March 24th, 2023
प्रतिनिधिसभाबाट दोस्रोपटक विश्वासको मत लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई पूर्णता दिइसकेका छैनन् ।
पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्रीले साढे दुई महिनामै फेरि संसद फेस गर्नुपर्यो । पाँच वर्ष नै गठबन्धन चलाउने भन्दै मन्त्रिपरिषद् विस्तारको गृहकार्य चलिरहेको समयमा कांग्रेसकै कतिपय नेताहरू यो गठबन्धन चल्नेमा संशय व्यक्त गर्छन् ।
देशको अर्थतन्त्रलगायत समस्या समाधानका लागि दुई ठूला दल (कांग्रेस र एमाले) मिल्छन् भन्ने अडकलबाजी पनि भइरहेको छ । त्यो चर्चामा कति दम छ ? यी लगायत पछिल्लो राजनीतिक घटनाक्रमबारे लोकान्तरका लागि सुशील पन्तले नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसँग बिहीवार कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सार :
विश्वासको मत लिने दिन चैत ६ गते प्रधानमन्त्री प्रचण्डले म त जाने पक्षमा थिइनँ, एमालेले बल गरेर बालकोट लगेको हो भन्नुभयो । पुस १० मा प्रचण्डलाई एमालेले तानेको थियो कि प्रचण्डले नै बल गर्नुभएको थियो ?
– यसबारे मैले बोली पनि सकेको छु । प्रचण्ड कमरेडको अभिव्यक्तिबारे मेरो यत्ति टिप्पणी छ– कोही व्यक्तिलाई कतै जान मन छैन भने किन आउने ? देश हाँक्छु भन्ने अनि प्रधानमन्त्री हुने मान्छेले मलाई जानै मन थिएन, प्रधानमन्त्री खानै मन थिएन, म कांग्रेसकै अंगालोमा निदाउन चाहन्थें भनेको अलि सुहाएन । अर्काले डाकेको भरमा म बहकिएँ भन्ने प्रचण्डको अभिव्यक्ति इमानपूर्ण भएन ।
दोस्रो कुरा, एमालेको पोजिसन पुस १० अगाडि, पछाडि र अहिलेसम्म पनि एउटै छ । पुस १० गते साढे १२ सम्म नेपाली कांग्रेस र माओवादीलाई हामीले भनेको एउटै कुरा हो, जबसम्म गठबन्धन रहन्छ, हामी हाम्रै ठाउँमा ठीक छौं । हामीलाई जनताले बलियो प्रतिपक्षी भएर बस्न भोट दिएको हो । यदि गठबन्धन चलेन भने त्यस्तो स्थितिमा कोसँग कसरी गृहकार्य गर्ने हामी सोचौंला भनेको हो ।
कांग्रेस–माओवादी दुवैसँग हामीले राखेको कुरा सरकार मात्र नभई सत्ता साझेदारीको थियो । माओवादी केन्द्रसँग लिँदा अरू धेरैलाई जोड्नुपर्ने भयो । कांग्रेसले प्रधानमन्त्री नदिएको अवस्थामा प्रचण्ड प्रधानमन्त्री खान आउनुभएको हो । प्रधानमन्त्री दिने हो भने राष्ट्रपति र सभामुख हामीले लिने कुरा भएको थियो ।
देउवाजीसँग हाम्रो अध्यक्षले कुरा गर्दा गठबन्धन टुट्यो र हामीसँग साझेदारी हुन्छ भने सहमति गरौं भन्नुभएको हो । प्रधानमन्त्री र राष्ट्रपति के लिने, एउटा च्वाइस गर्नुस् भनेका थियौं । समानुपातिकमा हामी ठूलो दल भए पनि संख्याको हिसाबमा ठूलो दल भएकाले त्यसमा च्वाइस कांग्रेसको हो भनेका थियौं ।
पुस १० गते साढे १२ सम्म प्रचण्ड र देउवाजी मोलमोलाइ र दाउपेचमा हुनुहुन्थ्यो । देउवाजी जसरी पनि प्रचण्डलाई मनाएर पहिलो कार्यकालको प्रधानमन्त्री लिने, नमानेमा साँझ ५ बजाउने रणनीतिमा हुनुहुन्थ्यो । साँझ ५ बजेपछि (संसदको ठूलो दलको नेताको हैसियतमा) स्वतः प्रधानमन्त्री बन्ने योजनामा हुनुहुन्थ्यो ।
प्रचण्डजी एकदमै छटपटीमा र अति व्यग्रतामा हुनुहुन्थो । साढे १२ बजेपछि उहाँलाई लाग्यो– मैले प्रधानमन्त्री नपाउने भएँ । त्यसपछि बालुवाटारबाट निस्किनुभयो । बालुवाटारबाट खुमलटार जाने बेलामा हामीसँग फोनमा कुरा गर्नुभयो । हाम्रो अध्यक्षले गठबन्धन तोडेर आउने कुरा दोहोर्याउनुभएको थियो । उहाँले पार्टीमा सल्लाह गर्नुभयो ।
प्रधानमन्त्री खानु पर्छ भन्ने ठान्नुभयो र तीनचारजना नेतासहित आउनुभयो । हामीले नत्थी लगाएर ल्याएको होइन । यदि नआएको भए ठीकै थियो । किस्ता–किस्तामा कुरा गर्यौं, राष्ट्रपतिका लागि । माधव नेपाललाई राष्ट्रपति बनाऔं भन्दा मान्नुभएन । यहाँसम्मकि बाबुराम भट्टराई, नन्दबहादुर पुन र अमिक शेरचनलाई पनि मान्नुभएन ।
एमालेले बोलाएर मात्र गएको भन्ने जस्तो आधारहीन कुरा जनताले पत्याउँदैनन् । प्रधानमन्त्रीले संसद्मा यस्तो कुरा रेकर्ड गराउनु उपयुक्त थिएन ।
तपाईंहरूको विश्लेषणमा प्रचण्डले किन यति छिट्टै एमालेसँग सहकार्य तोड्नुभयो होला ? राष्ट्रिय सहमति गर्नकै लागि हो कि अन्य कारण ?
– राष्ट्रिय सहमति चाहेको भए अस्ति विश्वासको मत लिँदा एमालेलाई किन गाली गर्नुपर्थ्यो र ? मैले सहकार्य चाहेको थिएँ, तर एमाले विपक्षमा गयो भनेको भए त हाम्रै मुन्टो निहुरिन्थ्यो होला नि ! उहाँले निन्दा, भर्त्सना गर्नुभयो । उल्टो कुरा गर्नुभयो । मलाई खानै मन थिएन भन्नुभयो । त्यसपछि रातारात नचाहिएको भोट माग्न देउवाको घरमा जानुभयो । यो सबै कुराले बताउँछ, राष्ट्रिय सहमति त भन्ने कुरा मात्र थियो । यो सबैले बुझेको कुरा हो ।
इो प्रचण्डको दाउपेच हो । उहाँ षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नुहुन्छ । उहाँ आफ्नै पार्टी पनि सरल रेखामा चलाउनुहुन्न । त्यो ल्याकत राख्नुहुन्न । माओवादी पार्टीमा पनि हरदम दुईवटा पोल खडा गरेर आफ्नै साथीहरूलाई भिडाउनु हुन्छ र दुईवटाको साझा बनेर शासन गर्नुहुन्छ ।
null
अहिले एकातिर वर्षमान र अर्कातिर जनार्दन देख्नुहोला, यो अन्तिम सत्य होइन । कुनै बेला मोहन वैद्य र बाबुरामलाई उभ्याउनुभएको थियो । दुईवटा झगडिया खडा गरेर आफू साझा नबनुञ्जेल उहाँको चित्त बुझ्दैन ।
नेकपा बनाउँदा पनि ठीक त्यस्तै, एकातिर माधव नेपाललाई उचाल्ने, अर्कातिर केपी ओलीसँग बार्गेनिङ गर्ने काम गर्नुभयो । अहिले हामीसँग सहमति गरेर १६९ को समर्थनमा प्रधानमन्त्री प्राप्त गर्नासाथ त्यही थ्योरी अपनाउनुभयो । एकातिर देउवा र अर्कातिर केपी ओलीसँग खेल्ने काम गर्नुभयो । यो खेलाइ कहिलेसम्म रहन्छ, समयले बताउला ।
उहाँको मनोविज्ञान सरल रेखामा एजेन्डाको राजनीति गर्ने होइन । तिकडम र जालझेल गरेर सत्ता प्राप्त गर्ने उहाँको योजना हो, त्यही गर्नुभयो ।
सरकारमाथि केपी ओली हावी भएको र प्रचण्डलाई पिंजडामा हाल्न खोजेको आरोप पनि लाग्यो नि ?
– हामी ८० सीटवाला थियाैं । ८० सीटवाला पार्टी ३२ माथि हावी त हुन्छ नै । प्रचण्डजी १३८ सीट प्राप्त गरेको जाज्वल्यमान प्रधानमन्त्री त होइन । अरूले दिएको सीट हो । उहाँले त अझ बढ्ता लिनुभएको थियो ।
३२ सीटवाला प्रधानमन्त्रीले रोजी–रोजी ६ वटा मन्त्रालय लिनुभएको थियो । उहाँले सत्ता साझेदार दलसँग सल्लाह नगरी मनलाग्दी निर्णय र नियुक्ति गर्ने काम गर्नुभएको थियो । ८० सीट भएको पार्टीले ८ वटा मन्त्रालय लिएर काम गर्दा हावी भएको हो भने हामीभन्दा ९ सीट बढी रहेको कांग्रेसले उहाँलाई कति छाड्दोरहेछ, हेर्दै जाऊँ । कांग्रेसले पिंजडा दिन्छ, कि खुला मैदान दिन्छ, हेरौंला नि हामी ।
अयोग्य लडाकुलाई भत्ता बाँड्ने निर्णय कांग्रेस सरकारमा सहभागी हुनुभन्दा पहिला गर्नुभएको छ । यो खुला मैदान दिएको होला । कांग्रेसले यसैगरी सत्ता चलाउन खोजेको रहेछ भने यसको मूल्य उसले तिर्ला ।
सहमतिमा सरकार चलाउँदा छाडा होइन, अंकुश त हुन्छ । त्यो अंकुश भोलि संसद्ले पनि लगाउँछ । संसद्ले अंकुश लगाउँदा त्यो बेला के भन्नुहुन्छ ? कुनै समय देउवाले कम्युनिस्टको शासनमा मानिस रुन पाउँदैनन् भन्नुभएको थियो, अहिले त बोल्न पनि नपाउने भए । पुलिसले मान्छेको मुख थुनेको फोटो नक्कली त होइन होला ।
हामीले धेरै बोल्यो भने सत्ता नपाएको छटपटी भनिएला । जनताले यस्तै शासन चाहेको भए सहौंला । अहिलेको लडाईं जता हेरे पनि एकातर्फ एमाले र केपी ओली, अर्कातर्फ कांग्रेस र शेरबहादुर देउवा छ, अरू त सब च्याँखे थाप्ने हुन् । एमालेले हार्दा कांग्रेसले जित्छ, यी दुईको सह–अस्तित्वमा समाज चल्ने हो ।
केपी ओलीले पहिलो बैठकमा प्रतिनिधिसभा विघटन सही थियो भनेपछि झस्किएँ भनेर प्रचण्डले भन्नुभयो । एमाले किन विगतका कुरा कोट्याउँदैछ ।
– फेरि झस्के हुन्छ । म पनि भन्छु, त्यो प्रतिनिधिसभा विघटन सही थियो । संवैधानिक थियो । उहाँहरूले कति दिन चलाउनुहुन्छ हेरौंला । संविधानले दिएको कुरा त हुन्छ ।
अगाडि प्रचण्ड बस्नुभएको छ भन्दैमा सत्य कुरा बोल्न किन लुकाउने ? सिंगो लडाईं त्यही त हो ।
बालकोटमा पुराना कुरा नकोट्याउने, संसद् विघटनको कुरा नगरौं भन्ने भएको थियो रे नि ?
– त्यस्तो केही थिएन । उहाँले मुख छाडेको कुरा नउठाउँला भनेको न हो । उहाँले ३८ बुँदे आरोप लगाएर हिँडेको होइन र ? पार्टीबाट निकाल्ने, पार्टीलाई घात गर्ने, बनेको शक्तिलाई तहसनहस गर्ने तिम्रो कुकामको टिप्पणी गर्दिनँ भनेको न हो ।
अध्यक्षले आज त्यो कुरा गर्दिनँ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले ५ वर्ष नै नगरौं भनेको न हो । त्यसो भन्दैमा हामीले राजनीति लुकाउँछौं र ? एमालेले पुग्न खोजेको बाटो लुकाउँछौ र ? हाम्रो पार्टीले महाधिवेशनमा पारित गरेका कुराको लाइन हामीले बताउँछौं ।
एमाले–माओवादी तिक्तता नमेटिई पुस १० गते बनेको गठबन्धन दिगो हुँदैन भन्ने टिप्पणी सुनिएका थिए । पुस १० को गठबन्धनपछि ओलीले ‘मेड इन नेपाल सरकार’ बनायौं भन्ने कुरा गर्नुभएको थियो । कुनै बिन्दुमा पुगेर फेरि पुस १० मा जस्तै एमाले–माओवादी मिल्ने सम्भावना हुन्छ ?
– अब हुँदैन । ‘मेड इन नेपाल सरकार’ स्वीकार्य भएन । अस्विकार गर्नेमा माओवादीलगायतका दल नै सामेल भए । उहाँहरू कसैको गोटी बन्नुभएको छ । पुस १० गतेको चक्र उपराष्ट्रपतिको शपथसँगै पूरा भयो । अब नयाँ अध्याय शुरू भएको छ ।
एमाले संघीय संसद्मा विपक्षमा छ । विपक्षी भएरै रचनात्मक भूमिका खेल्छ । कांग्रेससहितको सरकार बनेको छ । हामी सरकार चलोस्, स्थिर होस् भन्ने चाहन्छौं । सरकारलाई रचनात्मक सुझाव दिउँला । नराम्रो कुराको भण्डाफोर गरौंला । अहिले पनि हाम्रो आरोप छ– कांग्रेस अस्थिरताको मतियार बन्यो । प्रचण्ड अस्थिरताको प्रतीक हुन् । यसलाई गलत सावित गर्न सक्नुहुन्छ ? सके गरेर देखाउनुस् । प्रचण्ड अस्थिरताको प्रतिरूप होइनन् भन्ने प्रमाणित गर्नुहोस् । अहिलेको सरकार टिकाउनुहोस् । कांग्रेसले अस्थिरता होइन, स्थिरताका लागि यो गरेको भनेर पुष्टि गर्दिनुस् । ५ महिनामा फेरि विश्वासको मत लिने काम नहोस्, हाम्रो शुभकामना छ ।
हामीले ठानेका थियौं, प्रचण्डसहित पुस १० मा बनेको ‘मेड इन नेपाल’ सरकार प्राकृतिक हो । त्यसले देशमा स्थिरता दिन्छ भन्ने ठानेका थियौं ।
कर्मचारीलाई तलब खुवाउन आन्तरिक ऋण लिनुपर्ने अवस्था छ । हामीले सरकारमा आए पनि अर्थतन्त्र सुधार्न एक वर्ष लाग्छ भनेका थियौं ।
null
एमाले नेताहरूले प्रचण्डको उपादेयता उपराष्ट्रपति चुनावसम्म मात्र हो, त्यसपछि कांग्रेसले साथ छाड्छ भनेको सुनिन्थ्यो, तर गठबन्धन अगाडि जाने देखियो त ?
– म पनि त्यही भनिरहेको छु । जुन आठ दल दल भनिएको थियो, तीमध्ये तीन-चारवटा दलको उपादेयता सकिन्छ भनेर भनेको थिएँ । कमसेकम राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री भएको दलको उपादेयता हुन्छ, अरूको हुँदैन । उनीहरूलाई उपयोग गर्ने र त्याग्ने नै हो । समयक्रमले त्यही बताउँछ ।
प्रचण्ड सरकार भत्काउन एमालेले कांग्रेसलाई समर्थन गर्छ भन्ने अडकलबाजी पनि भइरहेको छ नि ?
– यो कुरा त हामीले पहिल्यै भनेका हौं, पुस १० गते तपाईंहरू सरकारको नेतृत्व गर्नुस्, हामी साथ दिन्छौं भनेका थियो । त्यो कुरामा कांग्रेसलाई रुचि भएन ।
यस्तो प्रतिस्पर्धात्मक संसदीय व्यवस्थामा दुई ठूला दल मिलेर सरकार बनाउने कुरा अप्राकृतिक हो । कहिलेकाहीँ मुलुक र लोकतन्त्र अप्ठ्यारो परेको समयमा यो काम पनि गर्नुपर्छ । पछिल्लो उदाहरण भनेको संविधान जारी नहुँदा ठूला दल मिलेर गरेका थियौं ।
जुन हिसाबले अर्थतन्त्र ओरालो लागेको छ, अस्थिरता बढिरहेको छ, सामाजिक मूल्य मान्यताको क्षयीकरण बढिरहेको छ, यस्तो समयमा ठूला दल मिल्न सकिन्छ ।
राष्ट्रिय शक्ति मिल्दा विदेशी शक्ति र परिवर्तन नचाहेका शक्तिले चलखेल गर्न पाउँदैनन् । तर, २००८ सालदेखि नै हेर्ने हो भने कम्युनिस्टले सहकार्यको प्रस्ताव राखेका छन्, कांग्रेसले दुत्कारेको इतिहास छ । अहिले पनि हामी स्थिरताका लागि प्रस्ताव राख्छौं, त्यसमा कांग्रेसले रुचि राख्छ र ?
कांग्रेस सभापति देउवा ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको भनेर ज्योतिषीले बताएको चर्चा चलिरहन्छ । देउवाको त्यो आकांक्षा र माओवादीले धोका दिएको एमाले मिल्दिए भने आश्चर्य हुन्छ कि हुँदैन ?
– कांग्रेसको ट्र्याक रेकर्ड हेर्दा त्यसो भए अनौठो नै मान्नुपर्छ । कांग्रेस आफूलाई दायाँ पायक पर्दा दायाँ र बायाँ पायक पर्दा बायाँ फर्किने पार्टी हो । प्रचण्डजीहरू पनि त्यस्तै हो । केही गरी कांग्रेसले यसरी मुलुक बन्दैन भन्ने ठानेमा हामी साथ दिन्छौं । भौतिकवादी भएकाले मलाई जोखानामा विश्वास छैन । विश्वास गर्नेप्रति कुनै कटाक्ष पनि छैन, सम्मान नै छ ।
मेरो मनमा एउटा कुरा आउँछ, पुस १० गते प्रचण्डले मलाई प्रम देऊ, सबथोक मान्छु भन्दा किन नदिएको ? शेरबहादुर दाइ प्रधानमन्त्री बन्न कै लागि नदिएको भन्ने मैले सुनेको हो । त्यसकारण प्रचण्ड दौडेर हामीकहाँ आउनुभएको थियो । त्यतिबेला प्रचण्डजीको अनुहार हेर्नलायक थियो । ओठमा कलेटी परेको थियो ।
शुरूमा कुनै हालतमा (प्रधानमन्त्री) छाड्दिनँ भनेका शेरबहादुर दाइ प्रचण्ड प्रधानमन्त्री भएपछि रातारात उहाँलाई स्वीकार्ने अवस्थामा पुग्नुभयो । रामचन्द्रलाई राष्ट्रपति त पहिल्यै पनि बनाउन सक्नुहुन्थ्यो । यो तमासा किन गरेको ? शेरबहादुर दाइले धुम्बाराहीमा बसेर घामै ताप्न तमासा गरेको हो त ? उहाँले पुस १० मा शुरूमा मैले प्रधानमन्त्री पाइनँ भने हुँदैन भनेर प्रचण्डलाई भन्नुभएको भन्ने हामीले सुनेको हो । फागुन १० मा आउँदा ठीकै छ, प्रचण्डजी प्रधानमन्त्री खानुस्, रामचन्द्रजी राष्ट्रपति खानुस्, अरूहरूले अरू खानुस्, म धुम्बाराहीमा घाम तापेर बस्छु भन्ने निष्कर्षमा देउवा पुग्नुभएकै होला त ? मेरो मनले हो भन्ने मानेको छैन ।
उहाँ (देउवा)को महत्त्वाकांक्षा पूरा गर्न एमालेले साथ दिन्छ कि दिँदैन ?
– कसैको महत्त्वाकांक्षालाई समर्थन गर्दैनौं । मुलुकको अप्ठ्यारो समाधानका लागि कसैले प्रस्ताव गर्छ भने सोच्छौं, तर प्रचण्डजीको सन्दर्भमा चाहिँ उहाँ विश्वसनीय हुनुभएन । उहाँको बारेमा धेरै चिन्ता लिदैनौं । उहाँ आफैंले सोच्नुहुन्छ । अर्काको पार्टीको बारेमा हामी टिप्पणी गर्दैनौं ।
अन्त्यमा अर्को एउटा फरक प्रसंग– निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किन लाग्नुभएको हो ?
– उहाँ एमाले पार्टीमा हुनुहुन्न । राष्ट्रको महत्त्वपूर्ण फिगर हो उहाँ । निकट भविष्यमा उहाँजस्तो क्षमता भएको व्यक्ति मुलुकले राष्ट्रपतिका रूपमा पाउँछ भन्ने जस्तो लाग्दैन । हामीले पूर्व राष्ट्रपति र मुलुकको सोभनीय व्यक्तित्वको बारेमा हल्का टिप्पणी गर्नुहुँदैन । त्यसबारे हाम्रो पार्टीले केही सोचेको छैन ।
लोकान्तर ।सुशील पन्त ।काठमाडौं | चैत १०, २०७९।देउवालाई ७ पटक पुर्याउन होइन, संकट समाधान गर्ने शर्तमा कांग्रेसलाई सघाउन तयार छौं– रिमाल [अन्तर्वार्ता]