ओली कार्यकालका रोचक १२ स्मरणीय प्रसंग
July 9th, 2017

एमाले अध्यक्ष केपी ओलीको प्रधानमन्त्रीको कार्यकाल सहज रहेन । भारतीय नाकाबन्दी र मधेस आन्दोलनले देश अस्तव्यस्त बनेका वेला ओली प्रधानमन्त्रीको कुर्सीमा पुगेका थिए । उनका गतिविधिले भारतसँग झनै सम्बन्ध चिसिएको भनेर आलोचना भयो । उनले नेपालमै रेल कुदाउने, आफ्नै पानीजहाज किन्ने र हावाबाट बिजुली निकाल्ने ‘विकासे सपना’ बाँडेर उनी व्यापक चर्चामा रहे । उनका हरेक अभिव्यक्ति, झर्न नपाउँदै ‘भाइरल’ भए । उनै ओलीको प्रधानमन्त्री कार्यकालमा प्रमुख सल्लाहकार थिए, विष्णु रिमाल । उनले नयाँ पत्रिकाका शुरोजंग पाण्डेसँग बाहिर नआएका ओली कार्यकालका रोचक १२ प्रसंग सुनाएका छन् :

विष्णु रिमाल, तत्कालीन प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकार

जब प्रधानमन्त्रीको गाडी रातमा बीचसडकमै रोकियो
प्रधानमन्त्री बनेको केही दिनपछि थापाथलीको एउटा कार्यक्रमबाट प्रधानमन्त्रीज्यूसहित हामी ‘कार्गेड गाडी’ चढेर करिब राति ११ बजेतिर बालुवाटार फर्किंदै थियौँ । बालुवाटारको गेटैअघिल्तिर जनताको ठूलो भीड मट्टीतेल र ग्यास भर्ने लामै लाइनमा थियो । सामान्यतया त्यस्तो भिडमा अप्रिय घटना हुन सक्छ भनेर सुरक्षाकर्मीले ‘कार्गेड गाडी’ रोक्न दिँदैनन् । साइरनसहितको झिलिमिली प्रधानमन्त्रीको कारगेड भिडले देख्यो । सुरक्षाकर्मीलाई जसरी पनि त्यो छिचोल्नु थियो । लौरो हल्लाउँदै छिचोल्न कोसिस गर्दा भिड कराउन थाल्यो । प्रधानमन्त्रीज्यूले गाडी बीच सकडमै रोकाउनुभो । झ्याल खोलेर सबैलाई अभिवादन गर्दै हात हल्लाउनुभो । भिडबाट ठूलो आवाज गुञ्जियो– प्रधानमन्त्रीज्यू !

भारतसँग खुट्टा नकमाउनुस्, १०–२० रात मात्रै होइन, हामी १० महिना पनि लाइन बस्न तयार छौँ, तर कुनै हालतमा नझुक्नुस्, देशको शिर नझुकाउनुस् । जाडोको मौसमको त्यो रात चिसोको प्रवाह नगरी लाइनमा बसेको भिडले मुर्दावादकै नारा लगाए पनि सुन्नैपर्छ भन्ने लागेरै प्रधानमन्त्रीज्यू आफैँले गाडी रोक्न लगाउनुभएको थियो । जवाफमा उहाँले भन्नुभो– धन्यवाद ! हामी कोसिस गर्दै छौँ, सबैको साथ र सहयोग आवश्यक छ । त्यो घटनालाई म अविष्मरणीय मात्रै होइन, कार्यकालकै निकै भावुक घटनाका रूपमा सम्झिरहन्छु ।

राजेन्द्र महतोलाई पक्रिने त्यो सन्देश
दशगजामा धर्नामा बसेका महन्थ ठाकुरजी, राजेन्द्र महतोजीलगायत थुप्रै नेतासँग प्रधानमन्त्रीले एक्लाएक्लै कुरा गर्नुभएको थियो । खासमा ती भेट खुलेरै मनका कुरा गरौँ भन्ने उद्देश्यले हुन्थे । सायद, उपेन्द्रजीसँगचाहिँ निकै कम कुरा भए । मैथिलीमै कुरा गरेर पनि प्रधानमन्त्रीले आत्मीयता देखाउने प्रयास गर्नुहुन्थ्यो । नाका खुल्नु ठीक एक–दुई दिनपहिले राजेन्द्र महतोजी दशगजाबाट प्रधानमन्त्रीसँग कुरा गर्न सीधै बालुवाटार आउनुभयो । प्रधानमन्त्रीले उहाँलाई प्रस्टै सन्देश दिनुभो, ‘अब नाकाबन्दी हट्छ, तपाईंहरूले थेग्न सक्नुहुन्न, त्यसैले दशगजामा अब धर्नामा बस्दै नबस्नुस्, जनताले तपाईंहरूको साथ छाडिसके । हामीले नेपालपट्टिका भारतीय गाडी छाडिदियाैँ, नाकाबन्दी खुलाउने ‘टेस्ट केस’ सुरु भइसक्यो, नाका छाड्नुस् । अटेर गरिरहनुहुन्छ भने तपाईंहरूलाई दशगजाबाट उठाउँछौँ (पक्रिन्छौँ) । त्यसपछि पनि नाकाबन्दी नखुले भारतीय सरकारसँग सीधा कुरा गर्छौं । त्यसपछि तपाईंहरूको काँधमा राखेर बन्दुक चलाउने भारतको काम पनि अन्त्य हुनेछ ।’

देउवा–हृदयेशको तिमी–तिमीको त्यो हाँसो
मधेसी मोर्चाले राखेका मागका विषयमा त्यतिवेला दर्जनौँ वार्ता भए । तर, प्रत्येकमा उहाँहरूका माग भने पातलिँदै गएजस्तो महसुस हुन्थ्यो । हामीले त्यतिवेला मोर्चाको मागै बुझिएन भनेका हौँ, तर मिडियाले त्यसमै टेकेर ३९ पटकसम्म वार्तामा बस्दा पनि थाहा छैन भन्दै प्रश्न उठायो । वास्तवमा माग नबुझिएकै हो । यसबारे रमाइलो प्रसंग छ । बालुवाटारमा एक दिन दिउँसो २–३ बजेतिर सत्तारुढ, प्रमुख प्रतिपक्षीसहितको सर्वदलीय बैठक थियो । प्रमुख विपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवासहित मधेसी मोर्चाका सबै शीर्ष नेता बैठकमा हुनुहुन्थ्यो । छलफलमा कुरा लर्या‍ङलुरुङ हुँदै जाँदा शेरबहादुरजीले एक्कासि मधेसी मोर्चाका नेतारुलाई ठाडो प्रश्न सोध्नुभो, ‘तपाईंहरूको माग के हो ?’ सबै मुखामुख गर्न थाले । अलमलकै बीचमा हृदयेश त्रिपाठी प्वाक्क बोल्नुभो । ‘उहाँहरूबीच तिमी–तिमी नै चल्दो रहेछ, यस्तो सम्वाद चल्यो ।
हृदयेश : तिमीलाई अझै थाहा छैन ?
देउवा : मलाई के माग हो थाहा छैन ।
हृदयेश : त्यसो भए अस्ति दिएको त्यो (कागज) कहाँ गयो ?
देउवा : अँ, के कागज देको थ्यो ?

हाँसो चल्यो बैठकमा । सायद शेरबहादुरजीले ‘मिनिमाइज’ गरेर होइन, कन्फ्युज भएकैले त्यसरी बोल्नुभएजस्तो लाग्छ । फेरि अर्को कागज दिइयो, माग थपिएको थियो कि थिएन थाहा छैन । तर, त्यस्तो कागज हामीले धेरैपटक बालुवाटारमा फोटोकपी गरेका थियौँ । फेरि फोटोकपी बाँडियो, शेरबहादुरजीले एक प्रति लिनुभो, अध्ययन गरेर बोलौँला भन्दै हिँड्नुभो ।

मोदीको डिनर नखाने प्रधानमन्त्रीको अडान
प्रधानमन्त्री बनेलगत्तै भारतले औपचारिक भ्रमणको निम्ता दियो । भारतीय राजदूतले भेटेरै औपचारिक जानकारी गराए । एक दिन प्रधानमन्त्रीले भारतीय राजदूतलाई डाकेरै भन्नुभो, ‘म भ्रमणमा जान तयार छु । हामी भारतसँग सुमधुर सम्बन्ध स्थापित गर्न चाहन्छौँ । तर, हाम्रा जनता पेट्रोल र मट्टीतेलका लागि रातभर लाइन बस्ने, मचाहिँ राष्ट्रपति भवनमा बसेर प्रधानमन्त्री मोदीजीसँग बसेर ‘डिनर’ खान सुहाउँछ ? जनताले महसुस गर्ने गरी औपचारिक रूपमै नाकाबन्दी नहटेसम्म जान सकिन्न ।’ तर, हट्ने वातावरण बन्दै गयो । जाने कि नजाने दिउँसो बहस चलिरहेकै थियो । तर, जतिवेला पनि भ्रमण स्थगित हुन सक्ने स्थिति थियो । साँझको प्रजातन्त्र दिवसको ‘रिसेप्सन’मा भारतीय राजदूतले ‘ब्लकेड’ हटेकै जानकारी गराएपछि प्रधानमन्त्रीसहित नेपाली टोली साँझ भारत भ्रमण प्रस्थान गरेको हो ।

भारत भ्रमणको  पहिलो ‘सरप्राइज’
भारत भ्रमणमा हामीलाई कसले स्वागत गर्ने भन्ने औपचारिक जानकारी गराइएको थियो । कूटनीतिमा कतिपय कुरा ‘सरप्राइजिङ’ हुन्छन्, त्यो कुनै न कुनै रूपमा ‘इन्डिकेसन’ गरिएकै हुन्छ । तर, त्यस्तो सुइँकोविनै हामीलाई विमानस्थलमा पहिलो ‘सरप्राइज’ दिइयो । राज्यमन्त्री आउने अनुमान हाम्रो थियो । प्लेन ल्यान्ड हुनेबित्तिकै राज्यमन्त्रीले नै स्वागत गर्नुभयो । तर, भिआइपी कक्षमा लिफ्टबाट झर्दै गर्दा परराष्ट्रमन्त्री सुष्मा स्वराज फूलमाला लिएर बसेको देखियो । कूटनीतिमा त्यो ‘रियल सरप्राइजिङ’ स्वागत थियो । तपाईंहरूको मन अमिलिएको छ, हामी साँच्चै खुसी बनाउन चाहन्छाैँ भन्ने कूटनीतिक सन्देश थियो, त्यो ।

मोदीको नोट केपीको रिमोट
भ्रमणको भोलिपल्ट भारतीय प्रधानमन्त्रीसँग ‘वान टु वान’ भेट थियो । तर, नोट गर्नुपर्ने हो भने म आफैँ जान्छु भनेर प्रधानमन्त्रीलाई जानकारी गराएको थिएँ । सामान्यतया ‘डेलिगेसन हेड’ले बोल्ने कुरा नोटमा दिने र साइडमा बसेर नोट लेख्ने चलन हुन्छ । तर, ‘डाइलग’हरूमा बस्दा ओलीले सामान्यतया सल्लाहकार या कसैका नोटलाई त्यति ‘इन्टरटेन’ गर्नुहुन्न । वार्तामा बस्नुअघि भन्नुभो, ‘जेजे सल्लाह दिनु छ, अहिल्यै दिनुस्, अहिल्यै सतर्क गराउनुस्, वार्तामा बस्दा म रिमोट हुने होइन ।’ तर, ठीकविपरीत भारतीय प्रधानमन्त्री साउथ ब्लकको ब्युरोक्रेसीसँग ‘डिपेन्डेट’ हुनुहुँदो रहेछ । उनीहरूले पानामा नोट दिएर धेरै ‘हस्तक्षेप’ गर्दा रहेछन् । दुवै प्रधानमन्त्री बाहिर निस्किँदा ‘बडी ल्यांग्वेज’ सामान्य थियो ।

राहुल गान्धीले ओलीको साथ नछाड्दा
भारतीय प्रत्येक नेताले ओलीज्यूसँगको भेटमा खुब ‘इन्जोय’ गरे । एउटा प्रसंग छ । कांग्रेस आईका नेता राहुल गान्धी भारतमा लामो कुरा गर्न नचाहने युवा मानिँदा रहेछन् । हाम्रा प्रधानमन्त्रीसँग उनी शिष्टाचार भेटका लागि आए । गेटमा आउनेबितिक्कै उनले भने, ‘के म प्रधानमन्त्रीज्यूसँग एक्लै कुरा गर्न सक्छुु ?’

मैले ‘सक्नुहुन्छ’ भनिदिएँ । उनलाई १५ मिनेटको समय दिइयो । तर, २५ मिनेट बितिसक्दा पनि कुरा नसकिएपछि म भित्रै गएँ र सम्झाएँ, ‘राहुलजी समय त ज्यादा होगया ।’ बडा खुसीसाथ कुरा गरिरहेका उनले जवाफ फर्काए, ‘मलाई त बडो आनन्द आइरहेछ, म उहाँ (प्रधानमन्त्रीज्यू)बाट धेरै ज्ञान आर्जन गरिरहेको थिएँ ।’

भारतीय राजदूत देखाउँदा उपराष्ट्रपति चकित
भारतीय उपराष्ट्रपतिलाई भेट्न हामी उहाँकै निवासमा पुग्यौँ । शिष्टाचार भेट सुरु हुनासाथ प्रधानमन्त्री ओलीले नेपालको संविधानको विशेषता बताउन थाल्नुभो । उपराष्ट्रपतिले संविधान व्यवहारमा देखिने हो, कागजमा लेखिएको नक्सा र बनाइएको नक्सा त फरक हुन्छ नि भन्नुभयो । वार्तामा बसेका भारतीय कूटनीतिक अधिकारीले भने त्यतिवेला सामाञ्जस्यता नमिलेजस्तो अर्कै व्यवहार देखाए । असहज महसुस गरिरहे । त्यो देखेपछि हाम्रा प्रधानमन्त्रीले भन्नुभो, ‘तपाईं हामी त राजनीति गर्ने व्यक्ति हौँ, आपसी मित्रता र सद्भाव चाहन्छाैँ, तर हाम्रो मित्रताको व्याख्याचाहिँ यहीँ रहनुभएका (नेपालका लागि भारतीय राजदूतलाई देखाउँदै) टिमले गर्ने होला नि !’ उपराष्ट्रपतिज्यू आश्चर्यचकित मात्रै होइन, गम्भीर पनि बन्नुभो, अनि, ती कूटनीतिज्ञतर्फ
नजर लगाउनुभो ।

प्रधानमन्त्री रातभर जागै देखेको त्यो दिन
केपी ओलीको स्वभाव अरू नेताको भन्दा बिल्कुलै फरक छ । समयको प्रवाह गर्दैनन्, लापर्बाही गर्छन्, भ्याउँदैनन् कि भन्ने उहाँप्रति धेरैमा छाप परेको हुन सक्छ । तर, सामाजिक सञ्जालमा आउने सूचनामा मात्रै होइन, छापा माध्यम र अनलाइनमा आएका समाचारबारे अरूभन्दा उहाँ बढी नै ‘अपडेटेड’ हुनुहहुन्छ । सर्टिङ गरेरै नियमित अध्ययन गर्नुहुन्छ । हामी ठट्टा गर्छौं, अरू १२ बजेपछि सुत्छन्, तर उहाँ त्यसपछि उठ्नुहुन्छ । कहिलेकाहीँ उहाँ यति पढ्नुहुन्छ कि चार बजेसम्म समय बितेको पत्तै हुन्न, जब कि ७ बज्दानबज्दै उहाँ उठिसक्नुहुन्छ । धेरैलाई केपी ओली त रोगी हुनुहुन्छ, त्यस्तो कसरी सम्भव होला भन्ने पनि लाग्न सक्छ । तर, म आफैँ त्यस्तो घटनाक्रमको साक्षी बन्दा धेरैपटक आश्चर्यचकित भएको छु । प्रधानमन्त्रीको प्रमुख सल्लाहकार हुँदा सामान्यतया म बालुवाटार ८ बजेपछि मात्रै पुग्ने गर्थें । ९ बजेसम्म ‘ब्रिफिङ’को काम सकेपछि नियमित काममा व्यस्त हुन्थेँ । तर, एक दिन बिहान सवा ७ बजेतिर पुग्दा उहाँ बालुवाटारमा उपप्रधानमन्त्री कमल थापासँग पसिना चुहाउँदै टेबलटेनिस खेल्दै हुनुहुन्थ्यो । त्यस दिन मैले उहाँलाई १२ बजे छाडेर हिँडेको थिएँ । त्यसदिन छिटोमा पक्कै २–३ बजे सुत्नुभो । तर, बिहान सवा ७ बजे पुग्दा कमल थापालाई प्रतिद्वन्द्वी बनाएर टेबलटेनिस खेल्दै हुनुहुन्थ्यो । अझ उहाँले कमल थापालाई हराइराख्नुभएको थियो । अनि हामीले जोक गर्यौँ, ‘प्रधानमन्त्रीज्यू तपाईंले त उपप्रधानमन्त्रीज्यूलाई हराइरहनुभएको छ नि !’ उहाँको जवाफ आयो– हराएरै त प्रधानमन्त्री भएको नि !

प्रधानमन्त्रीको ‘सपना’ले  हामी डराउँथ्याैँ
उहाँसँगको छलफलमा हामी प्रायः नेपालमा सपनाको खडेरी छ भन्ने गथ्र्यौं । मान्छेहरू निराश छन्, नाकाबन्दी फेस गर्ने आमजनतामा उत्साह छ, तर बुझेका, पढेलेखेका मान्छेले चाहिँ निराशा मात्रै व्यक्त गरिरहेका छन् । यस्तै, छलफल हुँदै जाँदा उहाँले हामीसँग शृंखलाबद्ध सपनाको प्रस्ताव गर्न थाल्नुभो । त्यो देखेर बरु हामीचाहिँ डराउँथ्यौँ र डिफेन्स गर्न सकिँदैन कि भन्थ्यौँ । तर, उहाँले यो गर्न सकिन्छ कि सकिन्छ भन्नुहुन्थ्यो । तीनकुनेको एउटा कार्यक्रममा सिलिन्डर काँधमा हालेर हिँड्ने दिन समाप्त पारेर घरको चुलोमै ग्याँस पाइप जोड्न सकिने कुरा गर्नुभो ।

<text missing>

सचिवलाई मन्त्रालय छाड्न सुझाब
एक वर्षभित्र आधारभूत रूपमा लोडसेडिङ अन्त्य गर्ने, दुई वर्षभित्र पूर्ण अन्त्य गरी पाँच वर्षभित्र प्रचुरतामा जाने उद्देश्यसहित योजना बनाउन प्रधानमन्त्रीज्यूले त्यतिवेला सचिवहरूको संयुक्त बैठक बोलाउनुभो, बालुवाटारमा । ऊर्जा सचिव हुनुहुन्थ्यो, सुमनप्रसाद शर्मा । उहाँले प्रधानमन्त्रीको प्रस्तावलगत्तै प्रतिक्रिया जनाउँदै भन्नुभो, ‘प्रधानमन्त्रीज्यू १० वर्षसम्म लोडसेडिङ अन्त्य हुँदैन ।’ त्यसपछि प्रधानमन्त्रीले जानीजानी सोध्नुभो, तपाईं कुन मन्त्रालयको ? अनि सचिवले जवाफ दिए, म ऊर्जा मन्त्रालयको । तपाईं के पदको ? जवाफ आयो, म ऊर्जासचिव हजुर ! त्यसो भए तपाईंको ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरण बन्द गर्दिनुस्, तपाईंले पनि छाड्दिनुस् । १० वर्षसम्म पनि अन्त्य गर्न नसक्ने तपाईं (सचिव) मेरा लागि के काम ? म अरूबाटै एक वर्षभित्र लोडसेडिङ अन्त्य गराउँछु, तपाईंले सक्नुहुन्न । प्रधानमन्त्रीज्यू रिसाएरै बोल्नुभो । त्यो दिनको तनावपूर्ण बैठक सकियो । भोलिपल्ट प्रधानमन्त्री कार्यालय आउँदै गर्दा मलाई अर्थमन्त्रीले मन्त्रालयमा डाक्नुभो । त्यहाँ जाँदा सचिव सुमनजीसहित प्राधिकरणका कर्मचारी आइसकेका थिए, वितरण शाखाका कर्मचारी पनि थिए । उनीहरूले देशभरि पूर्ण रूपमा एकै वर्षमा त सम्भव छैन, दुई वर्षमा पूर्ण रूपमै अन्त्य गर्ने एउटा योजना प्रस्तुत गरे । त्यसको ठीक एक महिनापछि ऊर्जाको रणनीतिक योजना सार्वजनिक नै भयो । त्यही योजना नै पछिल्लो सरकारले लागू गरेको हो ।

तेङ स्याओ पिङकै मोडलमा ‘नेपाल सपना’
राष्ट्रको चाँडो विकास गर्न के हुनुपर्छ ? तेङस्याओ पिङले मागेको सुझाबमा जापानी साथीले उहाँलाई राष्ट्रलाई चाँडोभन्दा चाँडो विकास गराउन यातायात र सञ्चार, उच्च ज्याला–उच्च उत्पादन भने । तर, पिङले ऊवेलै ‘यातायात र सञ्चार त म गर्छु, उत्पादन पनि गर्छु, तर उच्च ज्यालाचाहिँ अहिले नै सम्भव छैन’ भनेका रहेछन् । हामीले धेरैपटक त्यही भनाइमा आधारित छलफल गर्यौँ‍ । यातायात के हो त हाम्रो सन्दर्भमा ? पुन्टे गाडी र मोटरसाइकलमा सीमित होइन, अब मास ट्रान्सपोटेसनमै जानुपर्छ । त्यसपछि क्रमश : मेट्रो रेल–मनो रेल र लामो दूरीका रेल विकास गर्नुपर्छ । चीनसँग हिमालपारिबाट आउने रेल लुम्बिनीसम्म पुग्नुपर्यो‍ भन्यौँ । भारतसँग उत्तर–दक्षिणका कुरा गर्न चाहेनौँ । किनभने, हाइवेसम्म मात्रै रेल ल्याउने, दायाँ–बायाँ नगर्ने उसको प्रस्ताव थियो । हाम्रो चिन्ता त्यसले त नेपालको बजार सुकाउँछ भन्ने हो । त्यसैले विशाखपटनम्सम्म रेल पुग्ने कुरा गर्यौँ‍ । अनि कञ्चनपुरदेखिको पूर्व–पश्चिम रेलको कुरा गर्यौँ । रेल विशाखापटनम्सम्म पुगेपछि नेपालकै पानीजहाज कुदाउने कुरा गरिएको हो । आकाशमा नेपाली हवाइजहाज उड्छ भने समुद्रमा किन जहाज गुड्दैन भन्ने प्रसंगमा उहाँले नेपाली ध्वजाबाहक पानीजहाज चलाउने कुरा गर्नुभयो । यससम्बन्धी कानुन त महेन्द्रकै पालामा बनेको कुरा बाहिर आएपछि हावा कुरा होइन रहेछ भन्ने हुँदै गयो । पानीजहाजको कुरा आउँदा कति मान्छे चकमन्न भए कतिले फेसबुकमा कागजको जहाज बनाएर सरकारलाई उडाए ।

(नयाँ पत्रिका: असार २३ गते प्रकाशित)

<http://www.enayapatrika.com/2017/07/07/162579/>

Leave a comment

Comments

No comments yet.