bishnu@blog

Dec
31

BN° 028

सन् १९८४ को कुरा हो । म त्यतिखेर २२ वर्ष की थिएं । आफु तन्नेरी भएको महसुस गरी मैले आमा बाबुसंग विदा लिई परदेश भ्रमणमा जाने निर्णय गरें । सक्छेस् र? मेरी आमाले त्यतिखेर सोधेको प्रश्न अहिले पनि मेरो कानमा गुन्जिन्छ । मैले मनमनै भने– दुनियाँले नगरेको काम मैले गर्न खोजेकी हुँ र? त्यसपछि म महीनौं लामो भारत यात्रामा निस्किएं ।

 

त्यतिवेला अहिले जस्तो ई–मेल/ईन्टरनेट थिएन । अर्थात्, सञ्चार अहिले जस्तो सजिलो थिएन । म आफ्ना केही साथीहरुसंगै भारतको विभिन्न स्थानमा लोकल वस र ट्रेन हुँदै चाहारें । भारत विसाल छ, विविधतायुक्त । मैले धेरै अनुभव हासिल गरें तर ती मध्ये केही घटनाले भने मेरो जीवनमा साह्रै गहिरो छाप छोड्यो । म युवा महिला, भारतीइहरुको बोलीमा अङ्ग्रेजी मेम । जुन जुन लोकल ट्रेन र बस मैले चडें, प्रत्येक ठाँउमा पुरुषहरु जानी जानी मलाई असभ्य तरीकाले धक्का दिन्थे, शरीरलाई छुन्थे । मैले आफुमाथि भइरहेको दुर्वव्यहारको प्रतिकार गर्ने परिस्थिति नै रहेन । महिना वित्यो तर मेरो सिङ्गो बसाईमा यस्ता घटनाले निरन्तरता पाई नै रह्यो । शुरुमा थाहा नपाए जस्तो गरें, तर विस्तारै म मा एउटा बानी विकास भयो– जुन उमेरका पुरुष देखे पनि अर्को तिर हेर्ने वा मुण्टो निहुराई हिड्ने । पछि त यस्तो भयो की म अष्ट्रेलिया फर्किएपछि पनि भारतीय मुलका पुरुष देख्यो की टाउको निहुराएर हिड्ने भएँ । र, अहिले पनि झट्ट कोही भारतीय पुरुष देखियो भने मेरो शीर त्यसै की निहुरिन्छ– कि त अर्को तिर बटारिन्छ ।

यसपाली ब्रसेल्स बसाईमा मेरो अष्ट्रेलियन साथी अलिसन टेट्ले यो विवरण सुनाइ रहँदा म जिल्ल परेर सुनि रहेको थिएँ । अलिसन टेट्, एउटी सामान्य अष्ट्रेलियाली नागरिक मात्र नभई १७ करोड भन बढी सदस्य भएको अन्तरािष्ट्रय ट्रेड युनियन महासंघको महासचिवका परराष्ट्र मामिलाका सल्लाहकार समेत हुन् । तालिमको हिसावले उनी एक अर्थशास्त्री हुन् भने वर्मा, थाईल्याण्ड लगायतका देशहरुमा लोकतन्त्रप्राप्तीको लागि क्रियाशिल ट्रेड युनियन आन्दोलनको क्षमता अभिवृद्धिमा ग्राउण्ड मै सक्रिय रही लामो समय विताएकी अनुभवी ट्रेड युनिकर्मी समेत हुन् ।

 

सन् २०१२ मा भारत भरी भएका महिला हिंसाका जघन्य घटनाहरुलाई त्यो समाजमा गहिरो गरी रहेको असमान लैङ्गिक आचरणलाई विम्बित गर्छ । हरेक १४ मिनेटमा एक जना महिला बलात्कृत हुने तथ्य रहेको ‘ठूलो’ लोकतन्त्रलाई नराम्रोगरी खिल्ली उडाउने ती सबै मध्येको बर्बर अपमानजनक घटना चाँहि हुनपुग्यो दिल्लीको गुडिरहको बसमा ६ जना हरामहरुले सामुहिक बलात्कार गरी फ्यािकएकी चिकित्साशास्त्र की एक बहादुर छात्रामाथिको अत्याचार ।

 

तर के हाम्रो देश चाँहि सौम्य छ त?

समाचारले चिच्याई चिच्याई भन्छ– अपराध र अत्याचारको सिलसिलामा नेपालको अनुहारपनि रगतै रगतले लतपत छ । सन् २०१२ को शुरु मै पश्चिम नेपालमा एक सन्कीले स्कूले दुई अवोध छोरीलाई रातीको समयमा नदीमा फ्याकी दियो र हल्ला मच्यायो– छोरीहरुको अपहरण भयो । मध्यमाञ्चलमा अर्कोले मुला काटे झै तीन जना सन्तानलाई सोत्तर पार्यो । नोभेम्बर महिना त यो साल अभिषाप नै बन्यो । महिला हिंसा विरुद्धको १६ दिने अभियान कै क्रममा १२ जना महिलाको नृसंश हत्या भयो । राज्यले काम र माम नदिएपछि आफै काम खोजेर जसोतसो स्वदेस फर्किएकी एक चेलीलाई राज्यले नै लुट्यो, बलात्कार गर्यो र अपमान समेत गर्यो ।

 

के यो सिलसिला यत्ति कै थामिएला? के संस्थाका एकाध वक्तव्य र पत्रिकामा छपाउन खिचिने ल्पेकार्डधारीहरुको फोटोले महिलामाथिको अत्याचार रोकिएला? वर्ष २०१२ यस्ता अपराधको अन्तिम साल हुने छैन । यस्ता घटनालाई न्युन हुँदै सून्यमा पुर्याउन जतिसुकै सदासयता भएपनि अहिलेको राज्य, राजनीतिक नेतृत्व र नागरिक समाज सक्षम देखिन्न ।

 

बाई बाई २०१२ भनिरहँदा म के सम्झेर ह्यापी न्युएर २०१३ भनौ खै?

Posted in Personal Thoughts | No Comments »

Comments :

No comments yet.


Leave a comment