May 4th, 2015
यतिबेला विरक्ति, आक्रोश र दिक्दारी पोख्ने वा एक अर्कालाई सत्तोसराप गर्ने बेला होइन, पारस्परिक सद्भाव तथा धैर्यता सहित एक आपसमा सहयोग गर्ने समय हो भन्ने हामीले महसुस गर्नैपर्छ । भग्नावशेषमा उभिएर अब हामी पीडापछिको नव निर्माणमा लाग्ने चरणमा प्रवेश गरेका छौँ । हाम्रा सामु तत्काल तीन कार्यभार छन्– १) जारी उद्धारकार्यलाई अझ तीव्रता दिने र सकेसम्म धेरै जनतालाई बचाउने, संभावित रोगको संक्रमण र महामारीबाट जनतालाई बचाउन स्वास्थ्य र सफाईको कामलाई युद्धस्तरमा सञ्चालन गर्ने, २) तिर्खा मेटिएपछिको पानीको अर्थ हुँदैन भनेझैँ पीडित परिवारलाई तत्कालको राहत उपलब्ध गराउने, खाद्यान्न–औषधि– पानी र पाल जस्ता राहत सामग्रीको वितरण कार्यलाई क्षुद्र राजनीतिक स्वार्थबाट डामिन नदिन समन्वयात्मक ढंगले राज्य आफैं अग्रसर हुने, र ३) खुल्ला आकासमुनि पुगेका प्रत्येक नागरिकलाई आवासको ग्यारेण्टी गर्ने ।
प्रिय मित्रहरु
हामी श्रमजीवी वर्गको गौरवमय दिन– मे दिवसको नजिक आइपुग्दा यस वर्ष हामीहरु महाविनाशकारी भूकम्पको पीडामा छटपटिन बाध्य भएका छौँ । बहत्तर साल वैशाख १२ गतेको त्यो दुःखद दिन, एउटा सामान्य शनिबार, मध्य दिउँसो अकस्मात असामान्य र विध्वंसको आक्रमक राक्षसी दिनमा रुपान्तरित भयो । श्रम, पसिना, कला र सीपका अनेक जीवन्त निर्माणहरु धरासायी भए, भाँच्चिए खण्ड–खण्डमा, सँगै जीवन र आश्रय नष्ट/विनष्ट भयो । भयावह त्यो विनाशकारी भूकम्पले झम्टी–झम्टी पटक–पटक हामीहरुमाथि आक्रमण गरिरह्यो। एकैछिन अघि सपना, क्रियाशीलता र ऊर्जाका गतिशील प्रतीक हजारौँ जनता, निर्जीव लासमा परिणत भए । भग्नावशेषमा, हजारौँ घाइतेहरुको पीडा र आफ्ना आत्मियजन गुमाएर बाँचेकाहरु, बेदनाको भयावह तुफानमा लाचार तथा असहाय भए । सिंङ्गो राष्ट्र मृत्यु, शोक, पीडा, अनिश्चितता र भयको चक्रव्यूहमा फस्यो ।
नेपाल स्थित संयुक्त राष्ट्रसंघीय विकास नियोगका अनुसार विनाशकारी भूकम्पबाट ३९ जिल्लाका ८० लाख नेपालीहरु प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् । जसमध्ये ११ जिल्लाका २० लाख जनताचाहिँ अत्यन्त प्रभावित रहेका छन् । महाभूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाकका १ हजार ४ सय ७० घरमध्ये मुस्किलले ५० वटा जतिमात्र ठाडो रहेको बताइएको छ । उद्धार कार्यमा संलग्न सिम्रिक एयरका क्याप्टेनका अनुसार रसुवा जिल्लाको पर्यटकीय गाउँ लाङटाङ सिङ्गै समाप्त भएको छ । बागमती अञ्चलका अधिकाङ्श जिल्लाहरु प्रभावित छन् । हालसम्मको आधिकारिक तथ्याङ्क अनुसार मानवीय क्षतिको हिसाबले सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका र नुवाकोट क्रमशः पहिलो, दोस्रो र तेस्रो छन् । मे एक बिहानसम्ममा सरकारी निकायले ६ हजार १ सय ९८को मृत्यु भएको र १३ हजार ५ सय ६८ घाइते भएको पुष्टि गरेको छ । मृतक र घाइतेको जानकारी आउने क्रम जारी नै रहेकोले निश्चित छ, ज्यान गुमाउनेहरुको सङ्ख्या अझै बढ्नसक्छ ।
प्रकृतीको यो महाविनाशकारी खेलमा उपेक्षित जीर्ण र पुराना, गरिबका छाप्राहरु मात्र होइन, आधुनिक र सम्भ्रान्तका महलहरु पनि ध्वस्त भए । प्रकृतीले वर्ग हेरेन । नेपालको इफेल टावरको रुपमा परिचित धरहरा लगायत दोस्रो शताब्दिदेखि यताका (लिच्छवी/ मल्लकाल) निर्मित ऐतिहासिक सम्पदा समेत ध्वस्त हुनपुग्यो । आमसञ्चार माध्यमले संप्रेषण गरेको सूचनाको आधारमा १० वटा जलविद्युत परियोजना अवरुद्ध भए । महाविनाशको त्रासले हप्ता दिन, राष्ट्रपतिदेखि सर्वसाधारणसम्म, खुल्ला आकासमा रात बिताउन बाध्य भए । तर यो विनाशमा, पीडितहरुमा बहुसङ्ख्यक भने ज्याला मजदुरी गरी बाँच्ने वर्ग नै रहे, जसको जीवनको अँध्यारो झनै गहिरो भएको छ, भविष्यको अनिश्चितता, असुरक्षा, भय र आतङ्क बनेर लाखौँ बालबालिकाको सामु ठिङ्ग उभिएको छ ।
जिफन्ट/जेटियुसीसी परिवारमा विनाशकारी भूकम्पको आतङ्क भयावह नै छ । विभिन्न जलविद्युत परियोजनामा कार्यरत क्युपेक–जिफन्टका सदस्य सहित निर्माण मजदुरहरु मारिएका छन् । सगरमाथा आरोहणका क्रममा रहेका युनिट्राभ– जिफन्टमा आबद्ध साथीहरु हिम पहिरोमै पुरिएका छन् । केही यातायात मजदुरहरुले सडकमै ज्यान गुमाएका छन् । जिफन्टका आर्थिक सचिव गुणराम आचार्यको टाउकोमा गंभीर चोट लागेकोले शल्यक्रिया सहित अस्पतालको अति सघन कक्षमा उपचार गराइरहेका छन् । जिफन्टका प्रवासी कमिटीका सदस्य बज्र राई गंभीर घाइते भएका छन् । पेशागत महासंघ–नेपाल आबद्ध एक संघ– पानका महासचिव चन्द्रबहादुर श्रेष्ठ र उहाँकी श्रीमतीको दुःखद निधन भएको हामीहरु सबैलाई जानकारी नै छ । जेटियुसीसी परिवारभित्रका सदस्य महासंघबाट विनाशकारी भूकम्पका पीडित आफ्ना सदस्यहरु, को–कस्तो अवस्थामा रहनुभएको छ भन्ने सूचना प्राप्त हुँदैछ । मृत्यु हुनेमा विभिन्न गाउँमा कार्यरत विद्यालयका शिक्षक कर्मचारीहरु पनि हुनुहुन्छ, निश्चितताका साथ भन्न सकिन्छ, सम्पूर्णको सङ्ख्या सानो हैन, ठुलै छ । समग्रमा, रोजगारीका हरेक क्षेत्रमा कार्यरत हाम्रा सदस्य श्रमिकहरुको ज्यान गएको छ, उनीहरुले आफन्त र आश्रय गुमाएका छन् । यसरी यो दिवसको अघिल्लो हप्तामा नेपाली श्रमजीवी वर्गले आ“सु र चोटपटक, भय र अनिश्चितताको अकल्पनीय र बोकी नसक्नु भारी पाएका छन् ।
भग्नावशेषमा पुरिएकाहरुको उद्धारको काम जारी छ, विदेशी प्रविधि र प्राविधिकहरुको समेत सहयोगमा नेपाली सुरक्षा निकायले हजार भन्दा बढी जनतालाई जिवितै उद्धार गरिसकेको छ । १२८ घण्टापछि बालाजुमा उद्धार गरिएकी वर्दियाकी कृष्णकुमारी खड्का यसको पछिल्लो उदाहरण हुन् । हामी उद्धारकर्मीको धैर्य र साहसको प्रशंसा गर्दछौँ । नेपालीको पीडामा ऐक्यबद्धता र सहयोगको हात अघि बढाउने विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलन परिवार, स्वदेश तथा विदेशका विभिन्न संस्था र व्यक्तिहरुप्रति हार्दिक धन्यवाद सहित आभार व्यक्त गर्दछौँ ।
यतिबेला विरक्ति, आक्रोश र दिक्दारी पोख्ने वा एक अर्कालाई सत्तोसराप गर्ने बेला होइन, पारस्परिक सद्भाव तथा धैर्यता सहित एक आपसमा सहयोग गर्ने समय हो भन्ने हामीले महसुस गर्नैपर्छ । भग्नावशेषमा उभिएर अब हामी पीडापछिको नव निर्माणमा लाग्ने चरणमा प्रवेश गरेका छौँ । हाम्रा सामु तत्काल तीन कार्यभार छन्– १) जारी उद्धारकार्यलाई अझ तीव्रता दिने र सकेसम्म धेरै जनतालाई बचाउने, संभावित रोगको संक्रमण र महामारीबाट जनतालाई बचाउन स्वास्थ्य र सफाईको कामलाई युद्धस्तरमा सञ्चालन गर्ने, २) तिर्खा मेटिएपछिको पानीको अर्थ हुँदैन भनेझैँ पीडित परिवारलाई तत्कालको राहत उपलब्ध गराउने, खाद्यान्न–औषधि– पानी र पाल जस्ता राहत सामग्रीको वितरण कार्यलाई क्षुद्र राजनीतिक स्वार्थबाट डामिन नदिन समन्वयात्मक ढंगले राज्य आफैं अग्रसर हुने, र ३) खुल्ला आकासमुनि पुगेका प्रत्येक नागरिकलाई आवासको ग्यारेण्टी गर्ने ।
गाउँका गाउँ सखाप भएको अहिलेको अवस्थामा नवनिर्माणका सम्पूर्ण परियोजनाहरु एकीकृत ढंगबाट समन्वय गर्नु उपयुक्त हुन्छ । ३० लाख भन्दा बढी हाम्रो श्रमशक्ति विदेशी भूमिमा रहिरहेको अवस्थामा आगामी निर्माणका लागि नेपालमा श्रमशक्तिको अभाव हुने निश्चित छ । तसर्थ, राज्यको आप्रवास नीतिमा समेत पुनर्विचार गरी स्वदेशी श्रम स्वदेशमै प्रयोग गर्ने नीति लिनु उपयुक्त हुन्छ भन्ने हाम्रो बुझाइ छ ।
जिफन्टले आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने निर्णय गरिसकेको छ । उसले आप्mनो सदस्य संघको विषय विज्ञताकै आधारमा उनीहरुको विन्यास देशव्यापी रुपमा गर्दैछ । चर्को टिप्पणी आएको यातायात क्षेत्रको बेथितिलाई सम्याउन र ‘जनताका साथी यातायात मजदुर’को भावना सञ्चार गर्न यातायात सम्बद्ध युनियन परिषद परिचालित हुँदैछ । भग्नावशेष हटाउन र नयाँ निर्माणका लागि निर्माण क्षेत्रका सदस्यहरु परिचालित गर्दैछ। स्वास्थ्य सम्बद्ध युनियन परिषद अन्तरगतका सदस्यहरुलाई अस्पताल र बस्तीहरुमा परिचालन गर्दैछ । अध्यक्षको हैसियतले जेटियुसीसीमा आबद्ध सम्पूर्ण महासंघहरुलाई आ–आप्mना सदस्यहरुलाई उनीहरुको विज्ञता र पायक पर्ने क्षेत्रमा व्यापक परिचालन गर्न हार्दिक आह्वान गर्छु ।
एक जना नागरिकको जीवन कति महत्व हुन्छ भन्ने कुरा १२० घण्टापछि पेम्बा लामालाई उद्धार गर्ने सशस्त्र प्रहरी बलको टीमलाई जनसाधारणले दिएको ‘हिरो’को दर्जाले स्पष्ट पार्छ । हामी आप्mना सम्पूर्ण सदस्यहरुलाई निर्देशित गर्छौँ– तपाईंहरु प्रत्येक आ–आप्mनो दक्षता अनुरुप उद्धारमा संलग्न सेना, प्रहरी, नागरिकहरुसँग एकाकार हुनुहोस् र आ–आफ्नो ठाउँबाट सक्दो योगदान गर्नुहोस् । शोक, ट्रमा, आँसु र अनिश्चितता बोकेर हाम्रो मे दिवस आयो । पीडाको आँसुलाई ऊर्जामा बदलेर नयाँ शक्ति र आशाका साथ अघि बढ्नुको विकल्प हामीसँग छैन । त्यसैले यो मे दिवस उत्सव र अधिकारको लागि हुने आन्दोलन होइन, श्रद्धाञ्जली, समवेदना र नवनिर्माणको अभियानको भएको छ ।
आजको दिन गह्रौँ मनसहित म विनाशकारी भूकम्पबाट मारिएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। सम्पूर्ण पीडित परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । र, घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
यो वर्षको मे दिवस विनाश र पीडा बोकेर आयो, आउने वर्षको मे दिवसमा यस्तो हुँदै नहोस्! म, नेपाली ट्रेड युनियन आन्दोलन र यसमा आबद्ध २० लाख सदस्यहरुको तर्फबाट यही शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद !
(श्रद्धाञ्जली, समवेदना र ऐक्यबद्धता सहित, जिफन्ट तथा जेटियुसीसीका अध्यक्ष विष्णु रिमालको मे दिवस–२०१५ को सन्देश/ मे १ साँझको शोक सभामा दिइएको मन्तव्य)
मे १, २०१५/ २०७२।०१।१८ गते