारी गरेको घोषणापत्र र हामीले जारी गरेको घोषणापत्रका कुरा विपक्षमा गरेको जस्तो देखिन्थ्यो ।
अहिले सरकार माओवादीको नेतृत्व सपोर्टेड बाई एमाले छ । रास्वपाको चाहिँ कोही पनि काम लाग्दैनन्, नो नट अगेन भन्ने नारा थियो । उहाँहरू पनि हामीसँगै हुनुहुन्छ । यो टिमले मिलेर जाने भनिसकेपछि न्यूनतम साझा कार्यक्रम हुन्छ । त्यसका आधारमा सरकारले काम गर्छ ।
शेरबहादुर देउवासँग आलोपालो कार्यान्वयन नभएर गठबन्धन भत्कियो । एमाले र माओवादीकाे पनि नमिठो विगत छ । फेरि पनि आलोपालोमा आंशका गर्नु नपर्ने वातावरण चाहिँ कसरी हुन्छ ?
आलोपालोमा पहिलो खेप माओवादीको प्रधानमन्त्री भनेका थियौं, त्यो पूरा भइसक्यो । उहाँको जहिलेसम्म पालो रहन्छ त्यो बेलासम्म काम भइरहन्छ । त्यसपछिको कुरा सरकार चल्दै जाने कुरा हो । सरकार कसरी चल्छ भन्ने कुरा होला । हामीले यो टिमलाई गठबन्धन भनिरहेका छैनौं । यसमा यो मन्त्रालय यसलाई उ मन्त्रालय उसलाई भनेर बहस गर्दैनौँ । यस्तो गर्ने भएको भए गृह मन्त्रालय रास्वपालाई दिनुपर्छ भन्नेमा तयार नै हुँदैनथ्यौँ । र अर्थ, गृहलगायतका ठूला भनिएका मन्त्रालय हामीसँगै राख्थ्यौँ होला । हामी अहिले परिणाममा जाऔँ भनिरहेका छौँ ।
अहिले जनतामा निराशा छ । पुरानो गठबन्धनले साह्रै निराशा छर्यो । त्यो निराशा चिर्ने गरी काम गरौँ, स्थिरताको महसुस गराउनुपर्यो । अर्थतन्त्र सुध्रिन थाल्यो है भन्ने विश्वास दिलाउनु पर्यो । सामाजिक सांस्कृतिक मूल्यमान्यतामा आएको गिरावटलाई रोकिँदैछ भन्ने विश्वास दिलाउनु पर्यो । त्यसका लागि एमाले यो मान्छेलाई मन्त्री नभई हुँदैन, यो मन्त्रालय नभई हुँदैन यो मन्त्रालयमा बजेट जाँँदैन त्यसो गर्दैनौँ । जनमतमा एक नम्बर पार्टी भयौँ संख्याले दोस्रो भयौँ । मंसिर ४ ओली सरकार भने पनि सत्य त विपक्षमा बस्नेवाला थियौँ । अहिले त सरकारमा छौँ । यो सफलता हो । अरु बार्गेनिङमा एमाले जाँदैन ।
तत्कालीन अवस्थामा प्रचण्डलाई प्रधानमन्त्री दिन तयार नभएपछि उहाँ हिड्नुभयो । घुमिफिरी राजनीति एकै ठाउँमा आएको देखियो नि ?
प्रचण्डजी छोडेर जानुभयो । उहाँलाई त्यतिबेला प्रधानमन्त्री नदिने भनिएको थिएन, दिने भनिएको थियो । यदि उहाँले छोडेर नगएको भए शक्तिशाली पार्टीको शक्तिशाली प्रधानमन्त्री उहाँ नै हुनुहुन्थो यतिखेर । टालाटुली बटुली गर्नै पर्दैनथ्यो । नयाँ परिघटना बन्दैनथ्यो । फ्रस्टेसनमा आएर अरु साथीहरू नयाँ पार्टी खोल्न जानुहुन्थेन ।
मुख्य पार्टीमा सामेल भएर युवा साथीहरू आउनुहुन्थो होला । त्यो परिघटनाको समीक्षा उहाँहरूले गर्नुहोला । जे विषयमा उहाँहरूले भोट माग्नुभयो, त्यसलाई जनताले पत्याएनन् । प्रतिगमनविरुद्धमा भोट माग्नुभयो, जबकि प्रतिगमन भएकै थिएन । साथीहरूले संविधानलाई ट्र्याकमा ल्याउन भन्दै आफैँ संविधान मिच्नुभयो । यो कुरा नक्कली हो भन्ने हिसाबले पनि सामान्य बुहमत गठबन्धनले पाएन ।
माओवादी र एमाले मात्र मिले चुनाव लड्दा कांग्रेस २३ सिट झरेको थियो । अहिले ५–५ वटा पार्टी एक ठाउँमा मिलेर लड्दा हामीले २३ को दोब्बर सिट ल्यायौं । स्वतन्त्रको २ सिट हाम्रै साथीभाइ हुन् । त्यसले हाम्रो सामर्थ्य देखियो । अब इतिहासबाट पाठ सिक्नुभयो भन्ने लाग्छ । पाठ नसिके आउने परिणामलाई सबैले स्वीकार्नैपर्छ ।
तपाईंको भनाइले पनि अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले गुन तिरेका विश्लेषण भैरहेका छ नि ?
राजनीतिमा गुन तिर्ने–नतिर्ने । योगदान गर्ने, मन लिने सांकेतिक भोट भन्ने हुदैँन । आवश्यकताले राजनीतिक कोर्स अघि बढ्ने हो । त्यतिबेला झमेला हुनुहुँदैनथ्यो । आफ्नो बलियो पार्टीलाई विघटनमा पुर्याउनु हुँदैनथ्यो, भयो । इतिहासमा समीक्षा होला त्यसमा प्रवेश नगरौं ।
माओवादीसँग कार्यगत एकता त भयो, अब पार्टी एकता सम्भव छ कि छैन ?
अहिले कुनै एकताको कुरा हुँदैन । हामी संयुक्त सरकार चलाउँछौं । सरकारले काम गरेर देखाउनुपर्छ । इतिहासमा के भूल भए भनेर बस्ने समय छैन । एमाले पार्टी एकता, वामपन्थी एकता भनिरहेको छैन । यो सरकार वामपन्थी होइन । वाम गैरवाम सबै छन् । कांग्रेसको नेतृत्वमा मुलक बन्दैन भन्नेहरू सब एकठाउँमा छन् । एमालेले समर्थन गरेको कांग्रेसप्रति अविश्वास राख्ने सबै मिलेर सरकार बनेको छ । राष्ट्र बनाउँ भन्नेहरूको सरकार भनौं यसमा गुन तिर्ने नतिर्ने भन्ने रहेन । यसलाई प्रभावकारी ढंगले चलाउनुपर्छ भन्नेमा छौं ।
एकीकृत समाजवादीलाई सरकारमा ल्याउने कुरा के भैरहेको छ ? उसँग पार्टी एकता सम्भव छ कि छैन ?
एकीकृत समाजवादीसँग केही पनि कुरा गरिरहेका छैनौं । तत्काललाई जरुरी पनि भएन । सरकार चलाउन बहुमत छदैँ छ । उहाँहरू कांग्रेससँग रहन चाहानुहुन्छ उतै हुनुहुन्छ । हामीले हात पनि तेर्स्याका छैनौँ । प्रलोभन पनि दिएका छैनौँ । निवेदन पनि हालेका छैनौं । एकीकृत समाजवादी आफैँले सोचोस् ।
गठबन्धनभित्र बाँधिन पर्दा स्वतन्त्र निर्णय गर्ने तहमा हुनुहुन्थेन । मैले पहिला पनि भन्थे स्वतन्त्र पार्टी भनेका एमाले, राप्रपा, रास्वपा हो । यी पार्टी चाहिँ आफ्ने पार्टीको निर्णय गर्न सक्षम थिए । अहिले कम्तीमा त्यो गठबन्धनका दलहरू स्वतन्त्र रूपमा सोच्न सक्ने भएका छन् । प्रचण्डजीले स्वतन्त्र रूपमा निर्णय गर्दा सरकार बन्यो । एकीकृत समाजवादीको हकमा हामीले भन्नु केही छैन ।
एमाले नेताहरू विष्णु पौडेल, महेश वस्नेतलगायतले माधवकुमार नेपाललाई भेट्नुभएको छ । एकीकृत समाजवादीका केही नेताहरू पनि एमालेसँग संवादमा हुनुहुन्छ नि ?
महेशजीले पार्टीको योजना बिना भेट्नुभएको हो । पार्टीले निर्णय गरेको छैन । निर्णय गर्न आवश्यक ठानेको पनि छैन । अध्यक्षज्यूले कसैलाई मिसनमा खटाउनु भएको छैन । मलाई पनि छैन, अरु साथीहरूलाई नि छैन । कतै कोही साथीहरूले कुनै प्रसंगवस भेट्नुभएको भए उहाँहरूले जवाफ दिनुहुन्छ, मलाई थाहा भएन ।
त्यसो भए एससँग पार्टी एकता सम्भव छैन ?
हामी कुनै एकताको चक्करमै छैनौँ । त्यो विषय नै रहेन ।
राष्ट्रपति र सभामुख एमालेको भागमा परेको छ त्यसमा एमालेको तयारी के छ ?
त्यसमा हामी प्रवेश नै गरेका छैनौँ । सरकारले पूर्णता पाओस् । सत्तारुढ दलमा सहमति भएअनुसार राष्ट्रपति र सभामुख एमालेले पाउँछ । माघभित्र राष्ट्रपतिको चुनाव हुन्छ । माघको १० भित्र सभामुखको चुनाव हुन्छ ।
विगत हेर्दा माओवादीसँग कुनै न कुनै बिन्दुमा विवाद भएको देखिन्छ । अब विवाद हुँदा समझदारीको बाटो के हुन्छ भनेर सोच्नुभएको छ ?
अहिले हामी सामूहिक रुपमा सरकार चलाउँछौं । सरकारमा उठ्न सक्ने असमझदारीलाई संयन्त्रमार्फत टुंगो लगाउँछौं । विवाद आएछ भने तत्काल छलफल गरौंला । सबैले चेतेका छन्, झगडा गरेर हिँड्नुपर्ने अवस्था नआउला ।
कांग्रेस-एमाले सरकार बनाउन कांग्रेसले प्रस्ताव ल्याओस भन्नुभएको थियो । बालुवाटारमा अध्यक्ष ओलीको पर्खाइ थियो । कांग्रेससँगको कुरो चाहिँ खासमा कहाँ बिग्रियो ?
कहीँ पर्खाइ थिएन । हामीले कांग्रेस र माओवादीसँग गठबन्धनमा रहँदासम्म कुनै सम्झौता हुदैन भनेका थियौँ । अरु मेहनत गरेर छुट्टै सरकार बनाउने प्रयत्न पनि हामी गर्दैनौँ भनेका थियौँ । अघिल्लो दिन त सार्वजनकि कार्यक्रममा हाम्रो अध्यक्षज्यूले समयमा निर्णय गरेनन् भने प्रचण्ड प्रधानमन्त्री बन्नुहुन्न भन्नुभएको थियो । त्यो बेलासम्म हामी कतै अनुबन्ध थिएनौँ । कांग्रेस र एमाले सरकार बनाउने भनेको समान्य रूपमा अपवादमा मात्र हुन्थ्यो ।
प्रतिस्पर्धी भएकाले यी दुईमध्ये एक सत्तामा अर्को प्रतिपक्षमा हुनुपर्छ । स्थिरताका लागि कांग्रेसले एमालेसँग जान्छ भने साथ दिन्छौं भनेका थियौं । कांग्रेसले माओवादीलाई होल्ड गर्ने, समय कटाउने र धारा ३ अनुसार प्रधानमन्त्री स्वतः राष्ट्रपति नियुक्त गरिहाल्नुहुन्छ त्यसपछि देखाजाला भन्नेमा पुगेको देखिन्थ्यो । एमाले ‘रिस्क फ्रि जोन’मा थियो । आफूलाई प्रमुख प्रतिपक्षी भनिसकेपछि कुनै चिन्तै भएन । आउने प्रत्येक लाभ एमालेलाई हुने नै भयो ।
माओवादीलाई पनि तपाईंहरू गठबन्धनमा रहँदा कुरै हुँदैन भनेका थियौं । उहाँहरूले होमवर्क गरौं भन्दा हमी तयार भएनौं । प्रचण्डजीले साँढे १२ बजे गठबन्धन छोडेँ भनेपछि आउनुहोस् कुरा गरौं भन्यौं । कांग्रेसलाई के लाग्यो भने प्रचण्ड भात खान जानुभएको छ । कांग्रेसका नेताहरूलाई झुक्याएर राखौँला भन्ने थियो । राष्ट्रपतिसँग समय मागौँला भन्ने थियो । उहाँहरूको समय माग्ने भनेको ५ बजाउनु थियो ।
शेरबहादुरजीलाई हाम्रो अध्यक्षज्यूले यदि गठबन्धन तोड्न चाहानुहुन्छ र एमालेसँग सहकार्य गर्न चाहानुहुन्छ भने संयुक्त पत्र लेखौँ भन्नुभएको थियो । उहाँको भनाइ ५ बजेपछि नियुक्त भैहाल्छ भन्ने थियो । त्यसो भए तपाईंको सरकार बन्छ । एमाले सहकार्य गर्न आउँदैन नयाँ कोर्ष भयो भन्ने भयो । सम्भवतः माओवादी त्यसमै पुगेको जस्तो लागेको थियो।
माओवादीलाई छोडेर कांग्रेस धारा ३ मा प्रवेश गर्न चाहिरहेको थियो भन्ने तपाईंको भनाइ आयो । ओलीले धोका दिए भनेर अन्तिममा बालुवाटारमा कांग्रेसभित्र चर्काचर्की पनि भएछ नि ?
ओलीले त धोका दिइहाल्छन् नि । हामीले गठबन्धन फुटाउने भनेर लुकाएका थिएनौं, त्यो हाकाहाकी थियो । यो गठबन्धनले काम गर्दैन भनेका थियौँ । कांग्रेस अनिर्णयको बन्दी भयो ।
चुनाव अघि नै हामीसँग मिलेर जान सकिन्छ भन्दा किन नमानेको त ? एमाले र कांग्रेस स्वतन्त्र रुपमा चुनाव लडौँ प्रचण्डजीहरू फरक पोल बनाएर चुनाव लड्नुहोला, त्यसो गर्दा कांग्रेस पहिलो पार्टी एमाले दोस्रो पार्टी बन्ला त्यसले फरक पार्दैन, बहुमत ल्याएर तपाईहरू सरकार बनाउनुस्भन्दा मान्नुभएन । विचारका आधारमा गठबन्धन गर्दा त काम गरेन भने विचारबिहीन गठबन्धन गर्दा भोट हाल्न सिन्डकेटबाट बाध्य पार्ने अवस्था हो । त्यसो नगरौँ भनेका थियौँ । चुनावपछि तालमेल हुनसक्छ पनि भनेका थियौँ ।
कांग्रेस-एमालेको दुई तिहाई हुँदा स्थिरता दिन सकिन्थ्यो । त्यसमा कांग्रेसको रुचि थिएन । प्रचण्ड हामीसँग नआउनुभएको भए पनि धोका थिएन । हामीले कांग्रेसलाई अफरै अफर दिएका थियौं । प्रधानमन्त्री तिमी नै चलाउ भनेका थियौं । मुख्य दुई दल बनाएर सरकार बनाउने चलन छैन ।
संविधान जारी गर्ने बेलामा सुशील कोइरालको पालामा हामीले गरेका थियौं । छोड्ने बेलामा उहाँहरूले धोकाधाडी गरिहाल्नुभयो । केपी ओलीविरुद्ध उठेर संसद्मा प्रधानमन्त्रीको रूपमा कोइरालाले हार्नुभयो । यस्तो धोका कांग्रेसले बेला बोलामा गरिरहन्छ । गठबन्धन टुटाइदिन्छौं भनेकै हौँ टुटाइदियौं । हामी सफल भयौं ।
सरकार गठनमा शक्ति राष्ट्रको चासो हुन्छ भनिन्छ । अहिलेको नयाँ गठबन्धनमा शक्ति राष्ट्रले चासो कतिको रह्यो ?
कुन चाहिँ शक्ति राष्ट्रले बनाइदिएछ ? कुनै पनि शक्तिराष्ट्रले थाहा पाएनन् । तपाईं हामी नै स्वतन्त्र नागरिक भएर सोचौँ न । प्रचण्ड प्रधानमन्त्री बन्ने बेलासम्म कसैलाई पनि थाहा छैन । १६६ प्लस ३ जना स्वतन्त्र गरेर १६९ सांसदको समर्थन लिएर लाइन लागेर राष्ट्रपतिकोमा जाँदा न स्वयं प्रधानमन्त्री प्रचण्डलाई विश्वास थियो न निवर्तमान प्रधानमन्त्री देउवालाई विश्वास थियो । कताबाट शक्ति राष्ट्रले सरकार बनायो ? शक्ति राष्ट्रले खेल्थ्यो भने धेरै खेल्थ्यो होला । मेरो विचारमा यो अर्ग्यानिक हो । हामी स्वतन्त्र थियौं त्यसैको प्रतिफल हो । यदि हामी कतै बाँधिएको भए त हिसाब किताब हुन्थ्यो होला ।
चीन नेपालमा कम्युनिस्ट पार्टी एक होस् भन्ने चाहन्छ । त्यो मामिलामा एमाले र माओवादी सरकारमा भएपछि चीन सफल र कांग्रेस सरकार होस् भन्ने चाहना राख्ने भारत र अमेरिका असफल भयो भनेर काठमाडौंमा चर्चा भइरहेको छ नि ?
चीनको योजना के थियो हामीलाई थाहा छैन । चीनसँग हिसाब किताबको कुरा रहेन । भारतसँग पनि हाम्रो कुनै संगत होइन । हाम्रो आन्तरिक मामिलामा हसक्षेप नगर भनेकै हो । तटस्थ रहन्छौँ भनेपछि हामीले पत्याएर बसेका छौं । चिनियाँले किन हात हाल्नुपर्यो ? हामी आफैँ प्रधानमन्त्री बनाउन सक्दोरहेछौं । त्यसकारण कसैको सहयोग चाहिएन । भोट सांसदले हाल्ने हो संख्या हामीले मिलाउने हो ।
नो नट अगेनबाट उदाएको रास्वपा, पृथकतावादी आन्दोलनबाट उदाएको जनमत पार्टी र हिंसात्मक आन्दोलनबाट उदाएको नागरिक उन्मक्ति पार्टी यो गठबन्धनमा रहेका छन् । यी सबै एक ठाउँमा रहँदा कूटनीतिक सन्तुलन, आर्थिक विकासको रोडम्याप, जनताको वितृष्णा सम्बोधन कसरी गर्ने ?
एकल पार्टीको बहुमत थियो भने यो शंका हुन्थेन । धेरै दल मिलेर सरकार बनेपछि शंका रहन्छ । जबसम्म कुरा मिल्छ तबसम्म सरकार चल्छ नत्र सरकार ढल्छ । अहिले हेर्दा विपक्षमा सरकार बन्ने बहुमत छैन । कामको लय हेर्दा विकल्पको सरकारमा जानुपर्ने अवस्था देखिFदैन । प्रचण्डको सट्टा शेरबहादुर दाईलाई प्रधानमन्त्री बनाउँदा मुलुकमा खुशीयाली आउँछ भने अरु दलले सोचुन् । हामीसँग ७८ सांसद छन्, यसलाई हमी दुरुपयोग गर्दैनौँ । एक अवधिसम्म प्रचण्ड प्रधामन्त्री हुनुहुन्छ । हाम्रोतर्फबाट सरकारलाई हरेक तवरमा पूर्ण रूपमा सहयोग रहन्छ । एमालेले बनाएको सरकारको गुण दोष एमालेलाई जान्छ ।
रास्वपाकाे एजेन्डा नो नट अगेन हामीलाई भन्नुभएको छैन । त्यो चुनावको सन्दर्भमा थियो । दलहरूको आफ्नै दृष्किोण होला । उहाँहरूले राइट विङको पार्टी हो भन्नुभएको छ । जनताको न्यूनतम कुरा पूरा हुनुपर्छ भन्ने छ, त्यसमा हाम्रो सहमति छ । त्यो मिलनबिन्दु हो । जनमत पार्टीलाई पृथकतावादी आन्दोनबाट छुटाउने एमाले नै हो ।
अहिले एजेन्डा लोकतन्त्रलाई क्रियाशील बनाउन लाग्नुभएको छ । कृषिमा क्रान्ति, उद्योगधन्दा खोल्नुपर्छ, जनतालाई रोजगारी र सुविधा दिनुपर्छ भन्नुभएको छ । न्यूनतम रूपमा उहाँहरूसँग पनि सहमत छ । राप्रपासँग निश्चित कुरामा असहमति छ । परम्परा र संस्कृतिसँग हाम्रो असहमति छैन । मुलुक बन्नपर्छ भन्ने कुरामा सहमत छौं । सबैको साझा कुरा छन् । संयन्त्रले साझाबिन्दु तय गर्छ र सरकार राम्रोसँग चल्छ ।
अघिल्लो सरकारको न्यूनतम साझा कार्यक्रमले डेढ बर्ष वालुवाटारको कुनामै बस्यो । यो पनि त्यस्तै हुने होइन ?
हामीलाई असफल हुने छुट छैन । अघिल्लो सरकारको पालामा राहदानीका लागि जनताको लाइन, डेंगी लागेर नागरिकका मृत्यु भएको कुरा कहिले समाचार बन्यो ? बनेन । अहिले न्यूज बनिसक्यो । हामीप्रति पब्लिकको अपेक्षा छ डेलभरी नहुँदा प्रश्न उठ्न थालिहाल्छ । शेरबहादुर देउवाको नेतृत्वमा यस्तो भैहाल्छ नि भन्ने थियो । त्यसैले गुनासो पनि थिएन आशा थिएन र प्रश्न पनि उठेन ।
शिलापत्र । दिपेन्द्र अधिकारी| शनिबार, पुस १६, २०७९ ।१६९ सांसद लाइन लागेर राष्ट्रपतिकोमा जाँदासम्म प्रचण्ड न देउवा कसलाई विश्वास थियो र : विष्णु रिमाल (अन्तर्वार्ता) ।प्रकाशित मिति: शनिबार, पुस १६, २०७९ १८:०६।