आजको दिनमा आइपुग्दा समेत हाम्रा सामु रहेका थुप्रै प्रश्नहरु अझैपनि ज्युँ का त्युँ छन्, किन?
December 15th, 2014

म एकचोटी दोहरयाउन चाहन्छुः

हामीले असल जीवन जिउन पुग्दो आम्दानी होस् भन्यौ, तर अझैपनि गुजारा चलाउन मुस्किल हुने मात्र ज्याला किन? हामीले रोजगारी नियमित होस् भन्दै आयौं । तर त्यसको सट्टा अनिश्चित काम मात्रै हाम्रो भागमा किन? मर्यादित र संरक्षित भविष्यको माग गर्ने हामी श्रमिकहरुको भागमा अपहेलित र असुरक्षित काम मात्रै किन?

त्यसैले प्रस्तावित नयाँ कानुनले घरभित्र काम गर्ने घरेलु श्रमिकदेखि कलकारखाना, कार्यालय र खेतखलिहानमा काम गर्ने सबै श्रमिकलाई एउटै व्यवहार गर्नुपर्छ। बहस र सम्वादबाट द्विपक्षिय समस्या सकेसम्म हल गर्ने प्रस्ताव हाम्रो छ । यदी अबैध हडतालमा श्रमिकले दण्डित हुनुपर्ने हो भने, बैध हडतालमा पुग्नु पर्दा व्यवसायिहरुको आङ् जिरिङ्ग गरोस् भन्ने हाम्रो प्रस्ताव छ । आजका मितिसम्म थोरबहुत पेन्सन, उपदान स्थायी श्रमिकले मात्रै पाउंदै आएकोमा श्रमको संसारमा प्रवेश गरेको पहिलो दिनबाटै गणना हुने गरी तलवी विदा लगायतका सुविधा, उपदान र पेन्सनसम्म सबै श्रमिकले पाउने व्यवस्था हसनसपर्छ । हिजोका दिनमा मन परेका श्रमिकलाई हायर गर्ने, रिस उठेको दिन फायर गर्ने साहुजीहरुको व्यवाहारलाई जस्ले ज्यादा दिन्छ त्यसैकहाँ श्रम वेच्ने र जहाँ जहाँ काम गरेपनि एउटै सामाजिक सुरक्षा कोषसंग जोडिने सुगमता श्रमिकलाइ हुनुपर्ने प्रस्तावमा हाम्रो सहमती रहन्छ ।

प्रिय कमरेडहरु,
आज म यो भव्य समारोहमा तपाईहरुसंगै हुनुपथ्र्यौ । मेरो उपस्थिति रहने गरी नै तपाईहरुले मलाई कृषि मजदुर संघ, नेपाल र नेपाल स्वतन्त्र चिया मजदुर युनियनको यो ऐतिहासिक एकीकरण महाधिवेशन समारोहमा प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नु भएको थियो । तर मेरो काबुभन्दा बाहिरको परिस्थितिका कारण आज म यो ऐतिहासिक समारोहमा तपाईहरुसंगै हुन सकिन, यसमा दुखित छु । तपाईहरुको यो एकीकरण महाधिवेशन भव्यताका साथ सफल होस्, हार्दिक शुभकामना व्यक्त गर्दछु ।

झापा र चिया मजदुरहरुको विषयमा चर्चा गर्दा ‘चिया मजदुर युनियन’को तत्कालिन अध्यक्ष रुपचन उराउंलाई हामी कसरी भुल्न सक्छौं र? समग्र मेची अञ्चल, र विशेष गरी झापा जिल्लाको जनपक्षीय राजनीतिमा चिया मजदुरहरुले खेलेको भूमिका प्रसंशनीय छ। ०४६ को जनआन्दोलन र त्यसपछिका शुरुवाती दिनहरुमा मेची अञ्चलमा मजदुर आन्दोलन भन्नु नै चिया मजदुरहरुको आन्दोलन हो भन्ने मान्यता स्थापित तपाईहरुले गर्नु भएको छ । झापामा आज यो ऐतिहासिक महाधिवेशन भइरहंदा, म ०४७ सालमा भएको हामी बीचको त्यो छलफललाई स्मरण गर्न चाहन्छु, जसले तत्कालिन नेपाल चिया मजदुर युनियनलाई जिफन्टको १० मध्ये नवौं आवद्ध संघको दर्जा दिने निर्णय ग¥यो । चिया मजदुर युनियनले नेपालको ट्रेड युनियन आन्दोलनमा पु¥याएको योगदान पुनः स्मरण गर्न चाहन्छु ।

कमरेडहरु,
कृषि मजदुर संघ एउटा महत्वपूर्ण कालखण्डमा जन्मियो । रहरले हैन अवस्यकताले सिर्जना भएको त्यो संघको आफ्प्नै उकाली ओराली छ । म स्मरण गराउन चाहन्छु– २०५२ सालमा सम्पन्न जिफन्टको दोस्रो राष्ट्रिय महाधिवेशनले एउटा महत्वपूर्ण नीतिगत निर्णय लियो– कृषि श्रमिकहरुको तीनवटा युनियन बनाउने, पहिलो– बाँधा श्रम सम्बन्धमा बाँधिएका कमैयाहरुलाई मुक्ति गर्ने, दोस्रो देशभरी रहेका हली गोठाला खेतालाहरुको कृषि मजदुर संघ निर्माण गर्ने, तेस्रो कृषि फर्महरुमा कार्यरत श्रमिकहरुको फर्म मजदुर युनियन विकास गर्ने । प्रस्तावित नेपाल कृषिफर्म मजदुर युनियन, कृषि मजदुर संघ, नेपाल र कमैया मुक्ति मञ्चलाई नेपाल चिया मजदुर युनियनसंग जोडेर “कृषि, वगान र ग्रामिण मजदुरहरुको एक शक्तिशाली” संगठन निर्माण गर्ने सोच त्यो नीतगत निर्णयको अन्तर्य थियो ।

चिया मजदुरहरुको युनियन आफ्प्नै हिसाबले अघि बढ्यो । तर कृषि मजदुर संघ निर्माणको हाम्रो निर्णयले विभिन्न परिक्षण पार गर्नु परयो । ‘कृषि मजदुर, किसान हुन् की हैनन्’ जस्ता अनपेक्षित बहसलाई चिर्न हामीले देश दुनियाँको इतिहास नै खोतल्न परयो । वेलायतमा ट्रेड युनियनले कानुनी मान्यता पाएको ८ वर्षपछि टोलपुडल भन्ने गाउमा कृषि मजदुरहरुको संगठन कसरी बन्यो । टोलपुडलका सहीदका नामले चर्चित ती आन्दोलनकारी माथि कसरी दमन गरियो? किन लेनिनले तत्कालिन सोभियत संघमा कृषि मजदुर संघको आवस्यकता देखे? यस्ता बहस हामीले धेरै गरयौं । बहस–संघर्ष र – संगठनको बाटोबाट हुँदै ०५३ साल असोज ३ को राष्ट्रिय भेलापछि कृषि मजदुर संघ स्थापित भयो । कृषि मजदुर संघसंग जोडिनु भएका हाम्रो महासंघका नेताहरु क. ललित बस्नेत, क उमेश उपाध्याय तथा छविलाल उप्रेती र कल्याणी खड्कालाई आ–आफ्नो समयमा पुरयाउनु भएको योगदानका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

बेलायतमा भन्दा अलि चाँडो नेपालमा ट्रेड युनियन ऐन जारी भएको ४ वर्षपछि हामीले कृषि मजदुर संघ बनायौं । र त्यसले कानूनी मान्यता ६ वर्ष पछि पायो । शुरुमा ३५ हजार सदस्य भएको त्यो संघ श्रम विभागमा जिफन्टको १४ औं सदस्य संघको रुपमा दर्ता भएपछि ७६ हजार १९ जना सदस्य पुग्यो । मध्य तथा पूर्वी तराईबाट शुरु भएको कृषि मजदुरहरुलाई संगठित गर्ने अभियान छोटो समयमै तराईका सबै जिल्ला र केही पहाडी जिल्लामा समेत फैलियो । नयाँ शताव्दीको पहिलो दिन (जनवरी १, २०००/२०५६ पुस १७ गते) सिराहामा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरी यसको व्यस्थित थालनी गरियो । हाम्रो यो थालनी, जिफन्ट भित्र एउटा घटक थप्ने काम मात्रै थिएन । कलकारखाना र सेवा क्षेत्रमा क्रियाशिल श्रमशक्तिसंग सिंगो ग्रामिण श्रमशक्तिलाई जोड्ने दुरगामी महत्वको अभियान थियो । बाली भित्राउने र ज्याला भित्राउने ग्रामिण श्रमशक्तिको आन्दोलनलाई औपचारिक श्रम क्षेत्रसंग जोड्ने प्रयास थियो ।

हाम्रो प्रयासले मिश्रित नतिजा दियो । हाम्रो संलग्नताको पाँच वर्ष पछि नै बर्षौंदेखि बाँधापनमा रहेका कमैयाहरु मुक्त भए, बलपूर्वक लगाइने अन्य प्रकृतिका श्रमसम्बन्धमाथि प्रश्न खडा गर्न संभव भयो । युनियनको महत्व ह्वात्तै बढ्यो । तर यति हुँदाहुँदै पनि हामीले ०५२ सालमा लिएको नीतिगतनिर्णयले सम्पूर्णता भने पाएन । कृषि फर्ममा युनियन निर्माण गर्ने हाम्रो अभियान प्रभावकारी भएन । जिफन्टको पाँचौ राष्ट्रिय महाधिवेशनपछि ‘कृषि तथा वगान क्षेत्र युनियन परिषद’ निर्माण गरी अल्पकालिन व्यवस्थापन गर्ने हाम्रो प्रयास भयो । तर त्यो पनि पर्याप्त नभएको महसुस गरेर नै हामी आजको ऐतिहासिक क्षणमा आईपुगेका हौं ।

कमरेडहरु,

पछिल्लो तथ्यांकले भन्छ– ८७ लाख भन्दा माथिको संख्यामा रहेका नेपालीहरु कृषिसंग जोडिएका छन् । हाम्रो यो अभियानले कृषिसंग जोडिएका ती सबै श्रमजीवी वर्गको समस्यालाई सम्बोधन गर्नु पर्छ । त्यसैले हामी चाहन्छौं–

  • चिया, कफी, उखु, लगायत अन्य नगदे बाली जस्ता बगानसंग जोडिएका श्रमजीवी वर्ग,
  • तुलनात्मक रुपमा संगठित रहेको तर शोषणको हिसाबले झण्डै उस्तै रहेका कृषि फर्ममा कार्यरत श्रमिकहरु
  • हलि, गोठाला, खेतालाका रुपमा ज्यालदारी श्रमिकका रुपमा दिनहुं क्रियाशील हाम्रा कृषि श्रमिकहरु
  •  व्यवसायिक कृषि पेशा, जस्तै– कुखुरा पालन, माछा पालन, बंगुर तथा गाई वस्तु पालन आदिमा पेशामा रहेका स्वरोजगारहरुलाई समेत

सबैलाई संलग्न गरी ग्रामिण क्षेत्रको बिसाल श्रमजीवी आन्दोलन निमार्ण र्गुपर्छ ।

त्यसैले मेरो प्रस्ताव छ– यो एकीकरण महाधिवेशनले निर्माण गर्ने संघको नाम ‘नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ’ फेडेरेशन अफ एग्रिकल्चर एण्ड प्लान्टेसन ओरकर्स युनियन अफ नेपाल (फापुन–FAPWUN) राखेपनि हुन्छ । आगामी दिनमा ‘फापुन’ जिफन्ट परिवारलाई फापोस् मेरो हार्दिक शुभकामना छ ।

मित्रहरु,

विभिन्न चरण पार गर्दै आजको दिनमा आइपुग्दा समेत हाम्रा सामु रहेका थुप्रै प्रश्नहरु अझैपनि ज्युँ का त्युँ छन् । म एकचोटी दाह¥याउन चाहन्छुः

  • हामीले असल जीवन जिउन पुग्दो आम्दानी होस् भन्यौ, तर अझैपनि गुजारा चलाउन मुस्किल हुने मात्र ज्याला किन?
  • हामीले रोजगारी नियमित होस् भन्दै आयौं । तर त्यसको सट्टा अनिश्चित काम मात्रै हाम्रो भागमा किन?
  • मर्यादित र संरक्षित भविष्यको माग गर्ने हामी श्रमिकहरुको भागमा अपहेलित र असुरक्षित काम मात्रै किन?

चाहे आम कृषि क्षेत्र भनौं या वगान तथा कृषि फर्म, कृषि श्रमिक माथिको शोषण र समस्याको प्रकृति उस्तै छ । बलपूर्वक लगाईने श्रम, लैंगिक रुपमा महिला र पुरुष वचिको भेदभाव, ज्याला लगायतका सुविधामा अन्य श्रमिकहरुको तुलनामा अन्तर, बालश्रम आदि यी क्षेत्रका जल्दावल्दा समस्या हुन् । आजका मितिसम्म हाम्रो श्रम कानूनले सबै श्रमिकहरुलाई समेट्न सकेको छैन ।

विकसित मुलुकहरुमा श्रमिकले दुईतिरबाट आर्जन गर्छ– काम गरे बापत काम लगाउनेबाट ज्याला र भोट हाले बापत राज्यबाट भरथेग र भरणपोषण । यसबाट ती देशहरुमा श्रम गर्नेको राज्यसत्ताप्रति अपनत्व बढेको र कामदारहरु नागरिकमा रूपान्तरित हुने गरेको तर्क विज्ञहरु गर्छन् । तर, हामीकहाँ अझै पनि श्रमिकलाई ज्यालादारीमा काम गर्ने मान्छेभन्दा माथि उठाइएको छैन ।

त्यसैले हामीहरु अहिले श्रम कानून संशोधनको डिलमा आइपुगेका छौं । प्रस्तावित नयाँ कानुनले घरभित्र काम गर्ने घरेलु श्रमिकदेखि कलकारखाना, कार्यालय र खेतखलिहानमा काम गर्ने सबै श्रमिकलाई एउटै व्यवहार गर्ने प्रावधान राखेका छौं । बहस र सम्वादबाट द्विपक्षिय समस्या सकेसम्म हल गर्ने प्रस्ताव हाम्रो छ । अबैध हडतालमा श्रमिकले दण्डित हुनुपर्ने हो भने, बैध हडतालमा पुग्नु पर्दा व्यवसायिहरुको आङ् जिरिङ्ग गरोस् भन्ने हाम्रो प्रस्ताव छ । आजका मितिसम्म थोरबहुत पेन्सन, उपदान स्थायी श्रमिकले मात्रै पाउंदै आएकोमा श्रमको संसारमा प्रवेश गरेको पहिलो दिनबाटै गणना हुने गरी तलवी विदा लगायतका सुविधा, उपदान र पेन्सनसम्म सबै श्रमिकले पाउने व्यवस्था नयाँ प्रस्तावमा राखिएको छ । हिजोका दिनमा मन परेका श्रमिकलाई हायर गर्ने, रिस उठेको दिन फायर गर्ने साहुजीहरुको व्यवाहारलाई जस्ले ज्यादा दिन्छ त्यसैकहाँ श्रम वेच्ने र जहाँ जहाँ काम गरेपनि एउटै सामाजिक सुरक्षा कोषसंग जोडिने प्रस्तावमा हाम्रो सहमती रहेको छ ।

मैले यी विषयहरु, तपाईहरुको आजको समारोहमा ऐक्यवद्धता जनाउन आउनु भएका अन्य क्षेत्र श्रमिक साथीहरुलाई समेत स्मरण गरेर राखेको हुँ । हाम्रो महासंघले छैटौं महाधिवेशनमा भन्यो–रुपान्तरण; श्रमशक्तिको बिकासबाट ।

रुपान्तरण भनेको अमूर्त चित्र हैन । यो हामी श्रमजीवी वर्गले गर्ने ‘काम’लाई ‘मर्यादित काम’मा रुपान्तरण गर्ने प्रकृया हो । मर्यादित काम भनेको प्रत्येक श्रमिकलाई

(क) असल जीवन जिउन पुग्ने आम्दानी,

(ख) भेदभाव रहित, वृत्ति विकासमा समान अवसर हुनेगरी काम,

(ग) उपयुक्त र सुरक्षित कार्यथलो,

(घ) युनियन गठनका साथै काम सम्बन्धी सबै विषयमा आफ्प्नो  भनाई आफैं राख्न पाउने वातावरण,

(ङ) बिरामी, कमजोर, पाका उमेरका श्रमिक र विपतमा परेका हरेक महिलालाई सहायता दिने सामाजिक सुरक्षाको संयन्त्र भएको राज्य उपलब्घ गराउनु हो ।

दोस्रो विश्व युद्धपछि श्रमजीवी वर्गको हक हितका लागि युरोपका समाजवादी र लेबोर पार्टीहरुले श्रम सम्बन्धी “छ–ग्यारेन्टी” लागु गरेका थिए । ती हुन्–

(१) श्रम वजार सुरक्षा,

(२) रोजगारीको सुरक्षा,

(३) कामको सुरक्षा,

(४) सीप पुनर्ताजगी (स्कील रिप्रोडक्सन) सुरक्षा,

(५) आम्दानीको सुरक्षा; र

(६) प्रतिनिधित्वको सुरक्षा ।

आजको श्रमिक पनि जुनसुकै रुपमा किन नहोस्, यी सुरक्षाको अभावमा टिक्न सक्दैन । यस्तो हुन “उच्च ज्याला–उच्च उत्पादकत्व–उच्च आर्थिकवृद्धि– र, समतामूलक वितरण व्यवस्था”को चक्र निर्माण गर्नु पर्छ । “जहाँ श्रमिक, त्यहाँ जिफण्ट”को हाम्रो अभियान यसै लक्षसंग जोडिएको छ ।

कमरेडहरु,
म अन्दाज गर्न सक्छु, मेरो उपस्थितिमा तपाईहरु हाम्रो महासंघसंग थुप्रै मुद्धामा सम्वाद गर्न चाहनु हुन्छ । संविधान कहिले बन्छ, कसरी बन्छ र हाम्रा हक–कसरी व्यवस्थित हुँदै छन् भन्ने तपाईहरुको जिज्ञासा हुन सक्छ । १० प्रतिशत श्रमिक प्रतिनिधित्व र श्रम आयोगका कुरा के हुँदैछ भन्ने खुलदुली तपाईहरुमा निश्चिय नै छ । हामी श्रमिकले तिरेको १ प्रतिशत करबाट हालसम्म झण्डै ७ अरब रुपैयाँ जम्मा भईसकेको छ । सामाजिक सुरक्षाका स्कीम कहिले र कसरी लागु हुँदैछ भन्ने प्रश्न तपाईहरुको मनमा अवस्य हुनुपर्छ । निर्माण लगायत गैर कृषि अनौपचारिक क्षेत्रबाट मलाई सुन्न आउनु भएका श्रमिक कमरेडहरुमा प्रस्तावित नयाँ कानूनले कसरी आपूmहरुलाई सुरक्षित गर्छ भन्ने जिज्ञासा अवश्य हुनुपर्छ ।

एउटा उखान छ– “एउटाले बिराउँछ, साखा पिराउँछ” । आजका दिनमा भईरहेका सार्वजनिक सवारी दुर्घटनाका कारण समाजले हाम्रा यातायात मजदुरहरुप्रति कर्के नजर लगाई रहेको पक्षप्रति हाम्रो महासंघ बेखवर छैन । यी घटनाहरुको मुख यातायात मजदुरहरु देखिएपनि कारण एक हैन अनेक छन् । तर हाम्रो राज्यचाँहि नागरिकहरुको पिडा सम्बोधन गर्ने निहुँमा पानीमाथि ओभानो पल्टिंदैछ । सारा नियम–कानुनको डण्डा चालक परिचालकमाथि मात्रै बर्षाउने राजमार्गतिर सोझिए जस्तो देखिंदै छ । दोषीलाई कार्वाहि गर्ने विषयमा हामी युनियनका कोही पनि विपक्षमा छैनौं । तर प्रहरी प्रशासनसंगको समेत मिलेमतोमा अघोषित सिण्डिकेट खडा गरी जहाँ पनि, जस्तो पनि तरिकाले सवारी साधन चलाउन बाध्य पार्नेप्रति राज्य किन मौन छ भन्ने हाम्रो प्रश्न छ । बन्दुक चलाउनेलाई प्रसंसा र गोलीलाई कार्वाहीको यो न्याय प्रति हामी विश्मित छौं । सुरक्षित यतायातको माग र श्रम नीरिक्षण प्रणालीको कुरा हिजोका दिनमा हामीले युनियन चलाउनका लागि मात्र लगाएको नारा नठान्न हामी सम्बन्धित पक्षलाई आग्रह गर्छौ । हामी आग्रह गर्छौं– स्कुलको सर्टिफिकेट वा गाला चाउरी परेको ज्यानले सुरक्षित सवारी सञ्चालन हुने हैन । सवारी सञ्चालन भनेको शीप र दक्षताको कुरो हो । सीप संपरिक्षण गर्नुहोस् हाम्रो सहयोग रहन्छ । तर औठा छापले राज्य चलाउन सक्ने, ड्राइभर हुन स्कूल भर्ना हुनुपर्ने ‘नियम’ मिल्दो हो जस्तो हामी ठान्दैनौं । हामी युक्तिसंगत विषयको पक्षमा छौं, त्यसैले अन्याय हुन नदिन हामी यातायात मजदुरको पक्षमा उभिने छौ । हरेक नागरिकहरुको जीउज्यानको सुरक्षा भनेको हामीले आफ्नै ज्यानको सुरक्षा ठान्छौं भन्ने पनि म स्पष्ट पार्न चाहन्छु ।

मैले पार्टी र युनियनको काममा जहिले पनि युनियनलाई पहिलो स्थानमा राख्दै आएको तपाईहरुलाई थाहै छ । कहिले कहिले यस्तो पनि स्थिति आउंदो रहेछ– पार्टी वा युनियन दुई मध्ये एक छान्ने सुगमता हामी जस्ता मानिसलाई मिल्दो रहेनछ । यो कार्यक्रममा पनि आफू जोडिएको पार्टीको कार्यक्रमलाइ सकेसम्म पन्छाउँदै हिडी हालौं भन्ने ठानें, तर सम्भव भएन । चरा झैं उंडेर फुत्त आउं की भन्ने पनि ठाने– आकास हेर्दै जहाज रद्द गर्दै समय व्यतित हुन पुग्यो । तसर्थ, आज तपाईहरु बीच रहेका विभिन्न प्रश्नहरुको प्रारम्भिक जिज्ञासा समारोहमा उपस्थित अन्य नेताहरुले सम्बोधन गर्नु नै हुनेछ । बाँकी–टाँकी फेरी अर्को मौकामा संवाद गर्नेमा म वचनबद्ध छु ।

अन्तमा, एकीकरण महाधिवेशन भव्य रुपमा सफल होस्, फेरी एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

(झापामा आयोजित कृषि मजदुर संघ र चिया मजदुर युनियनको एकीकरण महाधिवेशनमा प्रेषित; मितिः २०७१ मंसीर २७ गते ।)

Leave a comment

Comments

No comments yet.