February 3rd, 2022
एमाले उपमहासचिव विष्णु रिमालकै शब्दमा भन्ने हो भने सत्तारुढ गठबन्धनका नेताहरुले एमसीसीमा रमिता देखाइरहेका छन्, एमाले पनि रमिता हेर्ने मूडमा छ । भन्छन्, ‘उहाँहरुले रमिता देखाइरहनुभएको छ भने हामीले गर्ने के त ?’ यद्यपि चुनावमा जाँदा एमसीसीबारे एमालेले प्रष्ट आफ्नो मान्यता राख्ने समेत उनले बताए ।
प्रस्तुत छ, सरकारको कामकारबाही, स्थानीय निर्वाचन, चुनावी तालमेलको सम्भावना र एमसीसीबारे एमाले उपमहासचिव रिमालसँग अनलाइनखबरकर्मी राजकुमार श्रेष्ठ र बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :
एमालेले ४१ महीना सरकारको नेतृत्व गर्दा तपाईंले प्रधानमन्त्रीको कोर टीममा रहेर काम गर्नुभयो । अहिले ६/७ महीनादेखि कांग्रेस नेतृत्वको सरकारले गरिरहेको काम प्रतिपक्षमा रहेर हेरिरहनुभएको छ । मूल्यांकन कस्तो छ ?
अहिलेको सरकारबाट काम भएन भनेर टिप्पणी गर्नु नै बेकार हुन्छ । किनकि यो काम गर्न आएको सरकार होइन । काम नगरेको भनेर कसैले गुनासो गरेको पनि सुनिन्न ।
हामीले काम नगर्दा बेस्सरी गुनासो आएको थियो, किनभने हामीसित अपेक्षा थियो । हामी काम गर्यौं भन्थ्यौं, मान्छेहरुलाई चित्त बुझ्दैनथ्यो । सयमा डेढ सय प्रतिशत गरोस् भन्ने अपेक्षा थियो ।
यो सरकारले चाहिं काम नगरेको भए सिद्धिहाल्यो, तर बिगार्दै गयो । अर्थतन्त्र चौपट्टै भएको छ । विज्ञहरु नै चिन्तित छन् । अहिलेको अर्थमन्त्रीले अर्थतन्त्रै बुझ्नुहुन्न । अर्थतन्त्र बुझ्नैपर्छ भन्ने छैन, राजनीति बुझे पुग्थ्यो । तर उहाँले वरिपरि राखेकाहरुले पनि अर्थतन्त्र बुझ्दैनन् । योग्य मान्छे फ्याँकिएका छन्, अयोग्यलाई राखिएको छ । उहाँलाई त सजिलो होला, तर मुलुकको अर्थतन्त्र डुब्ने भयो । विदेशी मुद्रा सञ्चिति घट्दैछ ।
हामीले सरकार चलाउँदा लक्ष्य निर्धारण गरेका थियौं । प्रधानमन्त्रीले मन्त्रीसित कार्यसम्पादन सम्झौता गर्ने हो भनेर प्रश्न पनि आयो, तर त्यो गर्नैपर्ने थियो । अहिलेको सरकारले पनि गर्नुपर्थ्यो । परिणाम के ल्याउने भनेर कार्यकारी प्रमुखले सोचेन भने मुलुक चल्दैन । तर, उहाँहरुले केही गर्नुभएन । हामीले कार्यसम्पादन करार गरेर तीन–तीन महीनामा समीक्षा गर्दा त परिणाम ल्याउन गाह्रो पर्ने मुलुकमा, जसलाई जे मन लाग्छ त्यही गर्दा परिणाम के आउँथ्यो र !कांग्रेसका सभापति शेरबहादुर देउवाजी अलिकति जीउ तन्काउँ भने जबर्जस्ती जोडिएका प्वाँखहरु झर्लान् भन्ने चिन्ता छ । जोगाएर राखौं, हिंड्नै सकिंदैन । उहाँको हालत यस्तो छ ।
६ महीना अर्थतन्त्र लयमा नहिंड्दा अहिले हामी अप्ठ्यारोमा छौं । यो सरकारले समयमै चुनाव गर्यो भने अर्को फागुनसम्ममा नयाँ सरकार आइसक्ला । यो एक वर्ष यसरी नै चलाइरहँदा कति बिगार होला, कल्पना गरौं । तर बिग्रियो भन्ने अनुभूति उहाँहरुलाई छैन, यो चिन्ताजनक कुरा हो ।
तपाईंले भनेको जस्तो बिग्रिनुको कारण के होला ?
राजनीतिक प्रतिशोधमा बनेको सरकार हो यो । जे उद्देश्यले सरकार बन्छ, त्यही हुन्छ । सरकारमा जानासाथै हामीले विकासको एजेण्डा अगाडि बढायौं । हाम्रा कतिपय एजेण्डालाई अति महत्वाकांक्षी भनेर तपाईं मिडियाहरुले प्रश्न गर्नुभयो । हामीले जनतामा सपना जगाउन महत्वाकांक्षी हुनुपर्छ भन्यौं ।
घोषणापत्र जारी गर्दा ‘सुखी नेपाली, समृद्ध नेपाल’ भन्यौं र सरकार बन्नासाथ ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेर सैद्धान्तीकरण गर्यौं । सबैलाई अधिकार हुनुपर्छ, अवसरमा सबैको पहुँच हुनुपर्छ, समानता, सुरक्षा र सम्मान हुनुपर्छ भन्यौं । यी पाँच विषयलाई परिपूर्ण लोकतन्त्रको मापक मान्यौं ।
हामीले दिगो विकास लक्ष्यसँग जोडिन सोच नै फेरिनुपर्छ भन्यौं । गंगाको कलकत्ता पोर्टबाट हिंडेको पानीजहाज धादिङमा ल्याउने परिकल्पना गर्यौं । तर, अहिलेको सरकारको योजना के त भन्दा केपी ओलीलाई सडकमा पुर्याउने, एमालेविहीन मुलुक बनाउने । जसको जे एजेण्डा छ, त्यही हुनेभयो नि त !
‘टालाटुली बटुली’ गठबन्धन छ । उपेन्द्र यादवजी अस्तित्वका लागि लडिरहनुभएको छ । जसपा सधैं विग्रह हुने पार्टीभित्र पर्छ । प्रचण्डजी पनि अस्तित्व रक्षाको लडाईंमा हुनुहुन्छ । कुनै समय प्रचण्डको रापतापले दुनियाँ नै डढ्छ कि जस्तो थियो । अहिले आफैं घाममा सेकिंदै हिंडिरहनुभएको स्थिति छ । हाम्रो पार्टीबाट जानुभएको माधव नेपालजी कसरी आफ्नो उपस्थिति देखाउने भनेर लागिरहनुभएको छ ।
संसदको दोस्रो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजी यी सबैलाई बोकेर हिंडिरहनुभएको छ । अलिकति जीउ तन्काउँ भने जबर्जस्ती जोडिएका प्वाँखहरु झर्लान् भन्ने चिन्ता छ । जोगाएर राखौं, हिंड्नै सकिंदैन । उहाँको हालत यस्तो छ ।
राजनीतिक नेतृत्व हल न चलको अवस्थामा हुँदा ब्युरोक्रेसीले पनि साथ दिंदैन । भिजन भएको राजनीतिक नेतृत्व भए आफ्नो ‘डिफिरेन्सेस’ भए पनि सँगसँगै दौडिने प्रयत्न गर्छ, नत्र जोखिम लिंदैन । जागीर पकाएर बस्छ । अहिले त्यही भइरहेको छ ।
त्यसमाथि प्रमुख प्रतिपक्षी एमालेले संसद चल्न दिंदैन, सर्वदलीय बैठकमा पनि जाँदैन । असहयोगी प्रतिपक्षका कारण सरकारलाई झन् चर्को पर्यो नि, हैन ?
सत्तापक्षले एमालेविहीन मुलुक बनाउने भनिरहँदा एमालेले ‘हुन्छ मलाई सिध्याउनुस्’ भनेर किन साथ दिन्छ ? दशैंको बोकालाई झैं पानी छम्किएपछि प्रतिपक्षले ‘हुन्छ काट्’ भनेर टाउको हल्लाउँदैन नि । फेरि, संसद र सरकारबीच कुनै तालमेल पनि छैन । उहाँहरुसँग के छ त एजेण्डा अहिले संसदबाट गर्न ?
कानूनहरु बनाउनुपर्ने छ नि त ?
कुनै कानून ल्याउनुभएको छैन । संसदमा एमालेले अवरोध गरेको छ, ‘ब्लक’ गरेको छैन । सत्तापक्षले चाहेको काम खुईखुई भइराखेको छ । नत्र हाम्रो दल नै फुटाउने विधेयक कसरी पास भयो ? अध्यादेश कसरी आयो ? प्रतिस्थापन विधेयक कसरी पास भयो ? किनकि बजेट त पहिल्यै आएको थियो ।
तर, स्पन्ज आइरन इत्यादिमा अन्तशुल्क र भन्सार महसुल हेरफेर गर्ने गरी प्रतिस्थापन विधेयक ल्याउनुभयो । करोडौंको चलखेल भयो भन्ने छ । अर्थ मन्त्रालय जस्तो नियामक निकायमा भद्रगोल भइराखेको छ । यो त हामीले संसद अवरुद्ध गरेर भएको होइन ।
उहाँहरुलाई मन लागेको गर्न एमालेको अवरोधले रोकेन । उहाँहरुलाई कुनै बहाना चाहिंदा, अरुलाई अपजस दिएर जोगिनु पर्दा एमालेले अवरोध गरेको छ, त्यसकारण सकिएन भनिरहनुभएको छ । त्यसकारण राजनीतिको अन्तर्वस्तु बुझ्नुपर्छ भन्ने लाग्छ ।
तपाईंहरु सरकारमा हुँदा प्रतिपक्षी कांग्रेस सुते जस्तै थियो । अहिले त्यसको गुन तिरेको भए हुन्थ्यो कि ?
कांग्रेस त नक्कली पार्टी खडा गरेर एमाले सिध्याउने, एमालेको नेतृत्व समाप्त पार्ने, एमालेविहीन मुलुक बनाउने भनेर आयो । हाम्रो सरकारको पहिलो नीति तथा कार्यक्रम पास गर्दा उहाँहरुले विरोध गर्नुभएन । अनि हामीले सद्भावपूर्ण ढंगले कांग्रेसलाई प्रतिपक्षी पनि मान्दैनौं, सहयोगी पार्टी हो भन्यौं । हामीले जस दिन त्यसो भनेको हो, तर उहाँहरुले हामीलाई स्याटलाइट भन्यो भनेर बुझिदिनुभयो ।
उहाँहरुको अर्को आरोप छ– लोकतन्त्र खुम्चिंदै गयो भन्ने । म अहिले पनि भन्छु, हामीले सरकारमा हुँदा जे थालेका थियौं, त्यसलाई शेरबहादुरजीले निरन्तरता दिनुपर्थ्यो । तर उहाँले न रोक्नुभयो, न निरन्तरता दिनुभयो ।
जस्तो, हामीले ब्युरोक्रेसीमा पुनर्संरचना गर्दा राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग लगायत नियामक निकायलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याउनुपर्छ भन्यौं । त्यही गर्यौं पनि । जुनसुकै पार्टीको जोसुकै प्रधानमन्त्री होस्, गर्नुपर्ने यही हो । कार्यकारीले प्रभावकारी ढंगले काम गर्न पाए न परिणाम आउँछ । तर अहिलेको गठबन्धनका साथीहरुले यो कुरा बुझ्दा पनि बुझ्नुहुन्न । भिजन छैन, आँट पनि छैन ।
प्रदेश सरकारहरु हेर्नुस् त ! काम गरे हुन्थ्यो नि, तर केही गरेको छैन । पूँजीगत खर्च ४ प्रतिशत पनि भएको छैन ।
यी सब बेथितिको शुरुआत तपाईंहरुकै सरकारको पालामा भएको होइन र ?
हामीले ठीक ढंगले चलाएका थियौं । तथ्यांकमै भन्ने हो भने मुद्रास्फीति २.५ प्रतिशतमा छाडेको हो, अहिले ७ प्रतिशतमा पुगेको छ । कोरोना महामारीमा पनि टिक्न सक्ने अर्थतन्त्र छोडेका थियौं । विदेश जाने मान्छे घट्दा पनि विप्रेषण बढेको थियो । अहिले विदेश जाने बढेका छन्, तर विप्रेषण घटेको छ । बिचौलिया, हुण्डी तस्करी चलेको छ । यो ६ महीनाको बीचमा भएको भद्रगोलको कारण खोजौं भन्छु म ।
अर्थमन्त्री जनार्दन शर्माजी कुनै समय नेकपामै हुनुहुन्थ्यो, असलै साथी हुनुहुन्थ्यो । अहिले पार्टी फरक पर्यो भन्दैमा किन गाली गर्नुपर्यो र ? शेरबहादुर देउवा र केपी शर्मा ओली साथी हो, जेलमा सँगै बस्नुभएको उहाँहरुबीच तिमी चल्छ । तर नीतिमै समस्या देखिएपछि प्रश्न उठाएका हौं ।
जनताबाट म्याण्डेट पाएको सरकारले अवसर सदुपयोग गर्न नसक्दा यस्तो सरकार बन्ने अवस्था आयो । यसमा त तपाईंहरु जिम्मेवार होइन र ?
सप्रिंदा मेरो हात थियो, अहिले बिग्रिएको तेरो टाउकोमा हाल्छु भन्ने मापदण्ड हुँदैन । विगतमा बिरामी, पार्टीबाट चौतर्फी हमला हुँदा गरेका कामलाई ख्याल गरिएन । त्यति हुँदा पनि हामीले जोगाएछौं यसमा धन्यवाद पाउनुपर्ने होइन र ? तर केपी ओलीले गरेको कामलाई राम्रो भन्न धेरैलाई कब्जियत भएझैं भयो ।
प्रचण्डजी र माधव नेपालजीको कारणले गर्दा हाम्रो अवसर गुम्न गयो । त्यसमा हाम्रो कति अपजस हिसाब गरौंला, तर गरेको त उहाँहरुले नै हो ।
२०१५ सालमा बीपीले दुई तिहाइ बहुमत पाउनुभयो, तर उहाँको सरकार ढल्यो । उहाँले जेल बस्नुपर्यो । त्यो अवसर गुम्यो, ३० वर्ष मुलुक पञ्चायती व्यवस्थामा गयो । पुनः बहुदल आएपछि २०४८ सालमा गिरिजाप्रसादले अर्को मौका पाउनुभयो । विभिन्न कारणले तीन वर्षमा उहाँको शासन पनि गयो । हामीले सरकार बनाउने अवसर पाउँदा त्यस्तो अपजसबाट जोगिनुपर्छ भन्यौं । तर, जसरी बीपीको पालामा मात्रिका आदि इत्यादिले अप्ठ्यारो पारे, जीपी (गिरिजाप्रसाद कोइराला) को पालामा कृष्णप्रसाद र गिरिजाप्रसादको अनमेल आदिका कारण कांग्रेसले सत्ता टिकाउन सकेन । हाम्रोमा पनि त्यही दोहोरियो ।
बीपीलाई महामानव भन्नुपर्ने, गिरिजाप्रसादले गर्न खोजेको थियो भन्नपर्ने तर केपी ओलीले नगर्न खोजेको थियो भन्न मिल्छ जस्तो लाग्दैन । हाम्रो तर्फबाट गर्ने प्रयत्नहरु गरेकै थियौं, इतिहासमा मूल्यांकन होला ।
हुँदा खाँदाको प्रतिनिधिसभा विघटन गर्नु त फरक कुरा होला नि !
जम्मै हुँदा खाने त हो नि ! तपाईं कार्यकारी प्रमुख हुनुहुन्छ, हटाएर म बस्छु भन्दा को चुप लागेर बस्छ ? तपाईं अन्तर्वार्ताका लागि आउनुभएको छ, तपाईं जानुस्, अर्कोलाई दिन्छु भन्दा मान्नुहुन्छ ? मैले भन्दा बाैद्धिक वृत्त, मिडियाका साथीहरु चित्त दुखाउनुहुन्छ, तर अरुले केही नगर्दा परिपूर्ण राष्ट्रवाद, केपी ओलीले नाकाबन्दीको विरोध गर्दा खोक्रो राष्ट्रवाद कसरी भयो ?
केपी ओलीको नेतृत्वमा नेपालको नक्शा फेरिंदा नक्कली राष्ट्रवाद हुने, अरुले उत्तरी चेकपोष्टमा लगेर भारतीय सेना सिपाही राख्दा पनि महान् राष्ट्रवादी हुने ? मैले बुझिरहेको छैन । आउने पुस्ताले पनि सोध्ला, छलफल होला । अहिले इतिहासप्रति धेरै अन्याय गर्न हुँदैन भन्ने हो ।
प्रधानमन्त्री छँदा वा नेकपाको अध्यक्ष हुँदा केपी ओलीले जे–जे गर्नुभयो त्यसको मूल्याङ्कन हुँदै गर्ला । तर, ओली र देउवाको ‘वेभलेन्थ’ मिल्छ भनिन्छ, तपाईंले पनि भन्नुभयो । अहिले हेर्दा एमालेले कांग्रेसलाई भन्दा एकीकृत समाजवादी र माओवादीलाई बढी पेलेको जस्तो, धेरै टोकसे जस्तो देखिन्छ नि ?
अदालतले फैसला नगरेसम्म समाजवादी भनेर दल नै मान्दैनौं । नक्कली कागज बनाएर, नक्कली ढंगले सिर्जना गरेका संरचनालाई हामी मान्दैनौं । अहिले सदनमा हाम्रो विरोध पनि यही हो ।
राष्ट्रपतिलाई विशेष आसन बनाएर, निम्ता गरेर ल्याएर प्रतिनिधिसभामा उपस्थित गराउन पाइन्छ । उपराष्ट्रपतिलाई बालकोनीमा लगेर राखिन्छ, तल आउन पाउनुहुन्न । त्यो ठाउँमा माधव नेपालको नेतृत्वमा १४ जना गैरसांसद आएर बसे भन्ने हाम्रो दाबी छ, यसमा सभामुखले जवाफ दिनुपर्छ । एउटा दलले रामबहादुर थापा लगायतलाई कारबाही गर्यो भनेर तुरुन्त सूचना टाँस्नुभयो, हामीले कारबाही गरेको सूचना दिंदा चाहिं किन कुहाएर राखेको ?
अझ उल्टो रातारात अध्यादेश ल्याउने काम भयो । अध्यादेश आउनै हुन्न भन्ने होइन, आउनुपर्छ तर, त्यसको ‘लजिक’ हुनुपर्छ । सांसदहरुको ४० प्रतिशत पुग्छ भने पार्टी फुटाउन सक्ने गरी कोको सट्टा वा बनाउँदा हामी गैरलोकतान्त्रिक, प्रतिगामी भनेर डामिएका छौं । अहिले त्यो संख्या घटाएर कति जना भए पुग्छ, केन्द्रीय कमिटीतिर हेरिदिने कि संसदतिर ? भनेर सोधीसोधी अध्यादेश ल्याउने काम भयो । दल फुटाएपछि फिर्ता लिने काम भयो । यस्तो झेली काममा हाम्रो विरोध हो । सभामुख चाहिं हामी उठेपछि बस्नुस् माननीयज्यू भन्नुहुन्छ । गैरसांसद अगाडि छन्, हामी कसरी बस्नु ?
निर्वाचन आयोगले पनि बेठीक गर्यो भनेर हामीले मुद्दा दिएका छौं । तर सर्वोच्चमा पेशी सरेको सर्यै हुन्छ । फैसला गरिदिए हामी एक झमटमा माधव नेपालहरुको पार्टीको हैसियतबारे सोच्छौं । चुनाव हुँदा कसैले पनि पार्टी खोलेर भाग लिन पाउँछ । उहाँहरु हाम्रोभन्दा धेरै मत ल्याउन, हाम्रो भन्दा कम ल्याउन वा जिरोमा आउन पनि सक्नुहुन्छ । त्यसपछि दल मान्न गाह्रो भएन । आजको मितिमा चाहिं संसदमा नभएको दललाई दल मानिरहेका छैनौं ।
संसदीय समितिहरुमा सभापति, सदस्य र सरकारमा मन्त्री मान्ने, निर्देशन पनि दिने, तर बानेश्वरको संसद भवनमा पार्टी नमान्ने दोहोरो मापदण्ड भएन र ?
मन्त्री भएर आइसकेपछि मान्न केहीले पनि रोक्दैन ।
मिनी संसदमा पनि छलफल गर्नुहुन्छ नि ?
संसदीय समितिमा गैरसांसद पनि जान्छन्, तपाईं पत्रकार पनि जान पाउनुहुन्छ । प्रतिनिधिसभामा जो पनि जान पाउँछन् भने हामीलाई आपत्ति भएन । कानून फेर्नुस्, संविधान फेर्नुस् अनि जान नपाउने कुरा पनि हामी मानि दिउँला । अथवा परमादेश जारी गरे जसरी नै ‘माधव नेपाल इज द ग्रेट म्यान, हि ह्याज अ गुड पार्टी’ भनिदिनुस् अनि मानिदिउँला ।
तपाईंहरुको प्रतिस्पर्धा त नेपाली कांग्रेससँग होला, उसप्रति सदासयता देखाउनुहुन्छ । माधव नेपालको पार्टी, जसको हैसियत चुनावमा देखिन्छ भन्नुहुन्छ, उसलाई चाहिं टोकसिरहनुहुन्छ, किन ?
लोकतन्त्रमा पार्टीसँग प्रतिस्पर्धा गरिन्छ । आफू समानको पार्टीसँग कुस्ती पनि खेलिन्छ । नक्कलीसँग चाहिं समावेशी भइन्न के ! माधव नेपालप्रति तपाईंहरुको यति धेरै लगाव किन हो, मैले बुझ्न सकेको छैन के ! २० प्रतिशत बनाएर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको त हो नि । रातारात ल्याएको हो नि !
त्यो तथ्यलाई त कसले अस्वीकार गरेको छ र ?
त्यही तथ्यमा टेकेर हामीले बेठीक भयो, यसलाई एउटा किनारामा पुर्याउनुपर्यो भनिरहेका छौं । व्यक्तिगत रुपमा के पूर्वाग्रह छ र ! माधव नेपालकै कुरा गर्छु नि म । उहाँ १५ वर्ष त हाम्रो पार्टीको प्रमुख भएर बस्नुभएको हो नि !
तपाईं त झन् नजिक भएर काम गरेको हैन त ?
हाम्रो नेता नै हो, त्यसमा लुकाईछिपाई के छ र ! उहाँ एमालेमा रहुञ्जेल कि नम्बर टू भएर रहनुभयो कि नम्बर एक भएर । उहाँसँग सहमत भएर होस् या असहमत हुँदा, काम गरेकै हौं । त्यसमा हामीले टिप्पणी गरेका पनि छैनौं । व्यक्तिगत रुपमा उहाँप्रति आग्रह पूर्वाग्रह पनि छैन । आजको कुरा व्यक्तिगत होइन, राजनीतिक हो ।
राजनीतिक कुरा भएकाले हामीलाई एउटा बाटोबाट हिंड्न दिनुपर्यो । एमालेप्रति पूर्वाग्रह राख्न जरुरी छैन, सभामुखले माधव नेपालसहित १४ जनालाई सांसदबाट निकालेको सूचना टाँसेर निकास दिनुपर्यो । हाम्रो चिन्ता माधव नेपाल र उहाँको पार्टी होइन । चुनाव आइसक्यो, कांग्रेससँग प्रतिस्पर्धा गर्ने हो । माधव नेपालसँग के छ ?
एमालेले आफ्नो चुनाव लडिहाल्छ, त्यसमा चिन्ता नगर्नुस् । हिजो पनि सबैको गठबन्धन थियो, हामीले फेस गर्यौं । कसैले मतपत्र च्यातेर जिते, कसैले मतपत्र चपाएर जिते । तैपनि, हामी नै नम्बर एक भयौं । अब पनि त्यस्तै गठबन्धन भएर चुनाव लड्न आउँछन् भने हामीलाई आपत्ति छैन । हामी कमजोर नै रहेछौं भने हारौंला नि त ! त्यो त चुनाव लडेपछि थाहा भइजान्छ ।
माधव नेपाल वा प्रचण्डको पार्टीसँग तालमेल गर्नसक्ने स्थिति आउँदा गर्नुहुन्छ कि गर्नु हुन्न ?
पार्टी नै नमानेको पार्टीसँग के को तालमेल ? तालमेल हुँदैन, गालमुखाल पनि हुँदैन ।
माओवादी केन्द्रसँग चाहिं ?
माओवादी त कहिले कांग्रेससित छ । उहाँहरुको गठबन्धनको दीर्घजीवनकै कामना गर्छौं ।
२०७४ मा पनि यसै भन्नुहुन्थ्यो । असोज २ गतेसम्म उहाँहरु कांग्रेससँग हुनुहुन्थ्यो, १७ गते तपाईंहरुले गठबन्धन बनाएर चुनाव लड्ने मात्र होइन, पार्टी एकताकै घोषणा गर्नुभयो…
(हाँस्दै) यो प्रश्न चाहिं प्रचण्डजीलाई सोध्नुपर्छ क्या ! उहाँ किन कहिले यता कहिले उता दौडिरहनु भन्या नि ।
फेरि दौडिएर यता आए स्वीकार गर्नुहुन्छ होला नि चुनावको बेला ?
अहिले त हामी गठबन्धनसँग भिडिरहेका छौं । गठबन्धन नटुटेसम्म केही भन्दैनौं ।
गठबन्धन टुटाउन भित्रभित्रै लाग्नुभएको छ हैन ?
गठबन्धन उहाँहरुले रहरले बनाउनुभयो वा अर्कैले बनाइदियो ? त्यसमा पनि उहाँहरुलाई किन दोष लगाउने ? परमादेशबाट या कुन–कुनको आदेशबाट बनेको छ, किन प्रचण्ड र शेरबहादुरजीसँग पाखुरा सुर्किने ? जसले बनाइदियो, बनाइदियो । बनेको ठाउँमा उहाँहरु जानुभयो । संसदले प्रधानमन्त्री बनेपछि थाहा पायो ।
म त प्रधानमन्त्रीको शपथ लिएर आएँ है भनेपछि ल, ल विश्वासको मत भयो भन्दै १६५ जना उभिए । जसले बनाइदियो, बनेको ठाउँमा उहाँहरु हुनुहुन्छ । त्यसलाई हामीले चलाउन चाहेका छैनौं ।
के मात्र भनिरहेका छौं भने तपाईंहरुले एमालेविहीन मुलुकको कल्पना गर्नुभएको छैन भने एमालेसँग प्रतिस्पर्धा गर्ने आँट गर्नुस् । २०७९ जेठ ५ गते मध्यरातसम्म जनप्रतिनिधि निर्वाचित गरिसक्नुपर्छ भनेर स्थानीय तह निर्वाचन ऐनले भनेको छ । त्यसअनुसार निर्वाचन गरौं, हामी हार्यौं भने त्यो पनि कब्जा गर्नुस् ।
अहिले केन्द्र र प्रदेशमा तपाईंहरुकै सरकार छ, स्थानीय तह पनि चलाउनुस् । हामीले जित्यौं भने कुरा के रहेछ, तपाईंहरुले बुझिहाल्नुहुन्छ । त्यसपछि उपयुक्त समयमा प्रदेश र केन्द्रको चुनाव गराउनुस् ।
गठबन्धन टुटाए एमसीसी पास गर्न सघाउने, सरकार जोगाइदिने आश्वासन एमालेले प्रधानमन्त्री देउवालाई दिएको छ रे नि ?
फ्लोरबाट समर्थन गर्न तयार, एमसीसी पास गर्न पनि तयार– यो तपाईंले भनेको कुरा भयो । एमसीसीबारे कुरा गर्न खोज्नु भएको हो भने त्यसको पनि उत्तर दिउँला ।
अहिले त यति मात्र भनिरहेका छौं, गठबन्धन सरकारले ‘ठगबन्धन’को मर्म देखाएन । ‘ठगबन्धन’ मेरो शब्द त होइन, सामाजिक सञ्जालमा प्रयोग गरेको देखेर प्रयोग गरें । गठबन्धनले आफ्नो मर्म–धर्म अनुसार मुलुक चलाओस् । विकासको त आश छैन, सरकारमा बसेका कारण नगरी नहुने चुनाव गरोस् । त्यसपछि आउने परिणाम भोग्न तयार होस् ।
होइन, उहाँहरुबीचमा गडबडी छ भने त्यो उहाँहरुले भन्नुपर्यो । प्रचण्डजी, माधव नेपालले ‘हाम्रो गठबन्धन नटुट्ने भयो, शेरबहादुरजीले भन्नुभयो’ भनेको सुनें । कसले टुट्छ भनेको छ र स्पष्टीकरण दिएको ?
तपाईंहरुले टुटाउन खोजेको भन्ने छ…
हामीले त गठबन्धन नबनोस् भनेको हो, तर कसैले बनाइदियो । मेरो त यो आरोप छ ।
धेरै पटक भन्नुभयो, गठबन्धन बनाइदिने अर्को भनेको को हो ?
परमादेश । परमादेशभित्र को–को हुनुहुन्छ, मलाई थाहा छैन । देखिनेमा सर्वोच्चका पाँच जना श्रीमान् हुनुहुन्छ ।
निर्वाचनको कुरामा २०७४ को जस्तो अवस्था छ छैन होला अहिले । तिमीहरु सबै मिलेर आउँछौ भने आउ, एक्लै लड्छौं भन्नु त दम्भ भएन र ?
एमालेको उपमहासचिव बोल्छु है म । २०७४ को भन्दा पटक्कै कमजोर छैन एमाले । हामी अझ बलियो छौं भन्ने लागेको छ । बाहिरबाट हेर्ने पर्यवेक्षक, भोट दिने साथीहरुलाई एमाले त्यस्तो बलियो छैन भन्ने लागेको भए चुनाव गरौं न । हामीले भनिरहेको भन्दा तलमाथि भएछ भने दम्भको कुरा हुने होला । हामीले भने जस्तै परिणाम आएछ भने हाम्रो विनम्रता ठहरिएला ।
उहाँहरुको पक्षमा लहर आएको भए गठबन्धन किन आत्तिएको ? आत्तिनुको कारण त होला । हाम्रो आधार त्यही हो ।
चुनावमा एमालेले गठबन्धन चाहिं गर्दैन त ?
तामातुलसी भाकेर कोहीसँग मिलिंदैन, एक्लै जाने हो भनेर त किन भन्नुपर्यो र !
एमालेले एक्लै लड्छौं भन्दाभन्दै राष्ट्रिय सभा चुनावमा हार्ने निश्चित भएको मधेश प्रदेशमै लोसपासँग गठबन्धन गर्नुभयो नि ?
राष्ट्रिय वा स्थानीय चुनावमा गठबन्धन हुनसक्छ । हामीले ‘रुलआउट’ गरेको छैन ।
माओवादी केन्द्र र एकीकृत समाजवादीसँग चाहिं गठबन्धन गर्दैनौं भनेर तामातुलसी छुन सक्ने होला, होइन ?
हामीले पार्टी नै नमानेको त्यो एकीकृत समाजवादीसँग त तालमेल हुँदैन नै, कांग्रेसलाई स्वच्छ प्रतिस्पर्धा गरौं भनिरहेका छौं । अस्वच्छ गर्नुभयो भने कांग्रेसलाई लोकतान्त्रिक पार्टी होइन रहेछ भनौंला । अरु त ‘स्याटेलाइट पार्टी’का रुपमा दौडिरहनुभएको छ । भन्यो भने चित्त दुखाउनुहुन्छ, त्यसैले धेरै नभनौं ।
तपाईं त होइन भन्नुहुन्छ, तर तपाईंहरुको अध्यक्षले प्रधानमन्त्रीलाई गठबन्धन टुटाए एमसीसी पास गर्न सहयोग गर्छु, अरु चुनाव पनि तपाईंकै नेतृत्वमा गरौं भन्नुभएको छ रे नि ?
हाम्रो अध्यक्षले प्रधानमन्त्रीसँग के–के भयो भनेर ब्रिफिङ गर्नुभएको छैन । बुधबार सचिवालयको बैठक छ, त्यस्तो केही रहेछ भने भन्नुहोला ।
मेरो सहज अनुमान चाहिं के छ भने सरकारमा काम गर्नै आएको होइन, गर्नु भएन भनेर किन भन्ने भन्नुभयो होला । दोस्रो, मित्रका हिसाबले सदाशयपूर्ण रुपमा तपाईं पटक–पटक संविधान कानून उल्लंघन गरेको, प्रतिगमनलाई सघाउ पुर्याएको भनेर डामिंदै आउनुभएको छ, अब चाहिं जोगिनुहोला भन्नुभयो होला ।
शेरबहादुर दाइमा पनि त्यो महसूस हुनुपर्ने हो, तर प्रशस्त द्विविधा देख्छु । महामन्त्री गगन थापा लगायतले चुनाव हुनुपर्छ भनेको सुन्छु, कांग्रेसकै केही व्यक्तिले त्यसरी प्रष्ट ढंगले बोलेको सुन्दिनँ । कांग्रेस हाम्रो प्रतिस्पर्धी पार्टी हो । उसको जितमा हाम्रो पराजय र हाम्रो जितमा उसको पराजय निश्चित छ ।
तपाईंहरु ढुक्क भएको चाहिं आगामी निर्वाचनमा एमालेलाई दोस्रो हुनबाट कसैले रोक्न सक्दैन भनेर हो ?
पहिलो, दोस्रो जे भए पनि लोकतन्त्रमा निर्वाचन त ‘फेस’ गर्नुपर्यो नि ! त्यो नभई लोकतन्त्रवादी भइन्न नि ! पार्टीभित्र मलाई आलोचना गर्नेहरु वडाध्यक्ष त लडेको छैन, यो केको लोकतन्त्रवादी भन्छन् । सबै चुनाव लड्दैनन्, तर आरोप लगाउन पाउँदा यतिसम्म भन्छन् भने लोकतान्त्रिक पार्टी चुनावदेखि किन डराउँछन् त ?
त्यसमाथि, एमाले त कम्युनिष्ट आन्दोलनलाई लोकतन्त्रीकरण गर्ने मूल प्रवाह हो । जित, हार जे भए पनि चुनावप्रति हाम्रो विश्वास छ । राष्ट्रय सभा निर्वाचनको परिणाम के आउँछ, हामीलाई थाहा थियो, तैपनि फागुन २१ पछाडि गर्ने भनेनौं । विधि हो, अगाडि नै गर्ने, फाुगन २१ गते शपथ गराउने भनेर चुनाव गर्न सहमत भयौं । अहिले यही कुरा गठबन्धनका साथीहरुलाई बुझाउन सकिरहेका छैनौं वा बुझेर पनि बुझपचाइरहनुभएको छ ।
छँदाखाँदाको प्रतिनिधिसभा भंग गरेर १३ महीना अगाडि नै चुनावमा जान चाहेको, चुनावमा अडिग त देखिनै पर्यो नि हैन ?
एकदम ठीक हो । यो जनमतले काम गर्दैन, चुनावमा जाउँ भनेकै हो । अहिले अदालतले नै हुँदैन, पाइँदैन भन्यो भने मानिदिउँला । हामीलाई चाहिं भद्रगोल हुन्छ भनेर त्यही बेला लागेको हो ।
ल प्रतिनिधिसभालाई छाडिदिऊँ । गठबन्धनका साथीहरु एमालेलाई उभ्याएर हामीले चाहेको काम गरेका छौं भन्नुहुन्न । दोष हाम्रै टाउकोमा हाल्दा पनि हामीले छोडेर बन्ने सरकारले वरको सिन्को पर सार्दैन भन्ने त सही नै रहेछ नि ! ६ महीनामा एउटा ठूलो परियोजना शुरु भएको देख्नुभएको छ तपाईंहरुले ?
तपाईंहरुले बिगारेको राजनीति सच्याउँदैमा भ्याईनभ्याई होला नि त ?
उहाँहरुले झन् बिगार्दै हुनुहुन्छ । धेरै आलोचना गरेजस्तो हुन्छ, त्यता नफर्कौं ।
एमसीसीमा चाहिं एमालेले के गर्छ ? पहिला संसदबाट आजै पास गरौं, भोलि नै पास गरौं भन्नेमा हुनुहुन्थ्यो, अहिले धरमर–धरमर देखियो नि ?
धरमर होइन, अहिले हामी बोलेका छैनौं । पहिले विकासको एजेण्डा र पूर्ववर्ती सरकारले गरेको कामको निरन्तरताका रुपमा अगाडि लगेका थियौं । विदेशी मुलुकसँग गरेका सन्धिसम्झौतालाई निरन्तरता दिनु सरकारमा बस्नेको दायित्व हुन्छ । त्यसअघि बजेटमा पसेकै थियो । हाम्रो एमालेमा विवाद थिएन, नेकपा भएपछि विवाद शुरु भयो । त्यो बेला माधव नेपाल एमसीसीको विपक्षमा भए जस्तो लाग्दैन, अहिलेको ‘पोजिसन’ थाहा छैन ।
झलनाथ खनालजीको पालामा एमसीसीको प्रक्रिया शुरु भएर प्रचण्डजी, शेरबहादुरजी हुँदै फेरि शेरबहादुरजीको पालामा सम्झौता भयो । हामीले त सबै मिलेर गरेका रहेछन् भनेर बुझ्यौं नि त ! अमेरिकीहरुले संसदमा लगेर पास गर्नुपर्छ भन्दा नेपालमा चाँड्चाँडै सरकार फेरिन्छ, एउटा सरकारले थालेर अर्को सरकारले रोकिदियो भने बर्बाद हुन्छ, त्यसैले काम थालेको पाँच वर्षमा सिध्याउनुपर्छ भन्ने सुनिश्चितता खोजेको हाम्रो बुझाइ रह्यो ।
त्यो बेलासम्म विकासको एजेण्डा थियो, त्यसरी नै छलफल हुँदै गयो । अब अहिले एमसीसी राजनीतिक एजेण्डा भयो । एउटाले अर्कोलाई डाम्ने एजेण्डाका रुपमा उहाँहरुले ल्याउनुभयो । अरुले राजनीति गरिरहेको बेला हामी चाहिं साेझो भएर लर्याङलुरुङ बोल्न जरुरी भएन । पहिला सत्ता गठबन्धनमा रहेकाहरुको ‘पोजिसन क्लियर’ होस्, अनि हामी बोल्छौं ।
उहाँहरुसँग १६५ सांसद छन् । प्रधानमन्त्री र सभामुखको पार्टीले पास गर्न चाहेको भए संसदमा प्रस्तुत हुन्छ । त्यो बेला विपक्षी दलहरुलाई वास्तै नगरे पनि पास गर्न सकिन्छ । प्रतिस्थापन विधेयक जसरी नै पास गर्न चाहने हो भने सक्नुहुन्छ । पास गर्न मन नलागेकाले अरुको टाउकोमा दोष थोपर्ने रमिता गरेको हो भने हामी पनि रमिता हेर्ने नै भयौं । बोल्न मिलेन नि त्यसमा ।
रमिता कि जोखना हेरिरहेको ?
जोखना होइन यो रमितै हो । उहाँहरुले रमिता देखाइरहनुभएको छ भने हामीले गर्ने के त ? होइन भने कांग्रेसले के गर्छ, औपचारिक निर्णय गरेर भनोस् । माओवादी केन्द्रले के गर्छ ? सभामुखको पार्टीको महत्वपूर्ण भूमिका हुन्छ । किनभने सभामुखले सबै दल वा गठबन्धनको सहमति नभई हुन्न भन्नुभएको छ ।
हामी एउटै पार्टीमा हुँदा प्रचण्डले नभनेसम्म मान्दिनँ भन्नुहुन्थ्यो । त्यो बेला कमरेड प्रचण्डलाई देखाउनुभएको थियो, अहिले गठबन्धनको सहमति भन्नुभएको छ । सभामुखले ‘मूभ’ नगरेसम्म त्यो टेबल नै हुँदैन । टेबल गर्ने तहमा नपुग्दासम्म केही दायित्व नभएका हामी बढ्ता बोलेर हलुका हुँदैनौं ।
चुनावी कार्डका रुपमा प्रयोग गर्न पाइन्छ भनेर कुरेको त होइन ?
यसमा चुनावको के कुरा रह्यो र !
राजनीतिक मुद्दा बनेपछि ‘प्रो’ कि ‘एन्टी एमसीसी’ भन्ने होला नि ?
एमसीसीको पक्ष वा विपक्षमा बोल्दा भोट तल–माथि पर्छ भन्ने लाग्दैन । एउटा सर्कलले यसलाई इस्यू बनाएको देखिन्छ, तर आमजनतामा चुनावी नारा बन्छ जस्तो लाग्दैन ।
बनेछ भने आफ्नो जे मान्यता छ, त्यो बोलौंला । यति चाहिं ढुक्क भए हुन्छ– एमालेले जिब्रो चपाएर बोल्दैन । महाकाली सन्धिबारे हाम्रो पार्टीमा विवाद थियो, पार्टी नै विभाजनमा गयो, तर यसबारे हामी बोल्न छोडेनौं । एमसीसीमा पनि हामीलाई ठीक लागेको छ भने ठीक भनौंला, बेठीक छ भने त्यही भनौंला ।
सत्तारुढ गठबन्धनले पास गरे बेठीक भनेर चुनावमा जाने, फेल भए गठबन्धन नै टुटिहाल्छ भनेर कुरेको त देखियो नि ?
तपाईंहरुलाई क्लियर भनिदिन्छु– सत्ताधारीले बोलेको भन्दा उल्टो बोल्दा भोट बढ्छ भन्ने ‘चिप पोलिटिक्स’ एमाले गर्दैन । आफ्नो ब्लालेन्स सिट लिएर निर्वाचनमा जान्छ, सरकारमा बस्दा यो गर्यौं, अब गर्न बाँकी यो छ भन्छ । एमालेलाई एजेण्डाको के दुःख छ र !
तस्वीरः शंकर गिरी/अनलाइनखबर
अनलाइनखबर । २०७८ माघ १९ गते २०:५३।‘एमसीसीमा हामी पनि रमिता हेर्ने नै भयौं’