Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

माओवादीप्रति जनतामा कुनै विश्वास छैन

March 19th, 2022

एमाले पहिले पनि एक्लै हो, अहिले पनि एक्लै हो । एमाले आफ्नो नीति कार्यक्रमअनुसार अघि बढ्छ । कोही मानिसहरुलाई हामीसँग कतै मिसिन मन छ भने हामी पछि सौचौंला ।

काठमाडौं-स्थानीय तहको निर्वाचन आउन अब ५६ दिन बाँकी छ । दलहरु पनि निर्वाचनमा होमिसकेका छन् । स्थानीय तहमा उम्मेदवार बन्न चाहनेहरुको दौडधुप पनि सुरु भइसकेको छ । साथै निर्वाचन नजिकिएसँगै दल अदलबदल पनि तीब्र हुन थालेका छन् ।

निर्वाचनमा गठबन्धन गरेर जाने वा एक्लै भन्ने बहस पनि उत्तिकै चर्चामा छ । पाँच दलीय सत्ता गठबन्धनभित्र निर्वाचनमा पनि गठबन्धन गर्ने वा सरकारमा मात्रै गठबन्धन गर्ने भन्ने बहस सुरु भइसकेको छ । तर कुनै ठोस निर्णय भने भइसकेको छैन । सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले चुनावी गठबन्धनका बारेमा निर्णय गरेको छैन ।

बाँकी दलहरु भने गठबन्धनकै पक्षमा छन् । सत्ता गठबन्धन चुनावमा पनि एक ठाउँमा रहे प्रमुख प्रतिपक्षी नेकपा एमालेका लागि निकै चूनौति हुने आकलन गरिएको छ । तर एमाले भने एक्लै गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको दावी गरिरहेको छ ।

कांग्रेससँग चुनावी गठबन्धन हुन नसके एमालेसँग तालमेल हुन सक्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले पनि राजनीतिक माहोल गर्माएको छ । नेकपा एमालेका उप महासचिव विष्णु रिमाल भने माओवादी केन्द्रसँग चुनावी तालमेलको सम्भावना नै नरहेको दावी गर्छन् ।

उनी भन्छन्, ‘एमालेलाई गठबन्धनको संस्कृतिसँग विश्वास छैन ।’ एमाले उपमहासचिव रिमालसँग स्थानीय तहको निर्वाचन तयारी, चुनावी गठबन्धन र समसामयिक राजनीतिकाबारेमा नेपालमञ्चकर्मी प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंश:

प्रचण्डले एमालेसँग चुनावी तालमेल हुन सक्ने बताएका छन्, त्यो सम्भावना देख्नुहुन्छ ?

यो त एमसीसी पारित गर्ने बेलाको कांग्रेस र माओवादीको प्रवृत्ति जस्तो भयो । एउटाले घ्यू बेच्ने, अर्काले तरबार बेच्ने जस्तो जाली काम भएको थियो, त्यतिबेला । अहिले पनि त्यस्तै भएको छ । सम्भवतः अहिले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही कुरा नमिले जस्तो देखिन्छ ।

अहिले एकले अर्कालाई कार्ड देखाएर बोल्न थाल्नुभएको हो । उहाँहरू कार्ड प्रयोग गर्न माहिर मान्छे हुनुहुन्छ । पहिला भारतको कार्ड, चीनको कार्ड, अमेरिकाको कार्ड प्रयोग गर्नुहुन्थ्यो । विदेशी कार्ड काम लागेन । अब अहिले नेकपा एमाले र केपी शर्मा ओलीको कार्ड खेल्दै हुनुहुन्छ ।

उहाँहरू दुवैले एमाले र ओलीलाई देखाएर आफ्नो हात माथि पार्ने र गठबन्धनभित्र आन्तरिक प्रतिस्पर्धा गर्न खोज्दै हुनुहुन्छ । यसमा हाम्रो कुनै ध्यान गएको पनि छैन, त्यसमा हाम्रो कुनै चासो पनि छैन ।

माओवादीले चुनावी तालमेलका लागि प्रस्ताव ग¥यो भने तपाईहरू सहकार्य गर्न तयार हो ?

चुनाव लड्ने भनेको जालझेल गरेर सत्ता हातमा लिने कुरा मात्र होइन नि, विचार नीति सिद्धान्तको कुरा पनि आउँछ । त्यसमा २०७४ सालमा सबै कुरा मिल्यो भनेर साझा घोषणापत्र तयार गरेर जाँदा त बीचमै आफ्नो जनमत बेचेर कांग्रेसको पाउमा जानुभयो साथीहरू ।

उहाँहरू सँगसँगै हिँडेर कहाँ पुग्छन् ? चुनावमा सँगै जाने भनेको त भोट बढाउन र जनतालाई विश्वास दिलाउन हो । जनताले उहाँहरूलाई नै पत्याइरहनु भएको छैन ।

उहाँहरूको साथ हामीले किन खोज्नुप¥यो र ? हामी त जे छौँ, त्यसरी नै अगाडी बढ्छौँ नि । त्यसमा पनि अब माओवादीप्रति जनतामा कुनै विश्वास नै छैन ।

यो निर्वाचनमा एमालेले कसैसंग गठबन्धन गर्दैन ?

एमाले पहिले पनि एक्लै हो, अहिले पनि एक्लै हो । एमाले आफ्नो नीति कार्यक्रमअनुसार अघि बढ्छ । कोही मानिसहरुलाई हामीसँग कतै मिसिन मन छ भने हामी पछि सोचांैला, केही छैन । एमालेलाई यो गठबन्धनको संस्कृतिमा विश्वास पनि छैन किनभने यो सबै असफल भइसकेका प्रयोगहरू हुन् ।

एमाले आफ्नो एजेन्डा र विचार बोकेर जनताको बीचमा जान्छ । अरु पार्टीहरु पनि आउन् । जनताले जुन तहमा पार्टीहरूलाई विश्वास गर्नुहुन्छ, त्यही तहको काम हुने हो ।

स्थानीय तहमा एमालेको पोजिसन के हो ?

हामी राम्रो पोजिसनमा छौँ । हामी पहिलाको भन्दा कमजोर भएका छैनौँ । पहिला ४५ प्रतिशत जितेका थियौँ, त्यो भन्दा पर अहिले धेरै मानिस एमालेमा प्रवेश गरेका छन् । विभिन्न पार्टीबाट चुनाव लडेर जितेका मेयर, उपमेयर र जनप्रतिनिधिहरू हामीसँग हुनुहुन्छ ।

भोट हाल्ने सबै हामीसँग हुनुहुन्छ । चुनाव लड्ने उमेदवार हामीसँग हुनुहुन्छ । भोट हाल्ने जनता पनि हामीसँग हुनुहुन्छ । हार्ने त कुनै कारण छैन ।

तपाईहरुलाई गठबन्धनको चुनौती पनि छ नि ?

तपाइले याद गर्नुभयो भने २०७४ सालमा पनि उहाँहरूले मोर्चा बनाएरै लड्नुभएको हो । मतपत्र च्यातेर बत्ती निभाइ निभाई जितेको होइन र चुनाव ? मतपत्र खाईखाई गरेको होइन र चुनाव ? त्यो भनेको त गठबन्धनले गरेको हो ।

स्वयम् प्रधानमन्त्रीज्यूले चितवनको मेयरलाई मेरो नै छोरी हो भनेर भाषण गरेर भोट माग्नुभएको हैन र ? त्यो हिसाबले हामीले के बुझ्नुप¥यो भने स्थानीय तहको चुनावमा हिजो २०७४ सालमा जुन पोजिसनमा गठबन्धन थियो, अहिले भलै माधव नेपालजी उहाँहरूसँग थपिनुभएको छ, यसले कुनै प्रभाव पार्दैन ।

तर प्रचण्डजीसँग रहनुभएका थुप्रै साथीहरू नेकपाको एकता प्रक्रियामा हामीसँग रहनुभएका अधिकांश एमालेमै छन् । त्यो हिसाबले हामीसँग जनआधार बढेको छ । हिजोको दिनको तुलनामा चुनौती कम छ ।

प्रचण्डको साथ एमालेलाई चाहिएकै छैन, माओवादीप्रति जनतामा कुनै विश्वास छैन : विष्णु रिमाल

नेपालमंच । चैत्र ४ २०७८,  शुक्रबार ।प्रकाश बस्यालले गरेको कुराकानीको सम्पादित अंश

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.