March 7th, 2018
काठमाडौं, २३ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको मर्यादाक्रम र सेवासुविधा मन्त्रीसरह कायम भएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमार्फत् रिमालको मर्यादाक्रम र सेवासुविधा मन्त्रीस्तरको हुने निर्णय गराएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोही बमोजिमको नियुक्ति पत्र रिमाललाई उपलब्ध गराएको हो ।
मन्त्रीसरहको मर्यादाक्रम र सुविधामा प्रधानमन्त्रीको सल्लाहकार बन्ने रिमाल सम्भवतः पहिलो व्यक्ति हुन् । उनी पहिलोपटिक ओली प्रधानमन्त्री हुँदा पनि राजनीतिक सल्लाहकार थिए ।
रणनीति, विश्लेषण र सम्भावित परिघटनाको मूल्यांकन गरेर समाधान पहिल्याउन रिमाल प्रखर मानिन्छन् । विवादरहित छवि वनाएका उनले एमाले पार्टीका घोषणा, समृद्धीका योजना, रणनीति र चुनावी दस्तावेज निर्माणमा सक्रिय भूमिका निभाएका थिए ।
एमालेभित्र उनी लामो समयदेखि केपी ओली निकट रहेर काम गर्दै आएका छन् । विषयवस्तु छिटो बुझ्ने, विश्लेषण गर्ने र लेखन क्षमता भएका कारण उनलाई ओलीले विश्वास गर्ने गरेको जानकारहरू बताउँछन् ।
नुवाकोट स्थायी घर भएका रिमाल ३०३५/०३६ को विद्यार्थी आन्दोलनमार्फत तत्कालीन भूमिगत पार्टी–नेपाल कम्युनिष्ट पार्टी (माले) हुँदै राजनीतमा प्रवेश गरेका थिए ।
पार्टीको विभिन्न तहमा काम गरिसकेका उनी २०६५ मा भएको नेकपा–एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी, पोलिटव्यूरो सदस्यमा निर्वाचित भए ।
राजनीतिक उतारचढावसँगै विभिन्न समय जेल परेका उनी २०४४ सालदेखि राजनीतिक संगठनको रूपमा मजदुर संगठनबीच क्रियाशिल छन् । २०६५ को पाँचौं राष्ट्रिय महाधिवेशनबाट जिफन्टको अध्यक्ष निर्वाचित भएका उनी २०३८ देखि २०४० सम्म स्थानीय विकास मन्त्रालयअन्र्तगत सार्वजनिक निर्माण शाखा, धादिङ र मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत सिभिल इञ्जिनियरिङको ओभरसियर पदमा कार्यरत थिए ।
रिमाल मजदूरका पेशागात हक अधिकार, राजनीति र साहित्य गरी २९ वटा कृतिका लेखक, सहलेखक र सम्पादकसमेत हुन् ।