दुःख गर्न सक्ने र सुखको सपना देख्ने  एक कलाकारलाई श्रद्धाञ्जलि !
January 15th, 2017

उनले मजदुरको ‘परिभाषा’ दिए– मजदुर भनेको के हो ? मजदुर भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने मानिस हो । त्यसैले मेरो चारवटा सामान्य सुझाब छ–मिठो बोल, म अलि टर्रो छु– यस्तो नबोल । अनुशासित होऊ, अराजक नबन । समयको ख्याल गर, लञ्जु˚ञ्जु नबन।इमान्दार बन– आफ्नैलाई घात नगर । उनले जोड दिएर भने– “हामी सबै मिलेर नै अघि बढ्नुपर्छ । युनियन बनाउने भनेको भरयाङको खुट्किला थपे जस्तै हो । तल्लो खुट्किलो बलियो भए मात्रै माथि पुगिन्छ । त्यसैले तल हेर–माथि माथि हैन!” विष्णुभक्तले जे जति त्यसदिन भने– सबैले रमाइलो मानेर सुने । सायदै धेरैले त्यसको गंभीरता महसुस गरे । आज उनलाई श्रद्धाञ्जलि दिँदै गर्दा त्यो हलमा उपस्थित धेरै साथीहरुलाई म यहाँ देखिरहेछु । आग्रह गर्छु– विष्णुभक्त बा’लाई ठीक ढंगले बुझ्नुहोस् ।

आज हामी हाम्रा लोकप्रिय कलाकार श्री विष्णुभक्त फुँयालको स्मरणमा यहाँ उपस्थित भएका छौँ । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । यहाँ उपस्थित हुनुभएका र कारणवश उपस्थित हुन नसक्नु भएका परिवारका सम्पूर्ण सदस्यहरुमा गहिरो समवेदना प्रकट गर्दछु।

आमदर्शकबीच इन्द्रावती किनारको गंभीरे माझीको चरित्रमा चर्चित लोकप्रिय रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुँयाल, पछिल्लो समयमा ‘यु आर माई लभ !’ पात्रको रूपमा युवापङ्क्तिमा प्रख्यात थिए ।

हामी जिफन्टवालाहरु उनलाई वरिष्ठ ट्रेडयुनियनकर्मीको रूपमा सम्झन्छौँ । ०३५/३६ को मजदुर आन्दोलनबाट स्थापित नेपाल स्वतन्त्र मजदुर युनियनको स्थानीय इकाई हुँदै २०५० को दशकबाट नेपाल स्वतन्त्र कार्पेट मजदुर युनियनको केन्द्रीय नेता र २०५४ को स्थानीय निर्वाचनबाट काठमाडौँ महानगरपालिका–६ का वडा सदस्यमा निर्वाचित कमरेड फुँयाल हाल जिफन्टको वरिष्ट युनियनकर्मी सञ्जालको सदस्य थिए ।

“लाइफ इज रियल्ली सिम्पल, बट वी इनसिस्ट अन मेकिङ इट कमपिल्केटेड !’ कन्फ्युसियस भन्छन्– जिन्दगी वास्तवमै सरल छ, तर हामी यसलाई जवरजस्ती जटिल बनाउँछौँ ।

विष्णुभक्त फुँयाल, हाम्रा यस्ता अग्रज युनियनकर्मी हुन्, जो जिन्दगीका घुमाउरो कुइनेटाहरुलाई सिधा रेखामा अथ्र्याउँछन् ।

हामीले जिफन्टको नियमित ट्रेड युनियन स्कूलमा एकदिन उनलाई बोलायौँ । क्यामेरा ‘अन’ गर्यौ र दिल खोलेर आफ्ना कुरा भन्न आग्रह गर्यो ।

‘क्यामेरा, लाइट, एक्सन’को झन्झटिलो दिनचर्याको सामना गर्दै आएका उनले प्रश्न गरे– यो सब के का लागि कमरेडहरु ?

हामीले भन्यौँ– यी सब हाम्रा लागि ! भावी पुस्ताको जानकारीका लागि । किनकि तपाईको जीवन, “जीवन–सङ्घर्ष–युनियनकर्म”को रंगमञ्च होस र तपाई स्वयंचाहिँ जीवन्त प्रेक्षालय हो ।

सायद उनले रमाइलो माने । “मेरो जीवन विछट्टै रमाइलो जीवन”– आफ्नै शैलीमा उनले आफेना कुरा सुरु गरे– ‘दुःख नभएका को छन् र, मैले जीवनमा दुःख पाए’ भनौँ ! कष्ट, जीवनमा आउँछ, जान्छ । यो त अनुभूति न हो, जस्तो मान्यो– त्यस्तै ! ”

उनले हामीलाई, रामेश दाइले गाउने गरेको एउटा गीत– ‘सङ्कट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्छ…..” स्मरण गराए ।

“मैले तपाईहरुलाई आफ्नो परिवारको बारेमा बताइन क्यारे । मेरी श्रीमती अलि अघि, २०४५ सालमै बितिन्, तीन छोराहरु छन् । म भन्दा अब्वल ! पढे लेखेका । दुई जना यहीँ छन्, कान्छो अमेरिकामा । गर्ने काम तीनै जनाको उस्तै उस्तै । खुशी लाग्छ– म पढ्न नपाएको मानिसको नाति÷नातिना पनि विदेशमा पढ्छन् ।”

उनी भन्दै गए, हामी सुन्दै गयौँ । जीवनका लागि उनले गरेका संघर्षका प्रत्येक पल सुन्दै जाँदा एउटा कोटेसन याद आयो– “समटाइम्स योर जोए इज द सोर्स अफ योर स्माइल, बट समटाइम्स योर स्माइल क्यान बी द सोर्स अफ योर जोए” !

कहिले तपाईंको खुशी हाँसोको स्रोत हुन्छ,
तर कहिले त्यही हाँसो तपाईंको खुशीको स्रोत बन्नसक्छ !*

मध्यसत्तरी पार गरेका उनका अनुहारका चाउरीलाई, पीडाका धर्सा नमान्ने हो भने विष्णुभक्त फुँयाल सधैँ आफ्नै  दुनियाँमा मस्त ! …

उनी कलाकार थिए, त्यसैले अभिव्यक्तिमा कलाकारिता पोखिन्थ्यो । आज के बोल्ने होला भन्नेमा म हिजो राति एकछिन अलमलिएँ– म त कलाकार हैन ?! कलाकारलाई दिने श्रद्धाञ्जलि सभामा  ट्रेडयुनियनकर्मीको टर्रो शब्द के छर्नु ?

मैले समाचार पढेँ, उनका बारेमा सामाजिक सञ्जालहरुमा पोखिएका भावना गमेँ । मैले अधिकांश अनलाइनहरुको अर्काइभ हेरेँ । भारतका विभिन्न कलाकारको जन्मोत्सवदेखि निधनसम्मका समाचार अभिलेखमा भेटिए । केही नेपाली सेलिब्रेटीका ‘गसिप’ फेला परे । २०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार विजेता यी अग्ला कलाकारका बारेमा नेपाली आमसञ्चारले जीवित रहुञ्जेल स्थान दिन सकेन सकेन तर गत साता उनीहरु आफैँले लेखेको फुँयालको ‘ओविच्युरी’ समेत गायव थियो । मनमा आयो यस्तो किन ? त्यसपछि मेरो मनमा अर्को प्रश्न उठ्यो– हुनेखाने र हँुदाखाने बीच खाडल भए झैँ, हाम्रो सञ्चार माध्यम कलाकार–कलाकारबीच पनि यत्ति साह्रो किन विभेदकारी ?

आफुले सकेको गर्ने हो– किन कसैप्रति गुनासो गर्ने’ भन्ने विष्णुभक्तकै भनाइ संझिएँ र घत परेको एकजना भारतीय कवि हेमन्त चौहानको यी पङ्क्ति संझिएँ–

आफ्नै आँटमा उभिएर ,
आफ्नो प्रतिभा देखाउँछु !

कोही मञ्च दिऊन् या नदिऊन्,
आफ्नै रंगमञ्च बनाउँछु !

जो आफुलाईस्टारठान्छन्,
तिनकै सामु चम्कन्छु !

तिनका चमकलाई फिका पार्ने,
सूर्य आफैँलाई बनाउँछु !!**

मलाई लाग्छ विष्णुभक्त यस्तै ‘सेल्फमेड आर्टिस्ट’ थिए । वास्ता नगर्नेले पनि चासो नराखी सुखै नपाउने ।

उनी सुरु भए ८–९ वर्षको उमेरबाट । अनि अड्डिए– बाइरोडको बाटोमा !

“अरुको जस्तै मेरो जीवन पनि बाइरोडको बाटो जस्तो धेरै घुम्तीमा लतारिएको जीवन हो ।” उनले भने– “त्यति खेर ४÷५ कक्षा पढेको भए, खरीदार÷सुब्बा हुन्थेँ । मलाई पनि रहर त थियो नि पढ्ने, के गर्ने? एक दिन पढ्न गएको – घर फर्किएपछि मार गाली खाइयो ।

“धनीको छोरोको सिको गर्दै तैँले पनि पढ्ने ?”

त्यस दिन भात खान पनि पाइएन, अनि त्यसपछि पढ्न पनि गइन ।

‘अनि सानैदेखि मजदुरीमा जोडिए’ । मेरो बेल्चा÷सावेलसँगको सम्बन्ध १५ वर्षको उमेरमा भयो । कान्ति राजपथ, जसलाई हामी बाइरोड भन्छौँ, त्यही बन्दै थियो । म मकवानपुरको चुने बगर भन्ने ठाउँमा सावेल÷बेल्चा चलाउन पुगेँ । एक हप्ता काम गरेपछि मेरो आँट मर्यो ।”

उनी सम्झिन्छन्– ‘त्यतिखेर धेरै मानिस रोजगारीको लागि कलकत्ता जान्थे । चिसापानी गढीमा  प्रवेशआज्ञा जस्तो लिनु पथ्र्यो । मसँग त्यस्तो कागज केही थिएन । चलाखी गरेँ, डोको बोकी गएको थिएँ । कता ? भन्नेलाई– म त मजदुरी गर्न चुने बगर हिँडेको भनिदिए’ । छुट पाइयो, बिना स्वीकृत कलकत्ता लागेँ ।

जिफन्टको नियमित ट्रेडयुनियन स्कूलका सहभागीलाई यी भेट्रान युनियनकर्मी ‘के हो र के होइन मजदुरी भन्ने’ संझाउँदै थिए । “म अचेल सानो÷ठूलो पर्दामा देखिने कलाकारिता र रंगमञ्चकोकाम पनि त मजदुरी न हो, तपाई÷हामीले गर्ने अन्य मजदुरी जस्तै ! ज्याला लियो, लगाएको काम गर्यो !!”

उनले भने– कलकत्तामा मैले के गरेँ नसोध्नुस्, मैले के मात्रै गरिन ? चार वर्षपछि म फर्किएँ । राम्रो कुरा, मैले कुकको काम जानेँ । दुनियाँको भिन्न पाटो देखेँ ।
विष्णुभक्त संझिन्छन्– त्यतिखेर काठमाडौंमा एउटा ठूलै होटल थियो, रोयल होटल, त्यसका जनरल मेनेजर बोरिस भन्ने अङ्ग्रेजी बोल्ने विदेशी थिए । होटलको अप्रत्यक्ष मालिक राजा महेन्द्रका भाइ बसुन्धरा थिए । त्यहाँ ‘कुक’ खाली छ भन्ने थाहा लाग्यो । त्यहीँ पुगेँ, तर मेनेजरले कुक÷सुक हैन वेटरको काम गर्छस् भनेर सोध्यो ।

नहुनु भन्दा केही हुनु राम्रो ठानेर मैले हुन्छ भनेँ । हुन्छ भनेपछि त्यसले अत्तो थाप्दै

हपार्यो– यस्तो झ्यासे भएर, दाह्री/साह्री नकाटी आउने हो त ? जा सफा भएर आइज ।

म दाह्री काट्न हिँडेको मानिस, रञ्जना हलको छेउमा पुगेँ । राम्रो फिल्म चलेको रहेछ, सुट्ट हलभित्र छिरेँ । हेर्नुस्, जसको जेमा ध्याउन्न हुन्छ, क्रमैसँग त्यतै तानिने स्थिति हुँदो रहेछ । मलाई कलाकार बन्नु रहेछ– फिल्म र नाटक भनेपछि हुरुक्कै !

उनले काम र कलालाई यसरी जोडे ।

म होटल पुग्दा थाहा पाएँ मेरो विषयलाई लिएर त्यहाँ त हडतालै भएछ । नयाँ केटोलाई सिधै वेटर कहाँ हुन्छ भन्ने कुरो उठेछ । मसाल्चीमा काम गर भनियो । पहिले त गर्दिन भनेर हिडेँ तर त्यहीँ काम गर्ने एउटा लैनचौरको मान्छेले भन्यो– हेर भाइ, २÷४ महिना मसाल्ची बन, पछि प्रमोसन भइ हाल्छ नि । मैले पनि त त्यसै गरी काम थालेको हो ।

चित्त बुझ्यो, त्यसै गरी काम थालेँ । बेलायती महारानी एलिजावेथको भ्रमण मलाई फलिफाप भयो । बेंकेट पार्टीमा वेटर पुगेन, त्यसपछि मलाई वेटरको काम गराइयो । भ्रमण सकिएपछि अलिअलि कचपच उठे पनि म वेटर भएँ ।

हामी विश्वका मजदुर एक हौँ भन्छौँ नि,  यस घटनापछि। यो पनि रामकृष्ण ढकालले गाएको गीत– ‘… यो त भन्ने कुरा न हो…’ भने जस्तै  पो होकी जस्तो मलाई लाग्यो ।

कार्यथलोमा देखिने ‘वरिष्ट/कनिष्ट’का झमेला उनले यसरी बताए ।

उनले २०१६ सालमै होटल मजदुरहरुले सुरु गरेको ‘सेवा शुल्कको आन्दोलन’ संझिए । “कलकत्ताको हडताल पो हडताल, यहाँ त केको हडताल” उनले संघर्षका पाटा कोट्याए । आन्दोलनमा त्यहाँ हुने श्रमिक बीचको एकता, र संझिए आन्दोलन अघि बढ्दै जाँदा लगलग खुट्टा कमाउने आफ्नै साथीहरु ।

उनले युनियनसँगको आफ्नो संस्थागत साइनो २०१६ सालमा बनेको ‘होटल पारिश्रमिक संघसँग जोडे, जुन १ वर्ष नबित्दै ०१७ सालको फौजी काण्डपछि प्रतिबन्धित भयो ।

२०२० सालमा शंकर होटलमा किचनमा काम गर्न थालेको घटना उनी गर्वका साथ बताउँछन् । फेरि सर्विस चार्ज, फेरि हडताल, अनि जागिरमाथिको झुण्डिने तरबार … यस्तै श्रृङ्खला उनले सुनाए । “बंगाली सेफ थियो । किचन बन्द नभई आन्दोलन नहुने । उसलाई आन्दोलनमा जोड्नै पथ्र्यो। आन्दोलन गर्ने कि नगर्ने भन्दा उसले भन्यो, मैले विश्वासघात गरे सात बाउको छोरा । कुरा पत्याइयो । तर हडताल सुरु भएपछि त्यो बिक्यो, फेरि एक्लै ।”

नेपाली र प्रवासी मजदुर बीचको निष्ठामा आउने खाडल उनले यसरी अथ्र्याए ।

उनी ‘भ्वय् फ्वगिं (भोज मागेर खाने मान्छे)’ जस्ता उपमा दिएर हेपेको पनि संझिन्छन् । उनले आफ्नो स्वभाव बताए– “नराम्रा शब्दले जसले हेप्छ, त्यसलाई घोक्रयाउन पनि म पछि परिन ।”

शंकरमा लफडा परेपछि काम थालेको एकै वर्षमा काम छोडिदिएँ । शंकरमा भन्दा कम तलब पाउने इन्दिरा रेष्टुराँमा काम थालेँ ।

“७५ रुपैंयाको नोकरी छोडेर ५८ रुपैंया पाउने त्यो ठाउँमा काम गर्न जाँदा पनि चैन भने भएन । त्यहाँ एउटा लोकल दादा काम गर्दो रहेछ, त्यसैसँग फेरि लफडा परयो । त्यसले मलाई ‘माकः ख्वाः (बाँदर मुखे)’ भन्यो, मैले त्यसलाई ठटाइ दिएँ । त्यसपछि कामबाट फेरि निकालिएँ ।

पहिलो चोटि करार र निममित कामदारको भेद आरएनएसीमा कुक भएपछि थापा पाएको उनी सम्झन्छन् । विष्णुभक्त संझदै थिए– काम गरेको २२ दिनपछि एकजना हाकिमले भने, ‘इण्डियनले जस्तो किन करारमा काम गरेको ?”
“त्यसपछि नियमित श्रमिकको रूपमा नयाँ कुक त भइयो । तर मैले २२ दिनको ज्याला माया मार्नु पर्यो ।”

एकपछि अर्को ठाउँमा भौँतारिनु उनको दिनचर्या जस्तै हुन पुग्यो । उनी बुढानीलकण्ठ स्कूलको एकजना टिचरको’मा दुई वर्ष कुक बने । त्यसपछि लोत्से होटलतिर हानिए र त्यसैको हेडकुक हुनपुगे ।

मालिक थिए डाक्टर, म थिएँ विरामी । उनी उपचार गर्ने, म उनको होटलको कुक बन्ने । यहाँ तलब सुबिधाभन्दा मानवीय सम्बन्धको सौदाबाजी थियो । तर अचानक “तारागाउँको विज्ञापनले लोत्सेको काम पनि डगमगायो ।

‘त्यसो त ती ‘डाक्टर मालिक’ले यसरी छोडेर नि जाने हो भन्दै नहप्काएका हैनन् । मैले तलब बढी पाए’ के गरौँ त ? भनेँ ।”

तारागाउँको हेडकुक ५ सालसम्म चल्यो । त्यसपछि पढाइ र तहको लफडा आयो । विष्णुभक्त भन्छन्– ‘पाँच वर्ष काम गरेपछि एसएलसी पास नभएको भनी चौथो तहमा झारियो । हडताल त त्यहाँ गर्नुपथ्र्यो, के गर्ने तागत पुगेन ! तर मैले निहुँ भने खोजेँ– पाँचौँ तहको मानिस पाँच वर्ष काम गरेपछि छैटौँ तहमा उकलन्छ कि चौथो तहमा ओर्लन्छ ?’

धनसा महारानी, ऐश्वर्यकी दिदी, उनी आइन् र संझाउन थालिन् । अङ्गुरबाबा जोशीले थपथाप गरिन् ।

“तिमीसँग सर्टिफिकेट छैन नि त !”

मैले उल्टै प्रश्न गरेँ– ‘सर्टिफिकेटले काम गरेको छ कि मैले ? एस/नो/ भेरी गुड मैले भन्नु पर्ने ? प्रमोशन अरुलाई ?’

मैले हल्ला चलाएँ– तल पनि झर्दिन, कोही आए ठटाएर खेद्छु । धम्कीले काम गरयो । केही दिन यत्तिकै बित्यो ।

उनी संझिन्छन्– ‘याक एण्ड यतिमा एउटा साथी भेट्न गएको थिएँ । उनले सोधे– दाइ, तारागाउँमा हेड कुकमा अप्लाई गरेको छु । कस्तो छ त्यहाँ?’

“म त खङ्ग्रङ्गै भएँ । के भन्नु, त्यहाँ आउनेलाई मैले ठटाउने भनेको छु भन्नु? मैले राम्रो छ, गए हुन्छ भनेँ र आफू चाहिँ लागेँ होटल अन्नपूर्णमा ।”

अन्नपूर्ण होटलमा सहदेव समसेर राणाको बिगबिगी थियो । कोही संगठनमा लागेको भए निकाल्छु भन्दै हरेक हप्ता थर्काउँथे । यत्तिकैमा ०३५/३६ सालको राजनीतिक माहौल सुरु भयो ।

“म पनि त्यतै लागेँ । यसपछि म संगठनमा आबद्ध हुनुपर्छ भन्नेमा पुगेँ । ०४० मा अहिलेका सांसद विनोद श्रेष्ठमार्फत् नेस्वमयूको साँस्कृतिक परिवारमा जोडिएँ । ०४२ पछि नाटक लेख्ने, नाटक खेल्ने गर्न थालेँ । सँगसँगै युनियनमा साथीहरु संगठित गर्ने जिम्मा पनि पाए ।”

‘नढाँटी भनौँ?’ उनले भने– “म संगठकको रूपमा चाहिँ गतिलो रहेनछु । पेप्सीमा १५ दिन धाउँदा पनि युनियन बनाउन सकिन । एकजना पाले बाहेक कोहीसँग संगत नै बढेन । त्यो बेलासम्म जिफन्ट बनिसकेको थिएन । हामी सबै नेस्वमयूमै थियौँ ।

नेस्वमयूमा पछि पछि अलि ‘ट्रिक–ट्याक्टिस’हुन थालेको समेत मैले महसुस गरेँ । त्यस्तै भएपछि म बिस्तारै नाटक खेल्ने बहानामा नेस्वमयूबाट अलि पाखा लागेँ ।

छयालिस सालमा जिफन्ट बन्यो । त्यसको केही वर्षपछि म कार्पेट क्षेत्रमा गए । कार्पेटमा चाहिँ साथीहरुले धेरै नै मानभाउ दिए, सिधै म केन्द्रको उपाध्यक्ष भएँ ।”

कार्पेट युनियनमा उनी बढी नै रमेको अभिव्यक्ति दिए । “कार्पेटमा चाहिँ युनियनको लागि पैसा पनि कमाइयो, खुबै नाटक खेलियो ।”

उनी विगततिर घरी–घरी फर्किंदै आफ्नो कुरा राख्दै थिए– ‘म अलि उग्रै थिए’, चित्त नबुझेको मानिसलाई बंगारा÷संगारा झारौँ पनि भनेँ । तर आफुले नजानेको कुरामा मैले जे हो त्यही भन्न पनि लाज मानिन । ०५४ सालको चुनावमा म कामपा–६ को वडा सदस्य भएँ । घरघरमा भोट माग्न जाँदा भनेँ– म आफैँ केही गर्न सक्दिन, तर तपाईंहरुले भनेको चाहिँ गर्छु । चित्त बुझे भोट दिनुहोला । जनतालाई चित्त बुझेछ, विपक्षीको भन्दा २४८५ भोटले जितेँ ।’

के तपाईं परिवर्तनप्रति सन्तुष्ट हुनुहुन्छ ? प्रचार विभागका सदस्य सुनिल न्यौपानेले प्रश्न गरे ।

उनले भने– “किन नहुने ? मजदुर/किसानको पार्टी बनाउने, मजदुरले पनि सरकार चलाउने भन्ने सुनेको थिएँ । म आफैँ मजदुर भएकोले यसले मलाई छोयो । परिवर्तन साना साना कुरामा पनि हेरौँ न । मलाई होटलमा सेफ नेपाली भए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले अधिकाङ्श ठूला होटलमा नेपाली नै सेफ छन् ।  मजदुर युनियनको आफ्नै एउटा घर होस्, भन्ने लाग्थ्यो । जिफन्टको विशाल घर बन्यो ।”

उनको मनमोहन मजदुर भवनको एउटा कोठा नाटक घर होस् भन्ने इच्छा रहेछ । भनि हाले– त्यो घरमा नाटक देखाउने इच्छा थियो, पाएको छैन ।

उनको त्यो इच्छा पूरा गराइदिन नपाएकोमा मलाई अहिले दुःख लागेको छ ।

उनले अगाडि भने– सरकार चलाउने कुरा, म शान्ति जिरेललाई सम्झन्छु । मेलै कार्पेटबाट नाटक खेलाउँदा ती मजदुर बहिनी नेपालीसमेत शुद्ध बोल्न सक्नुहुन्न थियो । उहाँ नै हामीहरु सबैभन्दा पहिले सभासद बन्नुभयो । कमरेड मुकुन्द त श्रममन्त्री नै हुनुभयो । अहिले विनोद सांसद हनुहुन्छ, हेर्दै जाउँ के के हुनुहुन्छ ! यो भन्दा बढी के चाहियो ? मजदुर युनियनका मानिसले देश त हाँकेकै हो नि, हैन ?

सुनिल सायद सन्तुष्ट हुनुभएनछ क्यारे ! प्रश्न गर्नुभयो, ट्रेडयुनियनमै पहिले र अहिले के फरक पाउनु भयो त ?

‘धेरै फेरिएको छ ।’ उनले भने– जिफन्ट नभएको भए यहाँसम्म आइपुगिने नै थिएन । पहिला हामी सबै ठूटे ! म नेस्वमयुको जिल्ला उपाध्यक्ष हुँदा अध्यक्ष अर्जुन थापा थिए । उनी पनि केही नजान्ने ठूटै, म त झन ठुटे ! अहिले हेर्नुस् त, हामी कति जान्दछौँ ?

साथीहरुमा अलि सौकिन पन बढेकोमा भने उनी अलि दिक्क थिए । भने– मोबाइलले साथीहरुलाई ˚टाहा बनायो । घरमै हुन्छ, छेउमै आइपुगेँ भन्छन् ।

‘कुरा जति गरे पनि सकिन्न । समय धेरै छैन जस्तो लाग्यो ।’ उनले कुराको बिट मार्न खोजे– ‘म मजदुरको सम्पत्ति दुरुपयोग गरेको रुचाउँदिन । ख्याल गर्नुहोला ।

‘केही सुझाब छ कि ?’ सोध्ने फेरि पनि सुनिलजी नै हुनुहुन्थ्यो ।

उनले मजदुरको ‘परिभाषा’ दिए– मजदुर भनेको के हो ? मजदुर भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने मानिस हो । त्यसैले मेरो चारवटा सामान्य सुझाब छ–मिठो बोल, म अलि टर्रो छु– यस्तो नबोल । अनुशासित होऊ, अराजक नबन । समयको ख्याल गर, लञ्जु˚ञ्जु नबन।इमान्दार बन– आफ्नैलाई घात नगर ।

उनले जोड दिएर भने– “हामी सबै मिलेर नै अघि बढ्नुपर्छ । युनियन बनाउने भनेको भरयाङको खुट्किला थपे जस्तै हो । तल्लो खुट्किलो बलियो भए मात्रै माथि पुगिन्छ । त्यसैले तल हेर–माथि माथि हैन!”

विष्णुभक्तले जे जति त्यसदिन भने– सबैले रमाइलो मानेर सुने । सायदै धेरैले त्यसको गंभीरता महसुस गरे । आज उनलाई श्रद्धाञ्जलि दिँदै गर्दा त्यो हलमा उपस्थित धेरै साथीहरुलाई म यहा“ देखिरहेछु । आग्रह गर्छु– विष्णुभक्त बा’लाई ठीक ढंगले बुझ्नुहोस् ।

अन्तमा म आफ्नै फेसबुक स्ट्याटसका पङ्क्ति उल्लेख गर्ने अनुमति चाहन्छु–

“अस्ति (पुस १७ गते) मात्रै त हो, उहाँको मसँग कुराकानी भएको ! भन्दै हुनुहुन्थ्यो– नाटक खेल्दैछु ? मैले सोधेँ आप्mनै ? उहाँले भन्नुभयो– हैन, सत्यमोहन सरको ‘याज्ञलव्य’! २२ गतेको जुलुसमा हिँड्नचाहिँ अलि सक्दिन कि !

मैले भनेँ– हिड्नु पर्दैन, चिन्ता नलिनुस् । त्यस दिन धेरै मानिस आउनेवाला छन् ।

हैन, हैन उपस्थिति जनाउन त आइहाल्छु नि ! हिँड्नचाहिँ अलि सक्दिन भनेको पो त !

मैले स्वास्थ्यको ख्याल गर्नुहोस् भनेँ । …

दुःख लागिरहेछ, यदि यी जन–रंगकर्मीसँगको यो नै अन्तिम संवाद हुनेछ भन्ने थाहा भएको भए सायद संवाद लम्ब्याउँथे होला । घतलाग्दा कति विषयमा चर्चा गर्थे होला ?

राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै बेहोस उहाँको आजै (पुस १९ गते) निधन भएको खबरले स्तब्ध भएको छु । श्रमजीवी वर्गका असल साथी, जनकलाकार कमरेड फुयाँलप्रति सिङ्गो ट्रेडयुनियन परिवारको तर्फबाट भावपूर्ण श्रद्धान्जलि व्यक्त गर्दछु । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना !

एउटा अङ्ग्रेजी भाषामा लेखिएको ‘डेडिकेटेड पोयम’ उद्धृत गर्ने अनुमति चाहन्छुः

I know I’ll be fine,
I’ll just take my time.

Public speaking is one of the things I most hate,
Makes me sick, like something gross I just ate.
Sweaty palms, shaking voice,
Have to do it, don’t have a choice.

I’ve already agreed to do this,
Close my eyes, clench my fists.
I walk up there alone,
Like a pioneer into the unknown
So I say my part,
Straight from my heart,
I look straight ahead,
Everything runs through my head.

And all of the sudden….

The deed is done,
And I have won.

अलविदा कमरेड विष्णुभक्त ! सधैँ संझिरहनेछौँ !

– See more at: http://www.chakrapath.com/content/article-on-bishnubhakta.html#sthash.BiK13Pt3.dpuf

(२०७३ पुस २७ गते, पर्यटन बोर्डको हलमा आयोजित श्रद्धाञ्जलीसभामा दिइएको मन्तव्य)/

माघ २ को चक्रपथ डट कममा पुर्णपाठ प्रकाशित । हिमाल खवर पत्रिकाको आजकै अंकमा सम्पादित अंश प्रकाशित

––––
*Sometimes your joy is the source of your smile,
but sometimes your smile can be the source of your joy.

**अपने हौसलों के बल पर हम, अपने प्रतिभा दिखा देंगे †
भले कोई मञ्च ना दे हमको, हम मञ्च अपना बना लेंगे †

जो कहते खुदको सितारा है, जगमगा कर उनके सामने ही †
चमक कर देंगे उनकी ˚िकी, और सूरज खुदको बना लेंगे ††
–हेमन्त चौहान

Leave a comment

Comments

No comments yet.