Menu

BishnuRimal.com.np

Explore the website

Personal Life

  • Home
  • Blog
  • Audio/Video
  • Brief
  • Photo

Books

  • Latest book

INTERVIEWS

  • Video~Audio Interview

Speech/Address

Articles

  • Exploitative Forms of Labour
  • History
  • Industrial Relations
  • Informal Economy
  • Labour And Politics
  • Liberalisation, Globalisation and Privatisation
  • Migrant Workers
  • Miscellaneous
  • Occupational Safety
  • Politics
  • Social Security
  • Women/Gender

Articles

  • Archives by Month

नेपालीमा रचनाहरु

  • अन्तरवार्ता
  • भिडियो~अडियो अन्तर्वार्ता
  • अन्ताराष्ट्रिय सन्दर्भ
  • ईतिहास
  • औद्योगिक सम्बन्ध
  • क्षेत्रगत विषय
  • ट्रेड यूनियन र राजनीति
  • प्रेरणादायि व्यक्तित्व
  • भाषण/सम्बोधन
  • महिला/लैङ्गिक विषय
  • राजनीति
  • विविध विषय
  • शोषणमूलक श्रम अभ्यास
  • श्रम र अर्थतन्त्र
  • श्रम सम्बन्ध
  • समसामयिक विषय

पितृसत्ताको विपरित केहो? मातृसत्ता?!

March 13th, 2015

पितृसत्ता भनेको पुरुषको सत्ता नभएर एउटा प्रवृत्ति हो, जुन महिला वा पुरुष दुबैबाट उस्तै तरीकाले अभिव्यक्त हुन्छ । जस्तो की कतिपय सन्दर्भमा महिला नै महिलाका शत्रु जस्तो हुन पुगेका छन् । यसैलाई लिएर मेडेलिन अल्व्राईटको एउटा भनाई छ– महिला भएर महिलालाई नै सहयोग नगर्ने महिलालाई नर्कमा एउटा विशेष स्थान सुरक्षित छ । महिलाको गणना बृद्धि गर्न जिफन्टले भन्ने गरेझैं, प्रतिनिधत्व मात्रै हैन समान सहभागिता हुनुपर्छ । महिला सहभागिताः समावेसी र समानुपातिक हुनु आवस्यक छ ।

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा भव्य ¥यालीपछिको यो सम्मेलन उद्घाटन भइरर्हदा सर्वप्रथम महिला आन्दोलनका अगुवाहरु– सहान प्रधान, साधना अधिकारी, मंगलादेवी र स्नेह लताहरुलाई स्मरण गर्न चाहन्छु ।

हाम्रा अगुवा महिलाहरु, जो जिवित हुनुहुन्छ उहाँहरुलाई सलाम, र दुर्भाग्यवस जो वितिसक्नु भयो, जिफन्टमा आवद्ध सम्पूर्ण सदस्यहरुको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। २००३ सालमा पहिलो चोटी भएको संगठित श्रमिक आन्दोलनदेखि नेपाली श्रम आन्दोलनमा प्रत्यक्ष संलग्न तर अधिकांस इतिहासको पानामा उक्लिनै नपाएका सबै गुमनाम श्रमिक महिला अगुवाहरुलाई सम्मान सहित स्मरण गर्दछु ।

हालै एसिड आक्रमणबाट पिडित किशोरीहरुप्रति ऐक्यवद्धता जनाउँदै शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। यस्तो अमानवीय हिंसामा संलग्न अपराधीप्रति घृणा सहित, सबैखाले हिंसा–पिडित सबै उमेर समूहका महिलाहरुप्रति ऐक्यवद्धता व्यक्त गर्दछु।

म आफ्नो भनाई भारतीय टिभी च्यानलको एउटा चर्चित कार्यक्रम– ‘सत्य मेव जयते’बाट शुरु गर्ने अनुमती चाहन्छु । चर्चित सो‘का दुई प्रख्यात पात्रहरु– होस्ट अभिनेता आमिर खान र गेष्ट जेण्डर समानताको अन्तराष्ट्रिय अभियन्ता कमला भासिन!

कमला सोध्छिन्– ‘आमिर, पितृसत्ताको विपरित केहो?’
आमिर जवाफ दिन्छन्– मातृसत्ता! ‘गलत’,कमला भन्छिन्– ‘म तिमीलाई सून्य अङ्क दिन्छु । सबैले यही गल्ति गर्छन् । हामी पितृसत्ता उल्टाएर मातृसत्ता चाहँदैनौं । पितृसत्ता जति खराब हो, त्यत्ति नै मातृसत्ता पनि बेठीक हो।’

कमलाको जवाफबाट सो‘मा उपस्थित सबै उत्सुकतापूर्वत चुप रहन्छन् ।

‘त्यसो भए सही के हो?’ आमिर सोध्छन्।

‘समानता ! पितृसत्ताको विपरित मातृसत्ता हैन समानता हो’ कमला जवाफ दिन्छिन् ।

उपस्थित सहभागीमा कति महिला, कति पुरुष संख्या खुट्याई, एक तिहाई पुग्यो पुगेनको निरर्थक बहसमा लागि रहनु भन्दा आज हामीले श्रमिक महिला दिवस मनाई रहँदा ‘पितृसत्ता, मातृसत्ता र समानता’को भेद ठीक–ठीक तरीकाले बुझ्न जरुरी छ । हामी कुनै सत्ता हैन समानताका पक्षपाती हौं भन्ने यहाँ उपस्थित हामीहरु सबैले मनन गर्नु आवस्यक छ ।

“क्षमताको हिसाबले म जो कोहीसंग पनि प्रतिष्पर्धा गर्न सक्छु, लैङ्गिक रुपमा भने सक्दिन।”

हिजो प्रकाशित, इन्टरनेशनल न्युयोर्क टाइम्समा एक चिनिया महिलाको ‘क्षमता र जेण्डर समानता’ सम्बन्धि यो टिप्पणी पढेको थिए“ । ती चिनिया“ महिलाले भनेझैं, हामीले समानताको कुरा गरिरहँदा महिलालाई पुरुष जस्तै वा पुरुषलाई महिला जस्तै बनाउने भनिरहेका छैनौं । यदी कोही यसो भनिरहेका छौं भने फेरी पनि गल्ती गरिरहेका हुनेछौं । समानता भनेको व्यवहार हो, स्वरुपमा ‘उस्तै– एउटै’ हैन ।

त्यसैले अहिले हामी जिफन्टमा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघको जेण्डर समानताको अभियानको लागि तयार गरिएको मूल नारा (थेम)को चर्चा गरिरहेका छौं–“काउण्ट अस इन्!” यसको नेपाली भावार्थ हो, चासो राख! अर्थात्, हामी यहीं छौं– चासो राख !

हाम्रो गणना गर–

  • अर्थतन्त्रमा हामीलाई गणना गर,
  • श्रमशक्तिमा हाम्रो हेक्का राख,
  • नीति निर्णयमा हामीलाई चासो राख,
  • नेतृत्वमा हामीलाई संलग्न गर ।

‘काउण्ट अस इन्’ को सार यही हो । के हाम्रा छोरी–चेलीहरुको यसैगरी ‘काउण्ट’ भइरहेको छ त? तथ्यहरुका सुचक नकारात्मक छन् । कर्पोरेट दुनियाँ नै हेरौं न, महिलाहरुको उपस्थिति बराबरीको तहमा कहाँ छ? साना तथा मझ्यौला खालका, सरदर ३०% व्यवसायमा मात्र महिलाहरु मालिक बनेका छन् वा व्यवस्थापन गरिरहेका छन्। विश्वस्तरमा व्यवसायको (कर्पोरेट) बोर्डमा महिलाहरु १९% मात्र छन् । तर विश्वका ठूला कम्पनीको प्रमुख कार्यकारीको पदमा भने महिलाको प्रतिशत ५ वा त्यो भन्दा पनि कम मात्रै छ। छानिएकै मुलुकहरुको तथ्य हेर्ने हो भनेपनि हालत उस्तै छ– सन् २०१४ को तथ्याङ्क अनुसार कर्पोरेट बोर्डमा महिलाको उपस्थिति नर्वेमा ३५.५ प्रतिशत, फ्रान्स–२९.७ प्रतिशत, बेलायत–२२.८ प्रतिशत, अष्ट्रेलिया–१९.२ प्रतिशत, जर्मनी–१८.५ प्रतिशत, समग्र युरोपीयन युनियन–१७.८ प्रतिशत छ । हाम्रा दुई छिमेकी चीनमा ९.६ प्रतिशत र भारत–९.५ प्रतिशत छ । विकसित जापानको त चित्र निरासाजनक, ३.१ प्रतिशत मात्रै छ ।

यसको अर्थ हो, श्रमको संसारमा रहेको दशकौंदेखि हाम्रा चुनौतिहरु जहाँको त्यहीँ छन् !

  • ट्रेड युनियनमा महिला सदस्य संख्या सालाखाला ४० प्रतिशत भएपनि माथिल्लो नीति निर्णयको तहमा उनीहरुको उपस्थिति १५ प्रतिशत मात्रै छ ।
  • महिला श्रम सहभागिता दर पुरुषको भन्दा कम (२६ प्रतिशत प्वाईन्टमा अडेको) छ ।
  • अझै पनि महिलाको ठूलो संख्या, असंरक्षित, अनौपचारिक, कम महत्व दिइने र कम आम्दानी हुने काममा मात्रै छ ।
  • पुरुषको भन्दा महिलाको औसत ज्याला ४–३६ प्रतिशत कम छ (महिलाले पुरुषको कमाईको ७७∞ मात्रै कमाउँछन्)।
  • कार्यथलोमा जेण्डर आधारित हिंसा उस्तै छ, यसलाई निषेध गर्ने प्रकृतिका ठोस अन्तराष्ट्रिय कानूनको अझै अभाव छ।

हाम्रो समयका सबैभन्दा चर्चित ट्रेड युनियन नेता ब्राजिलका तत्कालिन राष्ट्रपती लुला डा सिल्भा भन्दै थिए– हरेक ब्राजिलियनले प्रत्येक दिन तीन छाक खान पाउँनु पर्ने सुनिश्चिततको प्रतिवद्धता दोर्याउन म कहिल्यै थाक्दिन।(1) उनी आफू राष्ट्रपती भएपछि लागु गरिएको प्रख्यात कार्यक्रम ‘जेरो हङ्गर’ (सून्य भोकमरी) लागु गर्न यत्ति प्रतिवद्ध भए की ८ वर्षे कार्यकालमा ४ करोड नागरिकलाई भोकबाट उन्मुक्ति दिए ।

लुलाबाट सिक्दै जेण्डर समानताको पक्षमा हामी के प्रतिवद्धता व्यक्त गर्न सक्छौं?

आइएलको महानिर्देशक, हाम्रो अन्तराष्ट्रिय ट्रेड युनियन महासंघका संस्थापक महासचिव गाई राइडर हालै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै थिए । उनले प्रश्न गरे–

आर ओर्किङ्ग वोमन वेटर अफ टुडे द्यान ट्वाण्टी इयर्स अगो (श्रमजीवी महिलाहरु बीस वर्षको तुलनामा उपयुक्त अवस्थामा छन् त)? हलभरीका सहभागी एउटै स्वरमा बोले– एस् (छन्)!
उनले फेरी सोधे– ‘हायज प्रोग्रेस मेट आवोर एक्सपेक्टेसन (के प्रगती हाम्रा अपेक्षा बमोजिम छ त)? सबैले जवाफ फर्काए– नो (छैन)!

त्यसपछि गाई राइडर भन्छन्– लक्ष सहितको कार्वाहीमा नजाने हो भने अहिलेको प्रगतीको रफ्तारबाट ज्यालामा समानता कायम गर्न ७० वर्षभन्दा बढी समय लाग्न सक्छ, यो हामी कसरी स्वीकार्न सक्छौं।(2)

यसबाट हामी के सिक्न सक्छौं?

‘काउण्ट अस इन’ भनिरहँदा ‘काउण्ट त भइनै रहको छ नी’ भन्न पनि सकिन्छ । प्रश्न छ– गणना भइरहेको छ, चासो राखिएको भए महसुस गर्न सकिने नतीजा किन आएन? तसर्थ, यो प्रश्न म आफैंलाई र यहाँ उपस्थित हामी सबैलाई हो । विशेष गरी हातमा खाता–पाता लिएर हिसाब–किताव गर्नेहरुलाई हो ! हामी हिसाब कसरी गरिरहेका छौं? हाम्रो लक्ष कति वर्षमा कहाँ पुग्ने हो? काउण्ट त गरेको गरिएकै छ– अपेक्षित नतिजा किन आएन!  तसर्थ, हामीलाई हिसाबमा राख– ‘काउण्ट अस इन्’ भनेर मात्रै हुँदो रहेनछ । प्रतिवद्धता चाहियो । जस्तो की दुई वर्ष अघि संयुक्त राष्ट्रसंघको थेम थियो– कुरा हैन काम गर्रौ, महिला हिंसा अन्त्य गरौं!(3)

भयो त?

तपाई हामी सबैलाई थाहा छ, महिला बिरुद्धको हिंसा त झन विकराल पो हुँदैछ । एक महिनाको अखवारको पातो पल्टाउनुस्, घटनाका विवरणले हामी सबैको आङ जिरिङ्ग गर्छ । स्मरण गरौं त– होम ओर्क नगरेको भन्दै एकजना शिक्षकद्वारा कपाल उखेलिएकी ७ वर्षीय बालिकाको व्यथा! संझनुस् त्यो नानी तपाईको आफ्नै प्यारी छोरी/नातिनी हो। कस्तो अनुभुती गर्नु हुन्छ? बाबु देख्दा दिनभरीको असहजता पोखु“ला र स्नेहको स्पर्शमा रमाउ“ला ठान्दै बाबु नजिक पुगेकी छोरी वा भन्नुस्, सेतै फुलेको दारीवाल हजुरवाको काखमा छुनुमुन गर्न गएकी नातिनीमाथि हिंस्रक वावु/हजुरबाबुद्वारा बलात्कृत छोरी/नातीनीको घटना सुन्दा हामीलाई कस्तो लाग्छ? हाम्रो समवेदना कुन हदमा पोखिन्छ? सुन्दर भविष्यको कल्पनामा अध्ययनरत किशोरीमाथी अनाहकमा चिन्नु जान्नुको एउटा हरिलठ्ठक केटोले एक्कासी तेजाव आक्रमण गर्यो भने तपाई/हामीलाई कस्तो फिल हुन्छ वा हुनुपर्छ?

आजको दिन जोड दिन उपयुक्त ठान्छु– हामी सबैले एक भई कुरुप अनुहार बोकेर हाम्रो सामु आएको हिंसा बिरुद्ध, मर्दै गएको समवेदनालाई जगाउन अवेर भैसकेको छ । तथ्यले भन्छ– हिंसा र जेण्डर विभेदको चपेटामा आम रुपमा सबै महिलाहरु पिडित छन् । सबै उमेरका ३५% महिला हिसा तथा यौन दुरव्यवहारबाट पीडित छन् । प्रहरीमा परेको उजुरी मात्रै केलाउ“दा पनि नेपालमा प्रत्येक दिन सरदर ३ जना महिला तथा बालिका बलात्कृत भई रहेका देखिन्छ । उजुरी नै नपरेका घटना त झन कति होलान् कती? र, यो घृणित अपराधका पात्र बाबु र हजुर बाबु समेत छन् !

हाम्रा आमा, दिदी–बहिनी तथा छोरी–चेलीहरु माथिको यो अत्याचारको श्रृंखला अन्त्य गर्नु हामी प्रत्येक पुरुषको दायित्व हो । महिलालाई हातमा खुर्सानीको धुलो बोक्न र नङ्ग्रा पाल्न अर्ति दिने जमान गए । मर्यादित र आचरणको सीमामा बाधिनु पर्ने पालो अब विशेषतः हरेक पुरुषहरुको हो । पितृसत्ताले सिकाएको “मर्दानापन”को छाडा घोडालाई तवेलामा दह्रोसंग साङ्लाले बाध्नु समाजका प्रत्येक पुरुष सदस्यको दायित्व हो ।

पुरुष मानसिकतालाई टिप्पणी गर्दै सेइला रउबोथामको एउटा भनाई छ– पुरुषहरु प्रायः स्वीकार्छन्, महिलाहरु उत्पीडित छन्, तर तिमीचाँहि हैन अरु! (4) यो महिला सहभागिताको सन्र्भमा इमान्दार आत्मसमीक्षा हैन, ओठेभक्ति मात्रै हो । अझै यस्तो व्यवहार किन?

मलाई लाग्छ, यसमा स्वयं महिला पनि सहयोगी हुन जरुरी छ । हामी बुझ्छौं– पितृसत्ता भनेको पुरुषको सत्ता नभएर एउटा प्रवृत्ति हो, जुन महिला वा पुरुष दुबैबाट उस्तै तरीकाले अभिव्यक्त हुन्छ । जस्तो की कतिपय सन्दर्भमा महिला नै महिलाका शत्रु जस्तो हुन पुगेका छन् । यसैलाई लिएर मेडेलिन अल्व्राईटको एउटा भनाई छ– महिला भएर महिलालाई नै सहयोग नगर्ने महिलालाई नर्कमा एउटा विशेष स्थान सुरक्षित छ ।(5) महिलाको गणना बृद्धि गर्न जिफन्टले भन्ने गरेझैं, प्रतिनिधत्व मात्रै हैन समान सहभागिता हुनुपर्छ । महिला सहभागिताः समावेसी र समानुपातिक हुनु आवस्यक छ ।

फेरी एकपटक लुलालाई सम्झौं! उनी राष्ट्रपती भएको पहिलो दिन राष्ट्रपती भवनमा आप्mनो जीवन संगिनीसंग भन्दै थिए रे, हेर हामी गरिब आज यहाँ आइपुगेका छौं । हाम्रो ठा“उमा कोही ठालु राष्ट्रपती हुँदो हो त त्यसले जे गरेपनि जनताले मतलव गर्ने थिएनन् । हामीबाट एउटै मात्र कमजोरी भएपनि हामीलाई भोट हाल्ने जनताले छोड्ने छैनन् । किनकी उनीहरुको हामीप्रति विश्वास छ, र हामीले त्यो विश्वास टुट्न दिन हुन्न ।

समूहको रुपमा महिला बर्षौदेखि सामाजिक उत्पिडनमा छन्, उनीहरुबाट हुने कमी– ‘त्यस्तै हो’ मान्न पनि सकिएला । तर म सबै पुरुषहरुलाई सचेत गर्छु, हाम्रा सानो गल्तीको पनि टिप्पणी हुन्छ। सम्हालिऔं ।

गत वर्षको मार्च ८ मा संयुक्त राष्ट्रसंघले भन्यो– महिलालाई समानता भन्नु सबैको प्रगती हो। (6) खै भएन त! ०६३ जेठ १६ को संसदको महान घोषणा पनि पालना भएन। श्रमिकको सम्पत्तीको रुपमा स्वीकारिएको सामाजिक सुरक्षा लागु गर्न त्रिपक्षीय सहमतीमा तयार पारिएको सामाजिक सुरक्षा कोष ऐन पनि आएन । महिलाले गर्ने कामको पुनरमूल्याकन त परै जाओस अवमूल्यपनि रोकिएन । कार्यथलोको हिंसा र शरिर बेचविखनको श्रृंखलामा पनि ब्रेक लागेन । लिस्ट लामै हुन सक्छ ।

कसले गर्ने? कहाँ बाट थाल्ने?
पहिलो कुरा आ–आफ्नो शीर माथिको आकास बोक्न हामी मनैदेखि तयार होऔं । हामीले आफ्नो टाउको माथिको आकास बोक्न यो बर्षको थेम– “यसो हुन दिऊँ” तय गरेका छौं । यसो हुन दिऊँ, प्रश्न उठ्छ– कसो हुन दिऊँ?

जवाफ हाजिर छ–
राज्यले प्रतिवद्धता जनाए अनुरुप सबै स्थानमा ३३% महिला प्रतिनिधित्व कायम गराऔं। संख्या नै शक्ति हो, त्यसैले ट्रेड युनियनको हालको सदस्य संख्यामा कम्तीमा ५ प्रतिशत महिला सदस्यतामा बृद्धि गरौं । जेण्डर आधारित सबैप्रकार भेदभावको अन्त्य गरौं । काम र जीवनविचको सन्तुलन कायम गरौं । महिला बिरुद्धको हिंसा सून्यमा त झार्न नसकिएला, तर उनीहरु विरुद्ध हुने हिंसाप्रति सून्य सहनशीलता अपनाऔं !

यसो हुन दिऊँ–
पहिले हामी महिलाहरुको शरीरमाथिको अधिकार भन्थ्यौं, अहिले हामी अंश र बंशको कुरा गर्दैछौं। अंश र बंशको अधिकार अब हाम्रो आम नारा हुन पुगेको छ। त्यसैले संविधानसभा, व्यवस्थापिका–संसदमा अहिले महिला हकका सन्दर्भमा जारी ‘र की वा’ भन्ने विवादमा हाम्रो महासंघ महिला आन्दोलनको पक्षमा दृढतापूर्वक उभिएको छ।

एकजना महिला साथीको अखवारको व्यङ्गात्मक टप्पणी संझिरहेको छु– जुलुस शुरुहुँदा बहादुर महिला अघि बढ भनेर उचालिन्छ, प्रहरीको लाठो पहिले महिलामाथि बज्रन्छ । अनि प्रहरी नआइपुग्दै कोणसभाको बेलामा, साडी लगाएका महिला पर्खाल चढ्न सक्दैनन् भन्दै पुरुष अघि सर्छ र भाषण ठोक्छ! मलाई थाहा छैन, यस्तो पनि भएको थियो ? यस्तै भएको थियो भने गलत भयो। यस्तो हुन अब त दिनै हुन्न। हाम्रो समाजमा थुप्रै बहादुर छोरी–चेली छन्, प्रत्येक रचनात्मक तथा सिर्जनशील† म उनीहरु सबैलाई आजको दिनमा सलाम गर्छु । उनीहरुलाई अघि बढ्न हामी सबै सहयोगी हुर्नै पर्छ।

संयुक्त राष्ट्रसंघको यो वर्षको नाराबाट म आफ्नो भनाई रोक्न चाहन्छु– “महिलाको सशक्तिकरण– मानवता कै सशक्तिकरण होः प्रदर्शित गरौं (इम्पावरिङ् ओमन, इम्पावोरिङ् ह्युमानिटीः पिक्चर इट)!

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, आठ मार्चको हार्दिक शुभकामना!

विष्णु रिमाल
मार्च ८, २०१५ । काठमाडौं
(आठ मार्च उद्घाटन समारोहको कि–नोट)

फुटनोट

[1]  I will never tire from repeating my commitment to ensuring that every Brazilian can have breakfast, lunch, and super every day

[2]  We can not accept that current rates of change, it may take more than 70 years for women to achieve equal pay status with men.

[3]  A promise is a promise: Time for Action to end violence against woman

[4]   Men will often admit other women are oppressed but not you. ~Sheila Rowbotham

[5]   There is a special place in hell for women who do not help other women. ~Madeleine K. Albright

[6]   Equality for Women is Progress for All

Leave a comment

© 2018 Bishnu Rimal's Website. All rights reserved.
Designed By: Kshitiz  |  Hosted By: Creation Soft Nepal Pvt. Ltd.