Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

मजदुरले सुकिला–मुकिला हुन मिल्दैन?

May 18th, 2013

 मे १, २०१३ का दिन बुधबारमा प्रकाशित लोकेन्द्र केसिसंगको अन्तर्वार्ता

हामी मजदुर आन्दोलनमा किन लाग्ने? चप्पल लगाएर मजदुर आन्दोलनमा प्रवेश गर्ने अनि नांगो भएर जाने त होइन नि! साहुजी साइकलबाट कारखाना सुरु गर्छ र हेलिकोप्टर किनेर बाहिरिन्छ। मजदुर चाहिँ गरिबी बोकेर जाने ?! हामी समाजवादका लागि लडिरहेका छौ । समाजवाद भनेको समृद्धि हो। हामी हरेक श्रमिकले अरू उद्योगपतिका छोराछोरीले जत्तिको पाउनुपर्ने अधिकारका लागि लड्ने मानिस हौं। यहाँ त मजदुर मरे हुन्छ भन्ने खालको संस्कार छ। युरोप–अमेरिकामा जानूस् त कति फुर्तिला भएर श्रमिकले काम गरिरहेका हुन्छन्? हामीकहाँ त ख्याउटे भए मात्र मजदुर मानिने, पुष्ट भएमा ‘ए, मजदुर पनि पुष्ट हुने?’ भन्ने जुन मान्यता छ, यो मजदुरविरोधी तत्वले दिएको इमेज  मात्रै हो।

० यसपालिको मे दिवस कसरी मनाउँदै हुनुहुन्छ?
– मे दिवस भनेकै जनपरिचालन हो। तर, हामी टे्रड युनियनवालाहरूले यसलाई श्रमिकहरूको साल अन्त्य भएको दिन भन्छौं। यो दिन हाम्रा लागि आर्थिक वर्ष सुरु भएको जस्तै हो। त्यसैले एक वर्षसम्म हामीले गरेका कामहरूको विवरण सार्वजनिक गर्छौं र नयाँ कामको पनि उद्घोष गर्छौं। त्यही परम्पराअनुरूप पेसागत महासंघसँग मिलेर संयुक्त रूपमा काठमाडौं, विराटनगर, हेटौंडालगायतका सहरहरूमा सभा गर्दैछौं।

० यसपालिको नारा के बनाउनुभएको छ?
– ‘परिवर्तन श्रमशक्तिको विकासबाट’ भन्ने नारा तय गरेका छौं। श्रमशक्ति भनेको ‘प्रोडक्टिभ फोर्स’को विकास हो। हामीले रूपान्तरण गर्ने भनेको के हो भने जति श्रमशक्तिको विकास हुन्छ, त्यत्ति नै विकास हुन्छ। मार्क्सवादी धारणाअनुसार ‘प्रोडक्टिभ फोर्स’को विकासका लागि हामीले काम गर्ने हो। त्यसैले उद्योगपतिले पनि ‘परिवर्तनका लागि विकास’ भन्ने नारा लगाउने गर्नुभएको छ, हामी चाहिँ परिवर्तन श्रमशक्तिको विकासबाट मात्रै हुन्छ भन्ने मत राख्छौं।

० मजदुरका अहिलेका ज्वलन्त मुद्दाहरू के हुन् त?
– श्रमशक्तिको विकासमा हामीले पाँचवटा मुद्दालाई एक ठाउँमा राखेका छौं। पहिलो विषय भनेको न्यूनतम ज्यालालाई पुनरावलोकन गर्ने तथा तलब र सुविधा वृद्धि गर्ने आउँछ। दोस्रो, सामाजिक सुरक्षा सबैका लागि हो भन्ने राखेका छौं। तेस्रो, राजनीतिक विषय हो। त्यो भनेको संविधानसभाको निर्वाचनको घोषणा गर्ने कुरा रह्यो। चौथो, राजनीतिक अधिकारको कुरा हो। त्यो भनेको मौलिक हकको रूपमा श्रमिकको अधिकार लिपिबद्ध गर्ने सँगसँगै १० प्रतिशत श्रमिकको प्रतिनिधित्व सबै निर्वाचित निकायमा हुनुपर्छ। पाँचौं, विकासको एजेन्डाका रूपमा रोजगार केन्द्रित विकास नीति लागू हुनुपर्छ। यति भएमा मात्रै हामीले श्रमशक्तिको विकास हुन्छ भन्ने कुराको व्याख्या गरेका छौं।

० तर, अहिले त ‘मजदुर’ भन्नेबित्तिकै ‘चन्दा आतंक’ सँग जोडिन थालिएको छ, कस्तो लाग्छ?
– यो नबुझ्नेहरूले भन्ने कुरा हो। चन्दा उठाउने भनेको हुल्याहा हुन्, बेरोजगार मान्छेहरू हुन्। उनीहरूले गरेको गतिविधिलाई मजदुरसँग जोड्न मिल्दैन। हाम्रोमा मजदुर भन्नासाथ ‘परसेप्सन’ नै गलत छ। आमसञ्चारमाध्यमले पनि त्यही तरिकाले जनताको दिमाग भुट्ने काम गरेका छन्। मजदुर भनेको जो रोजगारीमा छ, त्यो हो। पारिश्रमिक लिएर आफ्नो श्रम बेच्ने मात्रै श्रमिक हुन्। त्यसलाई यसरी बुझ्नुपर्नेमा हाम्रोमा त हुल्याहाहरूलाई मजदुर भनेर बुझिदिँदा बर्बाद भएको छ।

० यसको अर्थ तपाईंहरूले चन्दा लिनुहुन्न?
– चन्दा मजदुरसँग जोड्ने कुरा होइन। चन्दा त हुल्याहा, गुन्डा, लुटाहा पार्टी तथा संगठनहरूले पनि उठाउँछन्। चन्दासँग मजदुरको कुनै साइनो हुँदैन। मूल रूपमा केन्द्रीकृत रूपमा हामी उठाउँदैनौंं। स्थानीय तहमा साथीहरूले त्यहाँका व्यवसायीहरूसँग के–के गर्नुहुन्छ, त्यो उहाँहरूको कुरा हो।

० विरोधीहरूले तपाईंहरू अलि बढी एनजीओ/आईएनजीओहरूबाट प्रभावित हुनुहुन्छ भन्छन् नि!
– यसलाई म महत्त्व नै दिन्नँ। नेपालमा एनजीओ/आईएनजीओ र टे्रड युनियन बुझ्ने मानिस नै छैनन्। अलि राम्रो लुगा लगाएर गयो भने सुकिला–मुकिला भनेर आरोप लगाइदिने, ठीक ढंगले कुरा राख्दा एनजीओजस्तो भनिदिने, भद्रगोल भयो भने हुल्याहा भनिदिने! यो श्रमिक वर्गलाई हेप्नेहरूले बसालेको चलन हो। म मिडियाका साथीहरूलाई नोम चोम्स्कीको एउटा भनाइ स्मरण गराउँछु– ‘आमसञ्चारका माध्यमहरू भनेका पुँजी लगानी गर्नेहरूका तर्फबाट जनताको दिमाग भुट्ने संयन्त्र बने।’ तपाईंहरूले पनि यसमा स्पष्ट भइदिनुहोला– एनजीओ/आईएनजीओ भनेको के? एनजीओ कुन तरिकाले बन्छ? त्यो त ख्याल गर्नुपर्योा नि! श्रम सम्बन्ध, रोजगार नीतिको बारेमा हामी हेर्छौं। तर, नेपालको मिडियावाला र केही आरोप लगाउने टे्रड युनियनलाई फुर्सद छैन, उहाँहरू चलनचल्तीको कुरा भन्दै हिँड्नुहुन्छ, यसमा म के भनौं र!

० तर, पहिले जिफन्टले गर्ने कार्यक्रम जुन वर्गको सहभागिता हुन्थ्यो र जुन संख्यामा संगठित शक्ति हुन्थ्यो, त्यो कमजोर हुँदै छ भन्ने टिप्पणीमा त आंशिक सत्यता छ नि?
– त्यस्ता आरोप लगाउनेहरू जिफन्टका कार्यक्रममै आएका छैनन्। यो जिफन्टलाई नजान्ने र नबुझ्नेहरूले लगाउने आरोप हो।

० सुकिला–मुकिलाले मात्रै जिफन्ट भरिभराउ भयो भन्छन् आलोचकहरू? यो पनि सत्य होइन त?
– सुकिला–मुकिला त हुनुपर्छ भन्छु। जिफन्ट पहिलो टे्रड युनियन हो, जसले आफ्नो घर बनायो। हामी मजदुर आन्दोलनमा किन लाग्ने? चप्पल लगाएर मजदुर आन्दोलनमा प्रवेश गर्ने अनि नांगो भएर जाने त होइन नि! साहुजी साइकलबाट कारखाना सुरु गर्छ र हेलिकोप्टर किनेर बाहिरिन्छ। मजदुर चाहिँ गरिबी बोकेर जाने त होइन नि! हामी समाजवादका लागि लाग्ने हो। समाजवाद भनेको समृद्धि हो। हामी हरेक श्रमिकले अरू उद्योगपतिका छोराछोरीले जत्तिको पाउनुपर्ने अधिकारका लागि लड्ने मानिस हौं। यहाँ त मजदुर मरे हुन्छ भन्ने खालको संस्कार छ। युरोप–अमेरिकामा जानूस् त कति फुर्तिला भएर श्रमिकले काम गरिरहेका हुन्छन्? हामीकहाँ त ख्याउटे भए मात्र मजदुर मानिने, पुष्ट भएमा ‘ए, मजदुर पनि पुष्ट हुने?’ भन्ने जुन मान्यता छ, यो मजदुरविरोधी तत्वले बनाउने धारणा मात्रै हो।

० मजदुरको नेतृत्व मजदुरले नै गर्नुपर्छ भनेर कतिपयले तपाईंहरूप्रति इंगित गरेको पाइन्छ, यो त ठिकै होला होइन?
– मजदुरको नेतृत्व मजदुरले गरेको छैन र? कसले गर्याप छ त? मजदुर भनेको को? तपाईं गिट्टी कुट्नेलाई मात्रै मजदुर भन्नुहुन्छ भने भ्रममा हुनुहुन्छ। जिफन्टमा विभिन्नखाले मान्छेहरू छन्। त्यहाँका उच्च इन्जिनियरदेखि कुल्ली–कवाडीसम्म एकै ठाउँमा रहन्छन्। हाम्रा २९ वटा घटक छन्, त्यसबाट आउने नै नेतृत्वमा छन्। त्यसबाहेक त कोही पनि छैनन्।

० ‘फुल टाइम युनिनिस्ट’को कुरा गरेको!
– यदि यो हो भने हामी कानुनअनुसार चल्छौं। टे्रड युनियन ऐनले के भन्छ भने महासंघहरूमा २५ प्रतिशतसम्म ‘फुल टाइम युनिनिस्ट’हरू रहन सक्छन्। केन्द्रीय संघमा १० प्रतिशत र इन्टरप्राइजेजहरूमा शून्य प्रतिशत युनिनिस्टहरू रहन सक्छन्।

० ज्यालाको स्थिति के छ? कहिलेदेखि बढेको छैन?
– हरेक दुई–दुई वर्षमा पुनरावलोकन गर्छौं। पुनरावलोकन भनेको दररेट फेर्ने कुरा मात्रै हो। तर, नेपालमा यसले काम गर्दैन र हामीले ज्याला पुनरावलोकन गर्दा ज्यालाको दररेट पनि फेर्छौं र तलब वृद्धि पनि गर्छौं। त्योभन्दा बढी हरेक कम्पनीले तिर्न सक्ने क्षमताको आधारमा त्यहाँका मान्यताप्राप्त युनियनले सामूहिक मागपत्र राख्छौं र सामूहिक सौदाबाजीबाट ज्याला वृद्धि गर्छौं। न्यूनतम ज्यालाको दररेट फेर्ने कुरा अहिले आएको छ। गएको वैशाख १ गतेबाट पहिले गरेको सम्झौताको अवधि सिद्धिएको छ। अहिले हामी उद्योगपति र सरकारसँग न्यूनतम ज्यालाको दररेट कसरी फेर्ने भन्नेबारेमा बहस गर्दै छौं। त्यसका लागि एउटा कमिटी बनेको छ। सामूहिक सौदाबाजीबाट गर्ने कुरामा यो साल नयाँ तरिकाले जानुपर्छ भन्ने मतमा छौं।

० नयाँ तरिका भनेको के हो?
– पहिला जहाँ–जहाँ एउटा मात्र युनियन छ, त्यो युनियनले मागपत्र राख्थ्यो। एकभन्दा बढी भएको ठाउँमा आधिकारिक युनियनले माग राख्थ्यो। अहिले चाहिँ चुनाव नभएको तर एउटा मात्र युनियन नभएको ठाउँमा अप्ठ्यारो आएको कारणले गर्दा कारखानामा जति मान्यताप्राप्त युनियन छन्, ती ठाउँमा बराबरीको संख्यामा सामूहिक सौदाबाजी गर्ने समूह बनाएर श्रम ऐनअनुसार देशभरि एकैचोटी वार्ता गर्ने योजनामा छौं।

० मजदुरहरूकै अनावश्यक मागहरूका कारण कलकारखानाहरू बन्द हुँदै गएको त साँचो हो नि?
– कारखाना खोल्ने काम हाम्रो होइन, पुँजीवालाहरूको हो। पैसा छ भने कारखाना खेाले भो, हामी काम गर्न जान्छौं। नत्र हामी मध्यपूर्व काम गर्न जान्छौं नि! जहाँ काम छ, त्यहीँ जान्छौं। कस्तो नीति ल्याउने भन्ने कुरो सरकारको हो। त्यसैले कारखाना खुल्यो भने काम गर्न गइन्छ। तर काम गर्न जाँदा अधिकारसहित जान्छौं।

० माओवादी दादागिरीले जिफन्टको सांगठनिक जीवन कत्तिको असर पारेको छ?
– केही पनि असर पारेको छैन। आ–आफ्ना काम गर्ने ठाउँहरू छन्। माओवादीका ‘फुल टाइम’ वाईसीएलका मान्छेहरू हुन्। त्यसलाई नै मजदुर भन्ने चलन छ। जस्तै, एनसेलमा आक्रमण भयो, त्यसमा आक्रमण गर्ने के मजदुर थिए त? होइन नि! त्यहाँ आक्रमण गर्ने त वैद्य माओवादीका हुल्याहा न थिए। माओवादीको त त्यही वाईसीएल कहिले विद्यार्थी बन्छ, कहिले मजदुर बन्छ, त कहिले पार्टी बन्छ। त्यसलाई हामीले संख्या बढेको भन्छौं र न त समस्या छ। अनि जो कारखानामा काम गर्छ, त्यो कसलाई फुर्सद हुन्छ र बाटोमा नाच्दै हिँड्ने? हामी ‘मे डे’ मा मात्रै देखिन्छौं, अघिपछि आ–आफ्नो कार्यक्रममा मात्रै देखिन्छौं। तर, हामीलाई सुकेछन् भनेर किन भन्छन्, खोइ?

० तर, हेर्नुस् त प्रचण्डले त एमाले भन्ने पार्टी नै छैन भनेछन्?
– त्यो उहाँलाई सोध्नुपर्ला। किनभने प्रचण्डपथीय विचारमा उहाँ बोल्नुहुन्छ। त्यसैले उहाँले ठिकै बोल्नुभयो। प्रचण्डपथको उहाँले नै सैद्धान्तिक व्याख्या गर्नुभएको छ– धक्का, क्रमभंग, महाविपत्ति हुन्छ। बिहान बोलेको कुरा दिउँसो मिल्ने र दिउँसोेको बेलुका मिल्यो भने त्यो क्रमभंग भएन। त्यसो हुँदा प्रचण्डपथविरोधी हुने भएकाले बिहान, दिउँसो र बेलुका फरक–फरक बोल्नुपर्छ। एउटा ‘स्ट्याटस’ पढेको थिएँ– ‘हेलिकोप्टर चढ्नुभएछ, आकाशमा एमाले देख्नु भएनछ, ओर्लिनुभएछ, माओवादी सभामा, त्यहाँ पनि एमाले देख्नु भएनछ, कहाँबाट देख्नु त?’ कुरा त्यस्तै हो। पछि हाम्रा नेताहरूले किन देखेनौं त एमाले भनेर विनम्रतापूर्वक प्रतिप्रश्न गर्दा– ‘होइन मैले त्यसो भनेकै छैन’ भन्नुभएको छ। आज भनेको कुरो अलिखेरमा काट्ने प्रचण्डको कुरालाई मैले के भन्नु र?
० तपार्इं सदस्य रहेको एमालेको पोलिटब्युरोले कांगे्रससँग मोर्चा बनाउन सकिने निर्णय गरेको हो?
– म बसेको पोलिटब्युरोले केही पनि गरेको छैन। एमालेको पोलिटब्युरोको निष्कर्ष हो– एमाले, कांगे्रस र एमाओवादी एउटै विद्यालयका ‘प्वाइन्ट वान’को तल–माथिबाट पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीजस्ता पार्टी हुन्। हामी तीनवटै पहिलो हुनका लागि प्रतिस्पर्धामा छौं। कुनै पनि बेला एमाले एक नम्बर हुन सक्छ र त्यसमा ‘प्वाइन्ट वान/टु’ले तल–माथि पर्नसक्ने खतरा उत्तिकै छ। हामी त्यसमा सतर्क छौं। अब संविधान बनाउँदा लोकतान्त्रिक दलहरूसँग तालमेल मिलाउनुपर्छ भन्ने कुरा चाहिँ सही हो। त्यो भनेको चुन्निएर गए पनि त विचारका हिसाबले तालमेल मिलाउनुपर्ने हुन्छ। लोकतान्त्रिक दलसँग अनावश्यक तिक्तता हुनुहुँदैन भन्ने हामीलाई लाग्छ।

० अबको प्रतिस्पर्धामा स्वतन्त्र ढंगले एमालेको आँकलन कसरी गर्नुभएको छ?
– हामी ‘नम्बर वान’ हुन लागिरहेका छौं।

० त्यसको आधार के हो?
– पहिले हामी ९७ ठाउँमा साह्रै थोरै मतले दोस्रो भएका छौं। ती ठाउँमा ७ देखि दुई सय मतले पछि छौं। नेपालका पार्टीहरूलाई हेर्ने मानक बनाइएको छ– ‘ठण्डा भनेकै कोकाकोला’ जस्तो। लोकतान्त्रिक भनेपछि कांगे्रस जस्तो र कम्युनिस्ट भनेपछि माओवादी जस्तो हुनुपर्ने! विचरा अरू मिथक छैन भन्ने बनाइयो, त्यसले पनि हामीलाई ‘ह्याम्पर’ गरेको छ।

० त्यसो भए नेपालमा पार्टीलाई छान्ने मानक के–के हुन् त?
– तीनवटा छन्। एउटा– अतिवादी मानक छ। त्यसको प्रतिनिधित्व माओवादीले गर्छ। अर्को, यथास्थितिवादी मानक छ, जसको नेतृत्व नेपाली कांगे्रसले गर्छ। अर्को, प्रगतिशील मानक हो। त्यसको प्रतिनिधित्व एमालेले गर्छ। यदि ‘सेन्टर लाइन’ तानेर तपाईंले राजनीति गर्नुभयो भनेदेखि वामबाट मध्यवाममा एमाले रहेको छ, वाम साइटमा एमाओवादी र दायाँबाट मध्यतिर कांगे्रस रहेको छ। यही हिसाबले हामी तीनवटा मानकको नेतृत्व गर्छौं। त्यसले गर्दा बीचमा जुन प्रचार गरियो, त्यसले एमालेलाई टाक्सिनलाई मलजल गर्योृ होला त्यो बेला। कतिपय भ्रम र त्रासमा पनि पर्नुभयो। त्यसैले पहिलेको ९७ स्थानमा दोस्रो र १ सय ३७ ठाउँमा तेस्रो भएको अवस्थालाई हेर्दा थोरै मत अन्तरमा रहेकाले नम्बर एकमा हुने आधार देख्छौं। त्यसमध्येमा पनि अनुशासित कार्यकर्ता भएको पार्टी त एमाले नै हो। मैले त सार्वजनिक ठाउँमै बोलेको छु– एमाओवादीको इमानदार मान्छे र एमालेको भ्रष्ट भनेर बात लागेको मान्छेलाई एक ठाउँमा उभ्याऔं, हाम्रोभन्दा एमाओवादीको इमानदार भन्ने मान्छे प्रस्टै धेरै गन्हाएको देखिन्छ।

० तर, पछिल्लो समय एमालेको नेतृत्व अलि प्रतिक्रियात्मक जस्तो भएको लाग्दैन?
– त्यसमा सुधार गर्नुपर्छ। हाम्रा नेताहरू सबै दूधले धोएको जस्तो हुनुहुन्छ भन्ने होइन। नेताहरू ‘प्रोएक्टिभ’ हुनुभन्दा ‘रिएक्टिभ’ बढी हुनुभयो कि भन्ने जुन चर्चा छ, त्यसमा केही दम छ।

० संविधानसभाको चुनाव अगाडि नै नवौं महाधिवेशनको चर्चा पनि सुरु भएको छ, यो कत्तिको सम्भव छ?
– पोलिटब्युरोमा यो विषय प्रवेश नै भएको छैन। अहिले नै यसबीचमा बोल्दा चाँडो हुन्छ। त्यसकारणले हामी अहिले चुनावकै तयारीमा छौं, चुनावकै माहोल सिर्जना गर्ने अभियानमा छौं। पोलिटब्युरोले गर्ने छलफल भनेको पनि चुनावी माहोल सिर्जना गर्नु नै हो। एमालेभित्रको गरिनैपर्ने व्यवस्थापन भनेको नेतृत्वको व्यवस्थापन हो। त्यसबारेमा छलफल गरिसकेपछि मात्रै निष्कर्षमा पुग्न सकिएला।

० अबको संविधानसभा चुनावमा तपाईं कहाँबाट उम्मेदवार बन्ने विचार गर्नुभएको छ?
– म असफल बनाइएको संविधानसभाको सदस्य हुँ। नैतिक हिसाबले पनि यो दाबी गर्ने हक राख्दिनँ। पार्टीमा अरू थुप्रै साथीहरू पनि हुनुहुन्छ। एकचोटी संविधानसभामा गएकाहरू फेरि तिनै ठाउँमा जानुपर्छ भन्ने छैन। अपरिहार्य रहेका कोही नेता हुनुहुन्छ भने जानुहोस्। अन्यथा सबै कार्यकर्ता यहाँ योग्य छन्। हामी त झन् असफल बनेका मान्छेहरू हौं। कसरी हामीमा नैतिक साहस हुन्छ र फेरि दाबी गर्ने? मेरो यसमा केही दाबी छैन।

May 01, 2013 लोकेन्द्र केसी / Budhabar

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.