कारण सँधैभरी हुन्छन्, तर ती सँधै चित्तबुझ्दा हुँदैनन् ।
May 13th, 2017

 

भनिन्छ, सिद्धान्त ‘उत्तर–पुस्तिका’ होइन, ‘विकल्पहरु’को भण्डार हो । त्यसैले सिद्धान्तलाई ‘विज्ञान’ भनिन्छ; ‘वेद–वाइवल–कुरान–वा कुनै धर्मग्रन्थ’ जस्तो मानिन्न । सिद्धान्तमा लेखिएका कुराहरुको ‘जप’ गरिन्नन्, बरु यसलाई आप्mनो वास्तविकता अनुरुप सिर्जनात्मक प्रयोग गरिन्छ । एउटा सिद्धान्तले समय सापेक्ष थुप्रै उत्तरका लागि विकल्प खुला गरिदिन्छ । जस्तो की २++२ = -बराबर के हुन्छ भन्यो भने उत्तर– ४ हुन्छ; तर ४= के हुन्छ भन्यो भने हामीसँग धेरै उत्तर हुन सक्छ। “२+२= ४ हुन्छ, उत्तर हो भने ४= के, के हुन्छ?” भन्ने चाँहि सिद्धान्त जस्तो! तथ्याङ्कको भण्डारले हामीलाई तथ्य के छ भन्ने बताउँछ, र प्राप्त तथ्यलाई कसरी मानव जातीको हितमा सदुपयोग गर्ने भन्ने चाँहि हामी मै निर्भर गर्दछ ।

आमन्त्रित विशिष्ट व्यक्तित्वहरु,

प्रकाशनको बारेमा आमन्त्रित व्यक्तित्वहरुले धेरै भनि सक्नु भयो । तसर्थ, यसमा धेरै चर्चा गरिरहनु पर्ला जस्तो ठान्दिन । जे छ, छापिएको छ । यहाँहरुको सुझाव आगामि दिनका लागि मार्गदर्शन हुने नै छ ।

यो प्रकाशन गरौं की/नगरौं भन्नेमा म वास्तव मै द्विविधामा थिएँ । मैले यस हलमा उपस्थित कतिपय व्यक्तित्व र कतिपय आज कारणवस उपस्थित हुन नसक्नु भएका थुप्रै मित्रहरुसंग उहाँहरुको राय मागेको थिएँ ।

केही साथीहरुले उत्साहित पार्दे भन्नु भयो– किन नगर्ने? जिफण्टका मेरा सहकर्मीहरुले भन्नुभयो– गरौं भोलीको लागि पनि यो सान्दर्भिक हुनसक्छ!

साथीहरुले दिनु भएको आँटका बाबजुद, आज भन्दा १९९ बर्ष अघि आज कै दिन जर्मनीमा जन्मिएका एकजना दार्शनिक– कार्ल मार्क्सको एउटा भनाई संझें ।

“कारण सँधैभरी हुन्छन्, तर ती सँधै चित्तबुझ्दा हुँदैनन् ।” ( रिजन हायज अलओएज एक्जिस्टेड, वट नट अलओएज इन अ रिजनेवल फर्म)

मेरा भनाई कति तर्कसंगत होलान् आफैंलाई प्रश्न गरिरहंदा– यसै हलमा उपस्थित एकजना साथीको सुझावबाट मैले आफ्नो द्विविधा हटाएँ– उहाँले साइमन सिनेकको “द गोल्डेन सर्कल थ्योरी”बारे चर्चा गर्दे भन्नु भयो– केका लागि (ह्वाट डु यु डु) र कसरी (हाउ डु यु डु) भन्नेमा सबैले लम्बेतान व्याख्या गर्न सक्छन् । तर किन (ह्वाइ डु यु डु) भन्नेमा धेरै अलमलिन्छन् । यो सानो कुरा हो तर कारण खोज्नु सकिएन भने ‘ह्वाट’ र ‘हाउ’ व्यर्थ हुन्छ । मैले तपाईलाइ बुझाउन सकें?!

मैले फेरी मार्क्सलाई संझें । कतै उनले भनेका रहेछन्–

म केही होइन, तर मैले सबैथोक हुनैपर्छ । (आए एम नोथिङ्ग वट आइ मस्ट वी एभ्रिथिङ्ग)

कुनैपनि प्रणाली व्यवस्थित नभएको हाम्रो जस्तो मुलुकमा यो भनाई म जस्ता पात्रको भोगाई पनि हो । म को हुँ र मैले भनेको कसैले सुन्नु पर्ने, पढ्नु पर्ने? यसो भनेर चुप लाग्दा, खास समयमा मैले र म जस्ता हामीले किन र के कारणले नबोलेको भन्ने प्रश्नको सामना गर्नै पर्ने रहेछ । अन्यथा अर्थ नलागोस्, त्यसैले हामीहरु “कसको देशमा को तन्नेरी” भए जस्तै हुनुपर्ने रहेछ ।

एउटा प्रसंग राख्ने अनुमति चाहन्छु । आजभन्दा २५ बर्ष पहिले एकजना पढेलेखेका साथीले भेटौं न भन्नु भयो । मैले समय मिलाएर खवर गर्छु भनें । उहाँ भोली नै भेटौं न भन्नु भयो? मैले व्यस्त भएको जनाउन दिएँ । उहाँले प्रश्न गर्नु भयो– अहिले हडताल/सडताल छैन के मा व्यस्त हुनुहुन्छ यार? अर्कोले त अझ कुल्ली–कवाडीको संगठनमा तँ के बसी रहेको हो? समेत भन्न भ्याए ।

हाम्रो महासंघका निवर्तमान महासचिव त्रिविविको अर्थशास्त्रका सहप्राध्यपक हुनुहुन्छ । तिसौं बर्षदेखि स्नताकोत्तरका विद्यार्थीलाई अर्थशास्त्र पढाउँदै आउनु भएका उहाँलाई मैले एक दिन सोधें– तपाईलाई जीवनको सबैभन्दा कठीन काम के लाग्छ? उहाँले भन्नु भयो– विष्णु कमरेड सबैभन्दा कठीन काम भनेको मान्छेलाई बुझाउनु हो ।

मैले पनि मेरा साथीहरुलाई ट्रेडयुनियनले कार्यथलो सुरक्षादेखि राष्ट्रिय योजना आयोगको हलमा आयोजना गरिने छलफल सम्ममा संलग्न नहुँदा के हुन्छ बताउनै जानिन । जलबायु परिवर्तनका मुद्दादेखि श्रम तथा रोजगार नीति, कर तथा अन्तर्राष्ट्रिय सन्धि संझौतासम्मका विषय युनियनवालाको दिनानुदिनको काम भित्र पर्छ भन्ने बुझाउनै सकिन ।

युनियन भित्र पनि यस्तो हुने गर्छ । एकचोटी म श्रमशक्ति सर्वेक्षणको बारेमा बोल्दै थिएँ । साथीहरुले प्रश्न गर्नु भयो–

  • यो अर्थशास्त्रीले पढे हुने कुरामा हामी लाई के को खसखस?
  • यी सबै तथ्याङ्कको हामी सित के सरोकार छ?
  • हाम्रो राजनीति, हाम्रो सरकार र हाम्रा दलहरुसित यसको के साइनो छ?
  • राज्यबाट खर्च गरी गरी किन यस्तो सर्वेक्षण गरिन्छ?

मैले अलि घुमाउरो जवाफ दिएँ–

कमरेडहरु! भनिन्छ, सिद्धान्त ‘उत्तर–पुस्तिका’ होइन, ‘विकल्पहरु’को भण्डार हो । त्यसैले सिद्धान्तलाई ‘विज्ञान’ भनिन्छ; ‘वेद–वाइवल–कुरान–वा कुनै धर्मग्रन्थ’ जस्तो मानिन्न । सिद्धान्तमा लेखिएका कुराहरुको ‘जप’ गरिन्नन्, बरु यसलाई आप्mनो वास्तविकता अनुरुप सिर्जनात्मक प्रयोग गरिन्छ । एउटा सिद्धान्तले समय सापेक्ष थुप्रै उत्तरका लागि विकल्प खुला गरिदिन्छ । जस्तो की २++२ = -बराबर के हुन्छ भन्यो भने उत्तर– ४ हुन्छ; तर ४= के हुन्छ भन्यो भने हामीसँग धेरै उत्तर हुन सक्छ। “२+२= ४ हुन्छ, उत्तर हो भने ४= के, के हुन्छ?” भन्ने चाँहि सिद्धान्त जस्तो! तथ्याङ्कको भण्डारले हामीलाई तथ्य के छ भन्ने बताउँछ, र प्राप्त तथ्यलाई कसरी मानव जातीको हितमा सदुपयोग गर्ने भन्ने चाँहि हामी मै निर्भर गर्दछ ।

तसर्थ, श्रमशक्ति सर्वेक्षणले देखाएको चित्रलाई हाम्रो आन्दोलनले कसरी लिनुपर्ला भन्ने कुरा अब हामी मै निर्भर छ ।

मैले आफ्नो कुरोलाई बलियो बनाउन मार्क्सको सहारा लिएँ–

टु वी र्याडिकल इजटु ग्राप्स थिङ्गस् बाइ द रुट अर्थात् क्रान्तिकारी हुनु भनेको विषयवस्तुको चुरो समाउनु हो

ट्रेडयुनियनका केही परम्परागत दिनहरु छन्– मार्च ८, अप्रिल २८, मे १, जुन १२, अक्टोबर ७, नोभेम्बर २०, डिसेम्बर १८ आदि । यी दिनहरुमा इतिहासका गाथा दोहर्याइन्छ । त्यस्तै भाषा बोलिन्छ ।

हामीले चाँहि त्यसको सान्दर्भिकता चर्चा गर्ने गरेका छौं । दिने सन्देश स्पष्ट छ–

आज संभव देखिएका कामहरु हिजो असंभव जस्ता थिए । त्यसबाट पाठ सिक । थप प्राप्तिका लागि संघर्ष जारी राख । पीडितहरुलाई संझ/जिवितहरुका लागि लड ।

यहाँहरु धेरैलाई युनियन आन्दोलन र यसमा लाग्नेहरु अह्ररा र खस्रा लाग्न सक्छन्। उनीहरुको अभिव्यक्तिमा “शाही भद्रता” नछचल्किन सक्छ । मलाई पनि विश्वभरी कै युनियनकर्मीहरु मार्टिन लुथर किंग जुनियर को भनाइबाट प्रशिक्षित पो छन् की जस्तो लाग्छ । परिवर्तन सम्बन्धि उनको एउटा प्रसिद्ध भनाइ छ–

परिवर्तन, अनिवार्यताको पाँग्राले पेल्दै हुने होइन, निरन्तर संघर्षका कारणले हुने हो । तसर्थ, हामीले आफ्नो ढाड बलियो बनाउनु पर्छ । ढाड ननिहुरिएसम्म त्यसमाथि कोही पनि चढ्न सक्दैन ।

हाम्रा युनियनवालहरु कहिले कहिले अरु कुरा छोडेर, ढाड ननिहुराउने प्रतिस्पर्धामा दोडिरहे जस्ता लाग्छन् ।

श्रमको संसारले के समेट्छ? २/४ रुपैयाँ तलव सुविधा बढाउने र कार्यथलोमा झोंक फेर्ने काम मात्रै युनियनको हो की? युनियनका नेताको भूमिका चाँहि के हो? सुन्नेलाई सञ्चो लाग्ने भाषण मात्र ठोक्ने हो की कामको दिशा पनि तय गर्नु हो?

आफ्ना सदस्य र नेपाली युनियनको तर्फबाट विश्वलाई दिनु पर्ने समग्र विषयका सन्देश आफ्नो बुद्धिले भ्याएसम्म यो संग्रहमा लिपिवद्ध गरिएको छ । अभिव्यक्त विचारले विषयको चुरो कति छिमलेको छ, मूल्याँकनको अभिभारा अब चाँहि हाम्रो सदस्यको घेराबाट पर आम पाठकसम्म पुर्याउन पनि यो कार्यक्रम आयोजना गरिएको हो ।

श्रम संसारका धेरैले कार्ल मार्क्सका भनाईलाई “विश्वका श्रमिक हो एक होऊ” या “हार्नलाई हत्कडी र जित्नलाई सारा संसार”को रुपमा प्रस्तुत गर्ने गरेको पाइन्छ । यसबाट उर्जा प्राप्ति हुनुका साथै, प्रदीप ज्ञवालीज्यूको शव्द सापट लिंदा, कहिले कहिले “विकृतिका बाछिटा” पनि युनियन आन्दोलनमा पर्ने गरेको छ ।

सचेत नहुँदासम्म आवस्यकता अन्धो नै हुन्छ । स्वतन्त्रता आवस्यकताको सचेतनता हो (नेसेसिटी इज ब्लाइन्ड अन्टील इट विकम्स कन्सस। फ्रिडम इज द कन्सस्नेस् अफ नेसेसिटी)।

कुरोको चुरो समाउन हामीले मार्क्सको यो कोटेशनलाई बढी चर्चा गर्ने गरेका छौं ।

अजको कार्यक्रममा हाम्रो आमन्त्रणलाई स्वीकार गरेर आउनु हुने–कमरेडहरु मुकुन्द न्यौपाने, प्रदीप ज्ञवाली, श्री हरि शर्मा, डा सोमलाल सुवेदी, श्री भवानी राणा, दाइ लक्ष्मण बस्नेत सहित जेटियुसीसीका नेताहरू, अन्य आमन्त्रित अतिथि एवं सञ्चारकर्मीहरू र अन्य सहकर्मीमा धन्यवाद ।

प्रकाशनसंग जोडिनु भएका- कमरेडहरु शार्दूल भट्टराइ, महेन्द्र श्रेष्ठ, किरण माली, मनोज पाण्डे, जिफण्टका साथीहरु, अंग्रेजी संस्करणमा जोडिनु भएका कमरेड वालकृष्ण कट्टेल, डा युवराज खतिवडा, डा प्रवीण सिन्हा, डा शरण केसी, मुकुन्द कट्टेल, उषाकिरण भण्डारी लगायत सबैमा धेरे धेरै धन्यवाद ।

(गरिखानेका नाममा  प्रकाशनको लेखकका रूपमा त्यसको सार्वजनिकीकरण कार्यक्रमा दिएको मन्तव्य। अल्फा हाउस बानेश्वर; कार्ल मार्क्सको २०० औं जन्मदिन (मे ५)/ २२ बैशाख २०७४)

Leave a comment

Comments

No comments yet.